बर्दघाटका ४ एम्बुलेन्स: न हरहिसाब, न दुुरुस्त

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७८
ambulance

नवलपुर । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरपालिका भित्र रहेको बिरामीको सहजताको लागि भन्दै खरिद गरेको एम्बुलेन्स नगरपालिकाका कर्मचारी र चालकलाई मागी खाने भाँडो भएको छ ।
नगरपालिकाले खरिद गरेर सञ्चालनमा ल्याएको ४ बर्ष बितिसक्दा पनि नगरपालिकाको वडादेखि पालिका कार्यालयसम्म एम्बुलेन्सको आम्दानी विवरण कतै उल्लेख छैन भने एम्बुलेन्स बिग्रिएको भन्दै मर्मतका लागि भने पटक पटक भुक्तानी भएको देखिन्छ ।
त्यसो त नगरपालिकाले एम्बुलेन्स खरिद गर्दै कमिसनको चक्करमा कम गुणस्तरको एम्बुलेन्स खरिद गरेको स्थानीयले आरोपसमेत लगाउने गरेका छन् ।
बर्दघाट नगरपालिकाले खरिद गरेर वडा कार्यालयलाई जिम्मा दिई सञ्चालनमा ल्याएका एम्बुलेन्स अधिकांश समय ग्यारेजमा थन्किएर बस्ने गर्दछ ।
२०७४ सालमा सिप्रदी ट्रेडिङ प्रालिबाट टाटा कम्पनीका ४ वटा एम्बुलेन्स खरिद गरेर २०७५ साल कात्तिकदेखि वडा कार्यालय माताहत रहने गरी नगरपालिकाले वडालाई हस्तान्तरण गरेको थियो ।
जनप्रतिनिधिले निर्णय गरेर खरिद गरेका एम्बुलेन्स उनीहरुको १ कार्यकाल पूरा नहुँदै जीर्ण र पुरानो भएको छ । ४ वटा एम्बुलेन्स मध्ये ३ वटा एम्बुलेन्सको इन्जिनमा पटक पटक समस्या आउने गरेको र मर्मत गरेर काम चलाउने गरिएको छ ।
टाटा कम्पनीका ती गाडी एम्बुलेन्सका लागि उचित नभएको र अहिले फेजआउट भएका गाडीहरु रहेका कारण बढी समस्या आउने गरेको १ जना अटो इन्जिनियरले बताए ।
नगरपालिकाले बर्दघाट क्षेत्रलाई हुने गरी चिसापानी अस्पताललाई मध्यनजर गरेर एउटा एम्बुलेन्स, पञ्चनगर क्लस्टरलाई हुने गरी वडा नम्बर ९ को जिम्मामा रहने गरी एउटा, जहदा क्लस्टरलाई मध्यनगर गरी वडा नम्बर १३ माताहत रहने गरी एउटा र दाउन्नेदेवी क्लस्टरलाई मध्यनजर गरी वडा नम्बर १४ माताहत रहने गरी एउटा गरी ४ वटा एम्बुलेन्स सञ्चालन गर्दै आएको छ ।
नगरपालिकामार्फत सञ्चालन भएका एम्बुलेन्सहरुले के कति आम्दानी गरे र कति खर्च भएको छ भन्ने नगरपालिकामा नियमित रुपमा अपडेट समेत नहुने नगरपालिकाकै कर्मचारी बताउँछन् । अहिलेसम्म कुनै पनि वडाले एम्बुलेन्सले गरेको वास्तविक आम्दानी र खर्च नगरपालिकामा बुझाउन सकेका छैनन् ।
महालेखाले तयार पारेको बर्दघाट नगरपालिकाको प्रतिवेदनमा समेत नगरपालिकाद्वारा खरिद गरी सञ्चालन भएका एम्बुलेन्स जिन्सी खातामा समेत उल्लेख नभएको र हिसाबकिताब नआएको भनी उल्लेख गरेको थियो । एम्बुलेन्सको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो व्यक्त गरेको छ । अख्तियारले एम्बुलेन्ससँग सम्बन्धित सम्पूर्ण कागजात र विवरण उपलब्ध गराउन भनी नगरपालिकालाई पत्राचार गरिसकेको छ ।
नगरपालिकामार्फत सञ्चालन हुँदै आएका बिरामी बोक्ने एम्बुलेन्सहरु समय समयमा बिग्रिएर हैरानी खेप्नुपर्ने अवस्था आएपछि भने एम्बुलेन्सको अवस्थाको बारेमा नगरबासीले चासो व्यक्त गर्ने गरेका छन् । बिरामी बोक्ने एम्बुलेन्स नै आफैं बिरामीजस्तो भएको नागरिकले टिप्पणी गर्ने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width