सखाप हुँदै सिमसार, संकटमा जीवनशैली

प्रकाश ढकाल
माघ २०, २०७८
simsar

पोखरा । एउटा अध्ययनले विश्वमै सबैभन्दा छिटो तापक्रम वृद्धि भएका ठाउँमध्ये गण्डकी प्रदेशको मुस्ताङलाई पनि अद्यावधिक गरेको छ । अरु ठाउँमा १ सय वर्षमा हुने तापक्रम मुस्ताङमा १० वर्षमै बढ्छ । गण्डकी प्रदेश जलवायु परिवर्तनका हिसाबले निकै जोखिमपूर्ण अवस्थामा छ । हिमताल फुट्ने, हिमपहिरो झर्ने लगायत समस्या आजभोलि निकै बढेका छन् । मानवीय अतिक्रमणले सिमसार पुरिनेक्रम दैनिक बढिरहेको छ । सिमसार र जलवायु परिवर्तन एकआपसमा सम्बन्धित छन् । जलवायु परिवर्तनका कारण सिमसार लोप हुँदै छन् भने सिमसार लोप भएका कारण परिस्थितिकीय प्रणाली हुँदै जलवायुमा समेत असर गरेको छ ।
पोखराका सिमसार जोगाउन र योजनाबद्ध विकासका लागि सन् २०१६ मा यहाँका सिमसारलाई रामसार सूचीमा सूचिकृत गरिएको छ । तर त्यसपछि न तालको आकार बढेको छ न त अतिक्रमण हुन रोकिएको छ । वर्षेनी तालको आकार घट्दै जाँदासमेत सरोकारवालाहरु सचेत छैनन् । सिमसारमाथिको दोहनले जलचर प्राणीहरु पोखराबाट बसाइँ सर्ने अवस्थामा रहेका चराका जानकारहरु बताउँछन् । विशेषतः सिमसारमाथिको अतिक्रमण र जथाभावी संरचना निर्माणले पारिस्थितिकीय प्रणालीमै परिर्वतन आएको छ ।
तालहरुलाई ड्याम बनाएर बाँध्ने र ताल किनारमा सिमेन्ट र ढुंगाको पैदलमार्ग बनाउने तथा सिमसार पुरेर घरहरु ठड्याउने चलन निकै बढेको छ । केही वर्षअघि आइयुसिएनले गरेको एउटा प्रतिवेदन अनुसार १ सय १० वर्ग किलोमिटर क्षेत्रफल रहेको फेवातालको पानी ढलोमा ३ सय ३० किलोमिटर लामो सडक बनिसकेको छ । अहिले त्यो तथ्यांक झनै बढेको छ । जति विकास विस्तार भयो उत्ति नै परम्परागत प्रणाली बिग्रिएको छ । फेवातालमा पोहोर र अहिलेको गणनामा मेन्डारिन हाँस देखियो । त्यसअघि यहाँ मेण्डारिन थिएन । फेवाबाहेक अरू तालमा यो प्रजाति पाइँदैन । तर फेवामा पाइने धेरै प्रजातिका चराहरूको संख्या भने ह्वात्तै घटेको गणनाले देखाउँछ । धेरै चरा चर्न आउने भएकोले पोखराको दीपाङ ताललाई ‘हनिमुन लेक’ भनेर चिनिन्छ । दर्जनौं प्रजातिका चरा भेटिने यहाँ अहिले २/४ प्रजातिमात्रै छन् ।

धेरै चरा चर्न आउने भएकोले दीपाङ ताललाई ‘हनिमुन लेक’ भनेर चिनिन्छ

डुबुल्की हाँस, सिलसिला हाँस, जलेवा र बकुल्लाका प्रजाति बाहेक अरू चराहरू दिपाङमा देखिन छोडे । हालै गरिएको अध्ययनले पोखरामा ४६ प्रजातिका नयाँ चराहरू फेला पारेको छ । तथापि सिमसारमा भइरहेको दोहनले पोखराको रैथाने चरा भने बिस्तारै घट्न थालेका छन् । स्वर्णचुल राजचिचिल्कोटे ४५ वर्षपछि पोखरामा भेटिएको छ । राष्ट्रियस्तरमै संकटग्रस्त अवस्थामा रहेको उक्त चरा सन् १९७७ मा वरिष्ठ चराविद् हरिशरण नेपाली काजीले रुपाताल क्षेत्रमा भेटेका थिए । नयाँ चरा देखिनु र पुराना चराहरु हराउनु नै जलवायु परिवर्तनको सूचक हो ।
सन् २०१९ सम्म पोखरा उपत्यकामा ४ सय ६७ प्रजातिको चरा सङ्गृहीत गरिएको छ भने यो वर्षको अध्ययन अनुसार ४ सय ८५ प्रजाति पुगेका छन् । तथ्यांकले केही प्रजाति बढेको देखाए पनि मान्छेहरूले सिमसारमाथि गरेको अतिक्रमणले रैथाने प्रजातिको बसाइँसराइ तीव्र रूपमा बढेको छ । एउटा तालबाट अर्को तालमा सर्ने तथा केही चराहरुले विस्तारै पोखराबाट बासस्थान सार्ने गरेको अध्ययनहरुमा उल्लेख छ । पन्छी समाज पोखराका अध्यक्ष तथा अध्ययनकर्ता मनशान्त घिमिरे चराको संख्या घट्दै जाँदा मानव जातिको भविष्यमै प्रश्न उठ्ने बताउँछन् । ‘चराको आहारा घटेका छन् । त्यसको मुख्य कारण सिमसार पुरिनु हो । पोखराका तालहरुमा विकास निर्माणका काम भइरहेका छन् । दलदले भूमि पुरिएको छ,’ उनले भने, ‘अहिले पानी चराहरु पोखराकै एउटा तालबाट अर्को तालमा सरिरहेका छन् । भोलि पोखराबाटै सरेर जाने अवस्था आउन सक्छ । त्यो समय निकै दुखद हुनेछ ।’
चराजस्तै सिमसार क्षेत्रका रैथाने जातिहरु समेत लामो समय त्यहाँ बस्न नसक्ने अवस्थामा पुगेका छन् । कास्कीका जिल्ला वन अधिकृत केदार बरालका अनुसार धेरै रैजाने जनजातिहरुको दैनिकीमा यसले असर पुगेको छ । ‘जलवायु परिवर्तनले सिमसार सुकेको छ । जैविक विविधता मरेर गएको छ । इको–सिस्टममा नकारात्मक असर गरेको छ,’ उनले भने, ‘अन्य क्षेत्र भन्दा सिमसार ५ गुणा उत्पादनमूलक हुन्छ । वर्षेनी यी क्षेत्र घट्दा सिमसारलाई जीविकोपार्जन बनाएर बाँचेका जनजातिको जीवनमा असर परेको छ ।’ उनले सिमसार संरक्षणका लागि छुट्टै प्राधिकरण आवश्यक रहेको बताए । ‘सिमसार हेर्न धेरै सरकारी निकायमा जिम्मेवारी बाँडिएको छ । अर्कोले गर्ला भन्ने आशमा कसैले जिम्मेवारी लिएको छैन । आपसी समन्वय छैन,’ बराल भन्छन्, ‘त्यसका लागि शक्ति सम्पन्न सिमसार क्षेत्र संरक्षण प्राधिकरण गठन गरेर कानुनी संयन्त्र बनाएर कडाइ साथ कार्यान्वयन गर्नुपर्छ ।’ विश्व रामसार सूचीमा कास्कीका ९ ताल सूचिकृत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width