रातोपानीमा सेतीमाथि पक्की पुल

आदर्श समाज सम्वाददाता
माघ २४, २०७८
pul bandai

हेमजा । माछापुच्छ्रे गाउँपालिकाअन्तर्गत रातोपानीमा सेतीनदीमाथि पक्की मोटरेबल पुल बन्ने भएको छ । पुलको शनिबार एक कार्यक्रमबीच गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शिलान्यास गरे ।
त्यस अवसरमा धारणा राख्दै बरालले ठूलो संघर्ष र मेहनतका बीच पुलको शिलान्यास गरिएको जानकारी दिँदै समयमै पुल निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।खचुनावी अभियानको क्रममा पनि त्यस क्षेत्रमा पुल निर्माण गर्ने प्रतिबद्घता जनाएको स्मरण गर्दै मन्त्री बरालले अव धिप्राङ, मर्दी र इदीखोलामा पनि पुल निर्माणका लागि पहल भइरहेको जनाए ।
मन्त्री बरालले गाउँपालिकाका सार्दीखोला, घाचोक, लाहाचोक र साविक माछापुच्छ्रे गाविसका नागरिकहरुका लागि अत्यावश्यक सो पुल प्रदेश सरकारले प्राथमिकतामा राखेर योजना कार्यान्वयन सुरु गरेको पनि बताए ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले संघ र प्रदेश सरकारसँगको सहकार्यमा पालिकामा पूर्वाधार निर्माणको काम भइरहेको जनाए । गाउँपालिकाको मागअनुसार नै प्रदेश सरकारको पहिलो वर्षको नीति बजेट कार्यक्रममा रातोपानी पुल निर्माणको योजना परेको उनले स्मरण गरे ।
वडा नं २ का वडाध्यक्ष विक्रम गुरुङले त्यहाँ पुल बन्नुपर्दछ भनेर तत्कालीन वामगठबन्धनको चुनावी एजेन्डा रहेको भनाइ राखे । समयमै तोकिएको मितिमा गुणस्तरीय हिसाबले पुल निर्माणको काम अघि बढ्ने उनको विश्वास छ ।
त्यस अवसरमा प्रदेश सरकारको १० करोड ४३ लाख ५७ हजार ६ सय ४ को लागतमा पुल निर्माणका लागि हिमदुङ एन्ड थोकर र राम जानकी जेभी काठमाडौंसँग गत साउन २५ गते ठेक्कासम्झौता गरिएको पूर्वाधार कार्यालयका प्रमुख महेन्द्र बानियाँले जानकारी दिए ।
जसअनुसार सम्झौता मितिले २ वर्ष अर्थात् वि.सं २०८० साउन २४ गतेसम्म पुल निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।आरसिसी स्टिल स्टक्चरमा निर्माण गरिने सो पुल ७० मिटर लामो र दुवैतर्फ डेढ मिटर फुटपाथसहित साढे १० मिटर फराकिलो हुनेछ ।
सो कार्यक्रममा वडा नं ३ का अध्यक्ष सूर्यप्रसाद लम्साल, नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटी सदस्य प्रवीणा अधिकारी, नेपाली कांग्रेस गाउँपालिका उपसभापति मेखबहादुर गुरुङ, निर्माण कम्पनीका प्रतिनिधि निर्मल सिटौलालगायतले पक्की पुल निर्माणसँगै जनतालाई गाउँपालिका केन्द्र आवतजावतमा सहजता हुने विश्वास व्यक्त गरे ।
उक्त स्थानमा झोलुङे पुल भएपनि मोटरेबल पुन नहुँदा जनतालाई सास्ती छ । माछापुच्छ्रेका वडा नं २ सार्दीखोला र वडा नं ३ घाचोक जोड्ने गरी पुल निर्माणको कार्य अगाडि बढेपछि स्थानीयवासीमा भने खुसी छाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width