मानव सेवा आश्रममा भोजन

आदर्श समाज सम्वाददाता
माघ २०, २०७८
manav

गण्डकी । पछिल्लो समय पितृ कार्यमा हुने खर्च कटाएर मानवीय सेवामा समर्पित विभिन्न संघसंस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ । समाजका असहाय, अशक्त, बेसहारा, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवं पालनपोषणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ पितृको स्मरणमा सहयोग गर्ने प्रचलन बढेको हो ।
पोखरा १७ घारीपाटनस्थित म्युजियममार्ग निवासी लक्ष्मी खड्काले आफ्ना स्वर्गीय पति अमरबहादुर खड्काको १५ औं पुण्य तिथिका अवसरमा पोखरास्थित मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुका लागि १ छाक खानाको व्यवस्था गरेकी छन् ।
छोरा यमबहादुर र बुहारी पार्वती खड्कासहित भोजन गराउनका लागि आश्रममा पुगेकी लक्ष्मी खड्काले भनिन् ,‘आकाशलाई छानो र सडकलाई घर बनाएर बस्न बाध्य मानवको उद्धार गरेर उनीहरुको लागि पुनर्जन्म दिने संस्थालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ ।’ सो परिवारले १ छाक खाना बराबरको नगद १५ हजार ५ सय रुपैयाँ आश्रमका सहसंयोजक सम्झना बर्तौला र साधिका मनिकला नेपालीलाई हस्तान्तरण गरिन् । आश्रममा हाल ६५ जना महिला तथा बालबालिका आश्रित छन् ।
सो आश्रमबाट १ वर्षअघि ९५ जना बुबाहरुलाई पोखरा २५ हेमजास्थित आश्रममा सारिएको छ भने छोरेपाटन आश्रममा हाल महिला र आश्रित बालबालिका सहित ६५ जना रहेको सहसंयोजक बर्तौलाले जानकारी दिइन् ।
‘२ छाक खानाभन्दा पनि आमा र बालबालिकाको औषधी उपचारमा बढी खर्च हुने गरेको छ,’ उनले भनिन्,‘ ‘सडकबाट उद्धार गरिएका अधिकांश आमाहरु मानसिक रोगी हुनुहुन्छ, औषधीमा मात्र मासिक ५० देखि ६० हजार रुपैयाँ खर्च हुने गरेको छ ।’
संस्थाले आश्रम सञ्चालनका लागि हालै सञ्चालन गरेको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट ६ लाख रुपैयाँभन्दा बढी आर्थिक संकलन भएको आश्रमका केन्द्रीय कोषाध्यक्ष एवं गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार आश्रममा आबद्धहरुको १ छाक खानाका लागि १५ हजार ५ सय, विशेष खानाको लागि २२ हजार ५ सय र १ दिनको खानाको लागि ३५ हजार ५ सय रुपैयाँको व्यवस्था गरिएको छ ।
२०७४ साल चैत १७ गते पोखरा र आसपासमा कष्टकर जीवन बिताउन बाध्य २३ जना सडक मानवको उद्धार गरी सञ्चालन गरिएको आश्रमले हालसम्म ८ सय २६ जनालाई सेवा प्रदान गरेको उनले बताए । हालसम्म २ सय ६२ जनालाई पारिवारिक पुनर्मिलन, उपचारपश्चात् स्वैच्छाले ३ सय ५ जना घर फर्किएकोे, ५१ जनालाई अन्य शाखामा स्थान्तरण गरिएको छ । आश्रमको संरक्षणमा रहँदा ५८ जना आमाबुबाको निधन भएको आश्रमले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width