पोखरा विमानस्थल सञ्चालनमा मुख्यमन्त्रीको चासो, ९३ प्रतिशत काम सकियो

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
interaction on airport

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालनका लागि विशेष चासो देखाएका छन् । चिनिया सरकारको झण्डै ३० अर्ब ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । ल्यान्डफिल साइट निर्माण र पूर्वतिरको रिठेडाँडाको कटानमा ढिलाइ भइरहेका कारण विमानस्थल सञ्चालन पछि धकेलिने पो हो कि भन्ने गुनासो आएपछि उनले सरोकारवाला बोलाएर वृहत छलफल गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले अहिलेको ल्यान्डफिल साइट एअरपोर्टको नजिकै रहेको र यसको विकल्प नखोजेसम्म उडान सुरु गर्न नसकिने भएकाले यसतर्फ तुरुन्तै काम थाल्न पोखरा महानगरपालिकालाई निर्देशन दिए । प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, पोखरा महागरपालिकाका मेयर मानबहादुर जिसी छलफलमा सहभागी थिए ।

मुख्यमन्त्री पोखरेलले रिठेपापानी डाँडाको कटान र पोखराको सुन्दरतामा समेत विषेश ध्यान पु¥याउनुपर्नेमा जोड दिए । उनले भने, ‘सब काम पोखरा महानगरले मात्र गर्नुपर्छ भन्ने होइन, हामी संघ सरकारसँग पनि समन्वय गर्छौ, तर यसको जिम्मेवारी त महानगरकै हो नि ।’ बरु यसमा प्रदेश सरकारले के सहयोग गर्नुपर्छ त्यसका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मुलुककै गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले प्रदेशप्रदेशबीच मात्र होइन पोखरासँग बहिरी मुलुकको सिधा सम्पर्क गराउने भएकाले अब यहाँको भौतिक संरचना पनि त्यही अनुसार बनाउका लागि निजी क्षेत्रबाट समेत पहल हुनुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘विदेशका विमानस्थलबाट सिधै पोखरामा पर्यटक अवतरण गर्दा पर्यटकहरु सिधै यहाँ नै आउँछन् । जसका कारण पोखरामा आएर उनीहरुले खर्च गर्ने क्रम बढ्छ । पहिला काठमाडौं भएर पोखरा आउँदा पर्यटकको पकेट आधाआधि खाली भइसक्ने अवस्था थियो ।

उडान सञ्चालनका लागि प्रदेश सरकारले अब नागरिक उड्ड्यन प्राधिकरणसँग मिलेर नेपालमा उडान भरिरहेका हवाई कम्पनीका प्रमुखहरुलाई पोखरा नै बोलाएर छलफल गर्दैछ । काँहुडाँडादेखिको पानीको भल विमानस्थलमा पुग्छ । त्यसलाई बाइबास बनाएर विजयपुर खोलामा झार्नका लागि संघ सरकारले काम थालिसकेको छ । बाढीको कटान रोक्न ३४ करोडको योजना पनि सुरु भइसकेको उनले बताए ।

विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ । डेकोरेसन, फिनिसिङ, भलपानी र बाढी व्यवस्थित गर्न रातदिन काम भइरहेको छ ।
विनेश मुनकर्मी
आयोजना प्रमुख

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जिम्मा पाएका पोखरा विमानस्थलका निर्देशक विक्रम गौतमले एअरपोर्ट प्रमाणीकरणका लागि आसयपत्र पठाइसकिएको बताए । यति ठूलो लगानीको एअरपोर्ट जति छिटो सञ्चालन गर्न सक्यो, त्यति फाइदा हुने भएकाले यसका लागि माहोल बनाइदिन ३ तहकै सरकारसँग आग्रह गरिएको उनको भनाइ थियो । पहिला समस्याको पहिचान गरी कसले समाधान गर्ने हो चेकलिस्ट नै तयार पारेर पठाइएको भन्दै सबैभन्दा पहिला ल्यान्डफिल साइट नै स्थानान्तरण हुनुपर्ने बताए । उनले भने, ‘समस्याहरुका बारेमा प्रधिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति, सम्बन्धित मन्त्री, प्रदेश र स्थानीय तहलाई पनि यसबारेमा जानकारी गराइसकेका छौं ।’
उनका अनुसार ल्यान्डफिल साइटमा चराहरुको आवतजावत बढी नै हुन्छ । चराको आनीबानी सुधार्न कम्तीमा पनि छ महिना लाग्छ । अहिलेकै

अवस्थामा विमानस्थलमा चराको सबैभन्दा बढी खतरा छ । यसका लागि तत्कालै ल्यान्डफिल साइट स्थानान्तरण गर्नुपर्छ । ‘यसका लागि चराविज्ञसँग बसेर यसका बारेमा जानकारी लिएका छौं, विजयपुर खोलको सरसफाइ पनि आवश्यक छ, यसका अतिरिक्त विमानस्थल आफैले पनि प्राविधिक काम गर्छ, गुलेली, आवाज, रिफ्लेक्टरको व्यवस्था गर्छ,’ निर्देशक गौतमले भने ।

विमानस्थल सञ्चालनका लागि गण्डकी सरकारले गठन गरेको सहजीकण समितिमा संयोजक प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले छिटोभन्दा छिटो विमानस्थल सञ्चालन होस भनेर नै समितिले पहल गर्दै आएको उनले बताए । कात्तिक ८ गतेको मन्त्रिपरिषद बैठकले समिति गठन गरेकामा । पुस ११ र फागुन १८ मा बैठक बसेको मन्त्री कँडेलले बताए ।

मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले सहज आवातजावतका लागि पहुँच मार्गको निर्माण, ढल, सिँचाइ, खानेपानी लगायत समस्या रहेको, जग्गादाताले पनि बारम्बार विभिन्न माग राख्दै आएको जानकारी गराए । उनले भने, ‘प्रदेश सरकारको काम समन्वय गर्ने हो, अहिलेको मुख्य समस्या ल्यान्डफिल साइट नै हो, महानगरसँग हामीले बारम्बार छलफल गरिरहेकै छौं ।

महानगरका मेयर मानबहादुर जिसीले पोखरा र मुुलुककै गौरवको आयोजना निर्माण सम्पन्न भएपछि सञ्चालनमा ल्याउन महानगरले पहल गर्दै आएको बताए । ल्यान्डफिल साइटको खोजीदेखि, पहुँचमार्गको विस्तारका लागि महानगरले गरेको कामको उनले फेहरिस्त सुनाए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले अहिले एअरपोर्ट नजिकै रहेको ल्यान्डफिल साइटको विकल्पको खोजी २ वर्षदेखि हुँदै आएको भए पनि अझै टुंगोमा पुग्न नसकिएको बताए । पोखरा र आसपासका क्षेत्रको ६ ठाउँमा महानगरको प्राविधिकसहितको टोलीले स्थलगत रुपमै अनुगमन गरेको जानकारी उनले गराए । विमानस्थलभन्दा अलि पर, पातलो बस्ती भएको स्थानको खोजी भएको भन्दै कतिपय ठाउँमा स्थानीयको अवरोधकै कारण काम हुन नसकेको भनाइ उनले राखे । ठाउँ पहिचानमात्रै हुन बाँकी रहेको र निर्माणका लागि जाइका र कोइकाले चासो देखाएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत रिज्यालले भने, ‘अब आउने कार्यपालिका बैठकमा स्थानका बारेमा हामीले निर्णय गरेर अगाडि बढ्ने छौं ।’

विमानस्थलका अयाोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको ९३ प्रतिशत काम सकिएको भन्दै डेकोरेसन, फिनिसिङ र भलपानी, बाढी व्यवस्थित गर्नका लागि रातदिन काम गरिरहेका बताए । ‘पूर्वतिरको रिठेपानी डाँडा कटानका लागि १०÷१५ दिनमा इआइएका लागि जान्छ, १४ मिटर काट्ने वित्तिकै क्यालिब्रेसन उडान गर्न सकिन्छ । वैशाखमा गर्न सकिएन भने उडान परीक्षणका लागि बर्खापछि अर्थात् फेरि अर्को असोज कुर्नु पर्ने हुन्छ ।’ ह्यांगर र हेलिप्याडका लागि थप ४ सय रोपनी जग्गा आवश्यक पर्ने भएकाले यसका लागि संघ सरकारमा लेखी पठाइएको जानकारी उनले गराए ।

                                                                                खानेपानीद्वारा विकल्पको खोजी

एकातिर विमानस्थल निर्माण भइरहेका बेला पोखराको कोलपाटनमा जाइकाको सहयोगमा खानेपानीको ३० मिटर अग्गो ट्यांकी बनिरहेको छ । जहाँकि विमानस्थल वरपर १५ मिटर भन्दा बढी उचाइका संरचना बनाउन निषेध छ । अहिले नै २० मिटर अग्लो संरचना निर्माण भइसकेको छ । यो संरचना बनाउन भन्दा भत्काउन बढी खर्चिलो हुन्छ । यसका लागि खानेपानी आयोजनाले वैकल्पिक स्थानको खोजी पनि गरेको छ । अहिले बनेकै ठाउँमा उचाइ कम गरेर ट्यांकी बनाउन सकिने बारेमा पनि छलफल भइरहेको मन्त्रालयका सचिव ज्ञानेन्द्र गौतमले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width