लेखनाथ महोत्सव आज सकिँदै

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
Lekhnath Mahotsav

लेखनाथ । कास्कीको लेखनाथमा फागुन २६ गतेदेखि जारी १७ औं संस्करणको लेखनाथ महोत्सवको सोमबार समापन हुँदै छ । महोत्सवको ११ औं दिन आइतबार पनि दर्शकको चापसँगै कारोबारमा पनि वृद्धि भएकाले महोत्सव सफलतातर्फ उन्मुख भएको आयोजकले दाबी गरेका छन् ।
महोत्सवको ११ आंै दिन आइतबार मात्र करिब १८ हजार दर्शकले मेलाको अवलोकन गरेको र अहिलेसम्म १ लाख ९८ हजार दर्शक मेलामा प्रवेश गरेको महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।
महोत्सव समापनतर्फ उन्मुख हँुदै गर्दा किनमेलका लागि मात्र भए पनि दर्शकहरु महोत्सव स्थलमा छिर्ने गरेकाले अघिल्ला दिनको तुलनामा व्यापारको कारोबार पनि बढेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष भरतराज ओझाको दाबी रहेको छ । उनका अनुसार आइतबार मात्र करिब ४० लाख बराबरको आर्थिक कारोबार भएको र अहिलेसम्म ५ करोड ३० लाख बराबरको कारोबार भएको बताए ।
आइतबार महोत्सवमा राखिएको विद्यालय स्तरीय नृत्य कार्यक्रममा रिलायन्स एकेडेमी पोखरा २६ र लिटल गार्डेन बोडिङ स्कुल र सिलसिला बोर्डिङ स्कुल पोखरा ३१ लोक नृत्य प्रस्तुत रहेको संयोजक सन्तोष बरालले जानकारी दिए । यसैगरी दुरा समाज कास्कीले जातीय भेषभूषा प्रस्तुत गरेका थियो भने मातृशक्तिको सम्मानमा राखिएको रत्यौली गीत प्रतियोगितामा शान्तिप्रेमी आमा समूह पोखरा २६ र पोखरा २७ को आवासनगर आमा समूहको प्रस्तुति रहेको संयोजक जानुका अधिकारीले जानकारी दिइन् ।
महोत्सवको ११ औं दिन आइतबार पपतर्फ सविन राई, धर्मेन्द्र सेवान र लोकदोहोरीतर्फ खुमन अधिकारी, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना, राजेन्द्र सापकोटा, सुदीप तामाङ, मीना बुढाथोकी, ज्योति लोहोनी, मीरा पोख्रेल, सरीता सारुमगर र सरला अधिकारीको प्रस्तुति रहेको स्टेज संयोजक नेत्रपाणि बास्तोलाले बताए ।
सोमबार लोकदोहोरी गायक रामजी खाँड, रंगीला न्यौपाने, जीवन दाहाल, तारापति सुवेदी, शिवहरि ढुंगाना, सरला पाण्डे, इन्द्रा गुरुङ, शंकर पन्त, गंगा पौडेल, सजना बास्तोला, राजेन्द्र सुवेदी, गगन गुरुङ र अमृता हमाललगायत कलाकारको प्रस्तुति रहनेछ ।
महोत्सवको समापन गण्डकी प्रदेशका पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गर्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width