सामुदायिक सेवा केन्द्रको पहलमा ५ सिसी क्यामेरा जडान

आदर्श समाज सम्वाददाता
माघ २०, २०७८
camera

लेखनाथ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको पहल एवं इलाका प्रहरी कार्यालय डाँडाकोनाकको समन्वय तथा संरक्षण र बैंक, सहकारी, बजार व्यवस्थापन, टोल, आमा समूह, युवा क्लब, व्यवसायी र स्थानीयवासीको सहयोगमा पोखरा–२७ तालचोकमा ३ वटा र इलाका प्रहरी कार्यालय डाँडाको नाक अगाडि २ वटा सिसी क्यामेरा जडान गरिएको छ ।
इलाका प्रहरी कार्यालयको सूचना कक्षबाट अवलोकन तथा नियन्त्रण गरिने सिसी क्यामेराको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले बुधबार उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक थापाले सिसी क्यामेराको जडानले अपराध नियन्त्रण एवं अनुसन्धानमा सघाउ पुग्नुको साथै शान्ति सुरक्षा कायम गर्न सघाउ पुग्ने बताए ।
उनले प्रहरी एक्लैले शान्ति सुरक्षा कायम गर्न नसक्ने बताउँदै समुदायको पृष्ठपोषणका साथै सहयोग र समन्वयको आवश्यकता पर्ने बताए । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवामार्फत समुदाय, स्थानीय तह, राजनीतिक दलहरु, एवं प्रबुद्ध समूहको सहभागिताले अब प्रहरी एक्लो छैन भन्ने आाभाष दिलाएको पनि उनले बताए ।
पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले सामुदायिक सेवा केन्द्रले विकृति विसंगतिरहित समाज निर्माणका लागि गरेका कार्यहरुको प्रशंसा गर्दै वडाका तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा पोखरा २६ का अध्यक्ष नारायणप्रसाद बराल, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य बाबुराम गिरी, लेखनाथ बैंकर्स क्लबका संस्थापक अध्यक्ष सन्तोष गुरुङलगायतले बोलेका थिए ।
उक्त अवसरमा संस्थाका सल्लाहकार सूर्यमणि लामिछानेले भवन निर्माणको लागि २७ हजार ८८, वडा सदस्य बुद्विमाया रिजालले १० हजार, संस्थाकी महिला हिंसा सचेतनामूलक कार्यक्रमकी संयोजक माया सापकोटाले भवन निर्माणको लागि २७ हजार १ सय र सिसी क्यामरा जडानको लागि २ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेका थिए ।
इलाका प्रहरी कार्यालयलाई विभिन्न कार्यक्रमहरुको माध्यमबाट पुर्‍याएको योगदानको कदर गर्दै केन्द्रका अध्यक्ष त्रिलोचन लामिछानेलाई इलाका प्रहरी कार्यालय डाँडाको नाकले प्रशंसापत्रले सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख महेन्द्र मरासिनीले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन केन्द्रका सचिव कृष्ण अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै