डिजिटल प्रविधिको प्रभावविषयक वक्तृत्वकला

आदर्श समाज सम्वाददाता
माघ ९, २०७८

हेमजा । महिला सञ्जाल पोखरा–२५, हेमजाको आयोजना तथा महानगरपालिकाको आर्थिक सहयोग एवं वडा कार्यालयको समन्वयमा शनिबार हेमजामा खुला महिलास्तरीय वक्तृत्वकला भएको छ ।
‘डिजिटल प्रविधिले महिलाहरुमा पार्ने प्रभाव’ विषयक प्रतियोगितामा ९ प्रतियोगिलाई पछि पार्दै अप्सरा तिम्सिना प्रथम भइन् । त्यस्तै अमृता सापकोटा दोस्रो, सुशीला बास्तोला तेस्रो तथा सीता तिम्सिना र पार्वती बानियाँ सान्त्वना भए ।
समाजसेवी मधुसुदन त्रिपाठी, ज्ञानसागर एकेडेमीका प्रअ शंकरमणि त्रिपाठी (छन्दमणि) र पत्रकार श्रीभद्र पौडेल निर्णायक थिए ।
प्रतियोगितामा वडा सदस्य जीतबहादुर कार्कीले भाषाका ४ सीपमध्ये बोलाइसँग वक्तृत्वकला सम्बन्धित रहेको बताए । उनले मानिसले विषयवस्तु जानेरमात्रै नपुग्ने तर्क गर्दै त्यसलाई कसरी प्रस्ततिकरण गर्छ भन्ने पक्षले पनि उक्त व्यक्तिको मूल्याङकन हुने गरेको औल्याए ।
निर्णायक संयोजक त्रिपाठीले बोलाइ कला भएको मानिस कहिल्यै भोकै नपर्ने तर्क गरे । त्रिपाठीले महिलाहरु घरको सीमित दायरामा मात्रै नबसी समुदायका क्रियाकलापमा पनि निस्कनु पर्ने बताए । ‘बोल्नेको पिठो बिक्छः नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने भनाइसँग यो कला सम्बन्धित रहेको उनले औल्याए ।
अध्यक्षको शासनबाट सञ्जाल अध्यक्ष रमा त्रिपाठीले वडाका महिलालाई अगाडि बढाउन संस्था लागि परिरहेको बताइन् । कार्यक्रममा वडा सदस्य तारा विश्वकर्माले स्वागत र सञ्जाल सचिव पवित्रा कुँवरले कार्यक्रम संचालन गरिन् ।
संजालले बिहीबार लैंगिक हिंसाविरुद्घ जनचेतना समेत गरेको थियो । जसमा महानगरपालिकाका सामाजिक महाशखा अधिकृत विष्णु पौडेल तथा वडा सचिव ईश्वरी पोखरेलले सहजीकरण गरे । शुक्रबार महिलालाई उद्घोषण तथा नेतृत्व विकास तालिम दिइएको थियो ।
पत्रकार सुष्मा पौडेल तथा महानगरपालिकाका नायव सुब्वा ईश्वरी बास्तोलाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । ती दुवै कार्यक्रम वडाध्यक्ष शोभाकर तिम्सिनाले उद्घाटन गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width