९६ वर्षमा बल्ल नागरिकता !

नवराज पहाडी
माघ २९, २०७८
nagarikata~

लमजुङ । लमजुङमा एक वृद्धले ९६ वर्षको उमेरमा बल्ल नागरिकताको प्रमाणपत्र पाएका छन् । यति धेरै उमेरमा आएर नागरिकता लिने उनी जिल्लामै पहिलो भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मध्यनेपाल नगरपालिका वडा २, तान्द्राङ टक्सार (साविक तान्द्राङ टक्सार गाविस वडा १) कृष्णबहादुर गुरुङलाई प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले नागरिकता प्रदान गरेका हुन् । गुरुङ बेलायती सेनाका सेवा निवृत्त व्यक्तिसमेत हुन् ।
उनको जन्म विसं १९८२ चैत ५ गते भएको उनको पेन्सनको कागजातबाट पुष्टी भएको छ ।
‘सन् १९४८ मा बेलायती सेनामा भर्ती हुनुभएको रहेछ । उहाँका २ भाइ छोरा र ३ बहिनी छोरी छन् । उनीहरूको अंशवण्डा गर्ने कार्यमा समस्या भएपछि छोराहरूले बुबाको नागरिकता प्रमाणपत्र उपलब्ध गराउन पहल गरेका हुन्,’ प्रजिअ वैद्यले भने, ‘नागरिकता बनाउन कान्छो छोरा श्रीप्रसाद गुरुङले सनाखत गर्न कार्यालय आउनुभएको थियो ।’
नागरिकताको महत्वबारे ज्ञान अभावमा नागरिकता लिन यति धेरै समय लागेको हो । प्रजिअ वैद्यले भने, ‘कार्यालयमै आएर पहिलो पटक यति बढी उमेरका वृद्धले नागरिकता लिएका हुन् ।’ यसअघि केही बृद्धबृद्धालाई घरमै पुगेर प्रशासनतर्फबाट नागरिकता प्रदान गरिएको थियो ।
उनका ठूलो छोरा शेरबहादुर, कान्छो श्रीप्रसाद हुन् भने जेठी छोरी सावी, माहिली तीलु र कान्छी मंगली गरुङ छन् ।

तान्द्राङ टक्सारका कृष्णबहादुर गुरुङलाई प्रजिअ सुशील वैद्यले नागरिकता प्रदान गरेका हुन्

कागजातबिना भर्ती भएका उनी मलाया (मलेसिया) गए । केही समयपछि सरुवा भएर सिंगापुर पुगे । मलेसिया र सिंगापुर गरी १५ वर्ष बसेर सेवा निवृत्तपछि स्वदेशमा फर्केर घर गृहस्थी गर्न थाले । घर आएपछि पनि भारतसहित देशका विभिन्न जिल्लामा बसे ।
पछिल्लो ४० वर्षदेखि भने उनी घरगाउँमै बस्दै आएका थिए । यो अवधिभर नागरिकताको आवश्यकताको कहिल्यै परेन । उमेर भएको समयमा जागिरमा लागेको र धेरै समय घरमा नभएका कारण उनको नागरिताको प्रमाणपत्र यसअघि नबनेको परिवारजनले जनाएको छ ।
अहिले छोराछोरीको पहलमा उनले नागरिकता पाएका हुन् । नागरिकता के हो भन्ने खासै नबुझेका र थाहा नपाएका कृष्णबहादुर गुरुङले सरकारी अड्डामा आएर त्यो प्रमाणपत्र पाउँदा अचम्म लागेको बताए । उनले भने, ‘हाम्रो पालामा नागरिकता चाहिने थिएन । पेन्सन पनि लिइरहेकै छु । अहिले छोराछोरीले नागरिकता बनाउन भनेपछि बनाउन आएको हुँ । अहिले पाउँदा खुसी लागेको छ ।’
कृष्णबहादुरकी श्रीमती विजयामाको नागरिकता पहिल्यै गाउँमा टोली जाँदा बनाइएको थियो । श्रीमतीको भने २० वर्षअघि निधन भइसकेको छ ।
पेन्सन आएर घरमा आएपछि बेलायत जाने मौका पाएकोमा कृष्णबहादुर गएनन् । धेरै कागजात आवश्यक पर्ने र कागजात जुटाउन नसकेपछि प्रक्रिया अघि नबढाएको र घरमै बस्नुभएको जेठा छोरा शेरबहादुरले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width