गण्डकी प्रदेश प्रथम पारा खेलकुद सम्पन्न

आदर्श समाज सम्वाददाता
फागुन १, २०७८
final para sportsssd

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालित प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता २०७८ सम्पन्न भएको छ । २ दिनसम्म चलेको प्रतियोगितामा शनिबार ६ विभिन्न खेलहरु भएका हुन् । प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न ह्विल चियर बास्केटबलमा पोखरा निलो विजयी भएको छ । पोखरा निलोले पोखरा रातोलाई २२–११ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै पोखरा निलोले नगद १२ हजार र उपविजेताले पोखरा रातोले नगद ८ हजारका साथम ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । ह्विल चियर प्रतियोगितामा पोखरा निलोका हर्कबहादुर खत्री उत्कृष्ट खेलाडी घोषित भए ।
बहिरा ब्याडमिन्टन एकल पुरुषतर्फ सिजन हिराचन प्रथम, किरण अधिकारी द्वितीय र किसान तामाङ तृतीय भएका छन् । महिलातर्फ ज्योत्सना गुरुङ प्रथम, लक्ष्मी भण्डारी द्वितीय र सन्तोषी बुढाथोकीले तृतीय स्थान प्राप्त गरिन् । बहिरा ब्याडमिन्टनमा महिला र पुरुष गरी २० जना खेलाडी सहभागी थिए । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमश ३ हजार, २ हजार ५ सय र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
मनोसामाजिक अपांगताका लागि म्युजिकल चियरतर्फ भएको प्रतियोगितामा देवीमाया गुरुङ प्रथम, सोनु गुरुङ द्वितीय र माया फेसेङ तृतीय भए । अप्टिजम अपांगताका लागि भएको दौड प्रतियोगितामा सोफिया ओली, सुभान गुरुङ र आरोही गुरुङ क्रमश प्रथम, द्वितीय र तृतीय भए । मेडल र प्रमाणपत्रका साथमा प्रथमले ३ हजार, द्वितीयले २ हजार ५ सय र तृतीयले २ हजार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत भएको बौद्धिक अपांगताका लागि ५० मिटर दौड महिलातर्फ ऋतु गुरुङ, हिमानी गुरुङ, हेलेना श्रेष्ठ क्रमश प्रथम, द्वितीय र तृतीय भए । सोही विधातर्फ १ सय मिटर दौड महिलामा दीपशिखा श्रेष्ठ, दुर्गा कोइराला, प्रिज्मा गुरुङ क्रमश प्रथम, द्वितीय र तृतीय हुँदा १ सय मिटर पुरुष दौडमा प्रवेश गुरुङ, नितेश सिञ्जाली र आशीष खत्री पहिलो, दोस्रो र तेस्रो हुन सफल भए ।
२०० मिटर दौड पुरुषमा सागर शेरचन, विशाल बस्नेत र अश्विन परियार क्रमश पहिलो दोस्रो र तेस्रो भएका छन् । उनीहरुले मेडल, प्रमाणपत्र र नगदसहित क्रमश ३ हजार, २ हजार ५ सय र २ हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत नै बोसियातर्फको प्रतियोगितासमेत भएको प्रतियोगिताका संयोजक अमृत बरालले बताए ।
समापन समारोहमा हालै बहराइनमा सम्पन्न एसियन युथ गेम्स पारा गेम्स २०२१ मा तेक्वान्दो खेलमा पोखरा ३२ निवासी विशाल गबुर्जाले नेपालबाट सहभागी भई तेस्रो स्थान प्राप्त गर्न सफल भएकोमा नगद १५ हजारसहित सम्मान गरिएको थियो ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । प्रतियोगितामा ७ विभिन्न खेलका १ सय २५ जना खेलाडीको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width