विन्ध्यवासिनी माविको हीरक जयन्ती

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७८
Bindabasini School Batulechaur 2

पोखरा । संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग भएको सम्झौता संघीयताविपरीत नभएको स्पष्ट पारेका छन् । बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्ती समारोह सोमवार उद्घाटन गर्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन् ।
केही विज्ञहरुले सम्झौतालाई लिएर अनावश्यक टिप्पणी गरेको बताउँदै उनले विद्यालय शिक्षालाई सुधार्न ५१ बँुदे सम्झौता गरेको हुँदा त्यसलाई गहिरोसँग अध्ययन गर्न विज्ञलाई सुझाव समेत दिए ।
सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाएरमात्रै निजी विद्यालयलाई गाँभ्ने गरी राज्यले निती ल्याउन लागेको उनले जानकारी दिए । उनले ५१ बुँदे शिक्षा सुधारले तीन वटै तहको शिक्षालाई थप गुणस्तरीय बनाउने विश्वास व्यक्त गरे । अर्को वर्षदेखि एसइई प्रदेशबाटै संचालन हुने बताउँदै उनले कोरोना महामारीलाई देखाएर शैक्षिक सत्र परिवर्तन नहुने स्पष्ट पारे ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले देशको शिक्षा प्रणाली माथि नै प्रश्न उठाउँदै शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखानामा सीमित बनेको बताए । उनले शिक्षा नीतिका बारेमा बहस गर्ने बेला आएको बताए । उनले नैतिकवान् शिक्षाको आवश्यकतालाई जोड दिए । प्रमाणपत्र लिने मात्र शिक्षाको कुनै अर्थ नहुने भनाइ मन्त्री खड्काको छ ।
प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको बताए ।
थापाले गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन तर्फ अग्रसर हुन आग्रह गरे । ‘गुणस्तरीय शिक्षा आजको आवश्यकता हो’, उनले भने, ‘हाम्रो शैक्षिक स्तर स्वरोजगार उन्मुख हुनुपर्छ ।’ शैक्षिक नीतिलाई संशोधन गरी व्यवहारिक शिक्षा नीति बनाउनुपर्ने आवश्यकतालाई उनले औंल्याए । घोकन्ते विद्याले मात्र राम्रा जनशक्ति उत्पादन गर्न नसकिने उनको भनाइ छ । मन्त्री थापाले विन्ध्यावासिनी माध्यामिक विद्यालयले शैक्षिक उन्नयनमा पु¥याएको योगदानको प्रशंसा गरे ।
प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले विद्यमान शिक्षा प्रणालीलाई सुधार नगरी देश विकास हुन नसक्ने बताए । हीरक जयन्ती मुल समारोह समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्णबहादुर थापा, पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी, शिक्षा कार्यान्वयन इकाइ प्रमुख नारायण सुवेदी, वडाध्यक्ष जीवनप्रसाद आचार्य, विद्यालयका पूर्व अध्यक्ष दानबहादुर बानियाँ, महेन्द्र मावि भलामका प्रअ बोधराज पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी सचिव यदुनाथ बञ्जारा, विद्यार्थी आशिका शेर्पा, अक्षयकोष दाता दुर्गा केसी थापा लगायतले विन्ध्यवासिनी मावि यस क्षेत्रकै नमुना विद्यालय भएको भन्दै प्रशंसा गरे ।
प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको संचालन सहायक प्रअ रामबहादुर बानियाँले गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width