आविष्कार केन्द्रलाई महावीर पुनको साथ

धनबहादुर गुरुङ
चैत्र १०, २०७८
Innovation Photo (4)

पोखरा । गण्डकी विश्वविद्यालयको ऐनमा अध्ययन, अनुसन्धान र अविष्कारमा जोड दिइएको छ । २०७६ असोज २७ मा प्रदेश राजपत्रमा प्रकाशित ऐनअनुसार अध्ययन र अनुसन्धानको काम सुरु गरिसकेको छ । विश्वविद्यालयले अध्यनअन्तर्गत पोखरा–३२, भण्डारढिकमा स्पोर्टस् म्यानेज्मेन्ट, फार्मेसी र महेन्द्रपुलमा आइटी पढाइरहेको छ भने अनुसन्धानतर्फ कोदो रक्सीको ब्रान्डिङको काम गरिरहेको छ ।
आविष्कारका लागि पनि विश्वविद्यालयले धेरै काम अघि बढाइसकेको जनाएको छ । भवन निर्माणदेखि मसिन खरिदसम्म भइसकेको छ । आविष्कार क्षेत्रमा काम गर्न विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङको टोलीले राष्ट्रिय अविष्कार केन्द्रका संचालक डा. महावीर पुनसँग भेट गरी कसरी अगाडि बढ्ने अनि के–के गर्ने भन्ने विषयमा छलफल गरेका थिए । डा. पुनले आफू गण्डकी प्रदेशकै भएकाले आफ्नो प्रदेशमा आविष्कार केन्द्र खोल्ने विषयमा साथ र सहयोग रहने अश्वासन दिए । त्यसपछि ढुक्क भएर पोखरा फर्केको टोलीले प्रक्रिया अघि बढायो । डा. पुनको सल्लाह र उनैले पठाएका प्राविधिक अगुवाइमा भवन निर्माण भयो । अबको २ महिनापछि आविष्कार केन्द्र सञ्चालनमा आउने छ ।
पोखरा ३२, ज्ञानकुञ्जमा केन्द्रको भवन निर्माणदेखि मसिन खरिद गर्नसम्म सहयोग गरेको राष्ट्रिय आविष्कार केन्द्रले गण्डकी विश्वविद्यालयलाई सम्झौता गरेरै साथ दिने भएको छ । जसका लागि बुधबार विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो । विश्वविद्यालयतर्फबाट कुलपति प्राडा गुरुङ र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले हस्ताक्षर गरे ।
सम्झौतापत्रअनुसार आविष्कार केन्द्रलाई शिक्षण एवं अनुसन्धान केन्द्रको रुपमा विकास गर्न र व्यावहारिक विज्ञान तथा प्रविधिको क्षेत्रमा देशको आवश्यकताअनुरुप अनुसन्धान गरी देश विकासमा टेवा पु¥याउने लक्ष्य लिइएको छ । यस्तै आर्थिक, प्राविधिक, प्राज्ञिक र अन्य सहयोग गर्ने सम्झौताको उद्देश्य रहेको छ ।

गण्डकी विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

कार्यक्रममा आविष्कार केन्द्रका अध्यक्ष डा. पुनले कम्तीमा एक हप्ता पोखरा विश्वविद्यालयले सञ्चालन गरेको आविष्कार केन्द्रमा आएर बस्ने बताए । ‘गण्डकी प्रदेशमा नयाँ कोर्स निर्माण गरेर पठनपाठन सुरु गर्नुभएको छ । यसमा म जोडिन पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘महत्वपूर्ण यस कार्यका लागि म यहाँ आएर महिनामा कम्तीमा ५/६ दिन आएर बस्छु ।’ विश्वविद्यालयको हुलमा यो पृथक हुनुपर्ने उनको धारणा थियो ।
उनले आविष्कार सञ्चालनका लागि सरकारले कम्तीमा १ प्रतिशत छुट्याउनुपर्नेमा जोड दिए । ‘आर्थिक स्रोत जुटाउन मैलै सबैतिर भन्ने एउटै कुरा हो । त्यो हो सरकारले आफ्नो पुँजीगत बजेटको एक प्रतिशत बजेट आविष्कार र विकासका लागि छुट्याउनुपर्छ,’ उनले भने, ‘माग गरेको धेरै होइन, त्यही कारण पनि संघ, प्रदेश र स्थानीय सरकारले एक प्रतिशतमा कञ्जुसाइँ गर्न हँुदैन ।’ सरकारले बजेट नछुट्याएका कारण नै आफ्नो केन्द्र सहयोग र अनुदानबाट चलेको सुनाए । देशको अर्थतन्त्र उकास्न अविष्कार केन्द्रको महत्वपूर्ण भूमिका रहने उनको धारणा थियो । त्यसकारण पनि पोखरा विश्वविद्यालयले थालनी गरेको केन्द्र देशभरमै नमुना बन्नुपर्नेमा जोड दिए । आविष्कार केन्द्रलाई तालिम केन्द्र नभएर रिसर्च गरेर उत्पादन गरी व्यावसायीकरण गर्नुपर्ने उनको भनाइ थियो । केन्द्रलाई २४ सैं घन्टा खुलाउने, खाने बस्ने व्यवस्था सोही स्थानमा हुनुपर्ने, शैक्षिक प्रमाणपत्र आधारमा भन्दा पनि अनुभव आधारमा काम गर्नुपर्ने उनको सुझाव छ ।
गण्डकीका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आविष्कार केन्द्रलाई देशकै नमुनायोग्य बनाउन बजेटमा ध्यान दिने बताए । आविष्कार केन्द्रका कारण नवीनतम सोच विकास भई सीप हस्तान्तणको वातावरण बन्ने उनको धारणा थियो । प्रदेशलाई अझै सक्षम, बेरोजगारमुक्त बनाउँदै समाज परिवर्तनमा केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेमा उनको विश्वास थियो ।
केन्द्रमा आएका सामान प्रयोग गर्न मेकानिकल इन्जिनियर आवश्यक भएकाले विज्ञापन पनि खुलाउँदैछ । केन्द्रले विषेशगरी कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग लगायत क्षेत्रमा आवश्यक बस्तु उत्पादनमा जोड दिएको कुलपति प्राडा गुरुङले जानकारी दिए । ‘यसले मेडिकलतर्फका सामान उत्पादन गर्न सक्छ, तत्काल किसानका लागि आवश्यक कृषि औजार उत्पादन हुन सक्छ,’ उनले भने, ‘खाना पकाउने चुल्हो, कोदो चुट्ने मसिन, जोत्ने खन्ने मसिन, बन्चरो, हसियाँ, हथौडा लगायत सामान उत्पादन गर्न सक्छौ ।’ कर्मचारी पदपूर्ति भएपछि अबको २ महिनामा आविष्कार केन्द्र सञ्चालनमा ल्याउने तयारी रहेको उनले सुनाए ।
उत्पादन प्राथमिकतामा धेरै बस्तुहरु रहे पनि अहिले गोबर धुलो बनाउने मसिन, इलेक्ट्रिक चुल्हो, अलैंची तथा कफी सुकाउने मसिन उत्पादन गर्ने लक्ष्य लिएको विश्वविद्यालयका रजिष्टार कैलाश तिमिल्सिनाले जानकारी दिए । यस्तै हाइब्रिड ह्याचिङ मसिन, धान झाट्ने मसिन, कोदो कुट्ने मसिन सुरुआतमा उत्पादन गर्ने उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width