पोखरा । नेपालका अधिकांश होमस्टेले सिरुबारीबाटै सिकेका छन् । अर्थात् होमस्टेको पाठशालाको रुपमा परिचित छ, स्याङ्जाको आँधीखोला गाउँपालिका १ को सिरुबारी होमस्टे । पछिल्ला समय नाम चलेका होमस्टेहरुले सिरुबारीकै सिको गरेका हुन् । अझै पनि होमस्टे खोल्न चाहनेको रोजाई सिरुबारी नै हुने गर्छ ।
होमस्टेको अवधारणा बोकेर अझै पनि सिरुबारी जाने टोलीमा कमी नआएको पर्यटन विकास समिति सिरुबारीका संयोजक जुम गुरुङले जानकारी दिए । सिरुबारीबाट सिको गरेका होमस्टेहरुले आफूहरुले भन्दा राम्रो गरेर देखाएको गुरुङ सम्झन्छन् । ‘हाम्रोमा होमस्टे सिक्न आउने कति छन् कति नेपालमा खुलेका होमस्टेहरु लगभग सबै यहीँबाट सिकेर गएका हुन्,’ उनले भने, ‘घान्द्रुक, सिक्लेस, ल्वाङघलेल, अर्मला, याङ्जाकोट, घलेगाउँ, रानागाउँ, गिलुङ, अमलटारी… अरु त नाम नै भुले ।’ सिरुबारी घुम्न आएकाहरुले आफूभन्दा राम्रो गरेको देख्दा सुन्दा खुुसी लाग्ने उनी बताउँछन् ।
चिटिक्क परेका ढुंगेघर, ढुंगाकै गाह्रो, बाटो, आँगन, पिँढी र सरसफाई सिरुबारी गाउँको पहिचान हो । २०५४ सालमा पूर्व सांसद रुद्रमान गुरुङको पहलमा होमस्टे स्थापना भएपछि नेपालकै पहिलो होमस्टेको ट्याग पनि थपियो । होमस्टे बनेसँगै अत्यन्तै हार्दिक गाउँले, गुरुङ समुदायको मौलिक संस्कार, संस्कृति, न्यानो स्वागत अनि बिदाइ यहाँको अर्को चिनारी बन्यो । आमाहरूको सक्रियतामा पाहुनालाई बाजागाजा, फूलमाला र अबिरले आत्मीय स्वागत गर्ने उनीहरुको अर्को पहिचान हो । नेपालका धेरै होमस्टेले सिरुबारीको विषेशताको नक्कल र सिको गरेरै अगाडि बढेको पर्यटनविद् हरिसिंह गुरुङ बताउँछन् । ‘यहाँको सबैभन्दा राम्रो विशेषता भनेको ढुंगा हो,’ उनले भने, ‘ढुंगाले बनेको घर, बाटोसँगै गाउँलेको हार्दिकता अर्को विशेषता हो ।’ पर्यटनविद् हरिसिंह गुरुङ पनि अध्ययन र घुमघामका लागि वर्षमा एकपटक सिरुबारी पुग्ने गर्छन् । अनि नयाँ होमस्टे सञ्चालन गर्न कसैले सुझाव मागेमा सिकाइका लागी सिरुबारी जान सुझाउँछन् ।
होमस्टेको पाठशाला सिरुबारीमा पुगेपछि भने उनले रुद्रमान गुरुङलाई सम्झिहाल्छन् । होमस्टेको पाठशाला सिरुबारी हुन् भने गुरु उनैरुद्रमान गुरुङ हुन् । उनकै अगुवाइमा २०५४ सिरुबारीलाई ग्रामीण पर्यटकीय गाउँ घोषणा गरिएको थियो । २०७२ सालमा ८६ वर्षको उमेरमा रुद्रमानको निधन भयो, तर उनलाई सिरुबारीले बिर्सिएको छैन । उनले चालेको कदममा गाउँलेहरुले साथ दिइरहेका छन् । स्व. गुरुङकै बुहारी उर्मिला गुरुङ पनि ससुराको विरासत धान्न तल्लीन छिन् । उनी गाउँमै बसेर युवाको नेतृत्व गरिरहेकी छन् । ‘म पोखरामै बस्थें, मेरा गाउँमै सम्भावना छ र गाउँमै मैले नेतृत्व गर्नुपर्छ भनेर गाउँ आएकी हुँ,’ गुरुङले भनिन्, ‘गाउँ आएपछि मलाई जाँगर पलाएको छ । मैले यहीं केही गर्नु सक्छु भनेरै आएको हुुँ ।’ गाउँ पुग्ने पाहुनालाई स्वागत सत्कार तथा सांस्कृतिक कार्यक्रमको नेतृत्व अहिले यिनै उर्मिलाले गर्दै आएकी छिन् । गाउँबाट युवा शक्ति पलायन हुनु, गाउँमै सुविधा नहुनेले घटेको गाउँको महत्व अब उठाउने बेला आएको उनले बताइन् ।
होमस्टे बनेसँगै अत्यन्तै हार्दिक गाउँले, गुरुङ समुदायको मौलिक संस्कार, संस्कृति, न्यानो स्वागत अनि बिदाइ यहाँको अर्को चिनारी बन्यो
८२ वर्षीय बबरसिंह गुरुङ पनि सिरुबारीलाई नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ बनाउन खटिनेमध्येका हुन् । स्वास्थ्यले साथ नदिएर होमस्टे चलाउन छोडे पनि अरुलाई हौसला दिइरहन्छन् । बबरसिंह गुरुङ नै पर्यटन विकास समिति सिरुबारीका अध्यक्ष हुन् । गाउँलाई पर्यटनसँग जोड्नुपर्छ भन्ने सोचले उनी गाउँमै छन् । तर पछिल्लो समय गाउँमा होमस्टेको संख्या घट्दै गएकोमा भने उनी चिन्तित छन् ।
स्थापनकालमा २७ घरमा होमस्टे रहेको सिरुबारीमा अहिले २३ घरमा मात्र सीमित छ । ‘४३ घरधुरी रहेको सिरुबारीका ११ परिवार आवासीय भिसामा बेलायततिरै बसेका छन् । अरु पनि कोही बजार झरिसके,’ पर्यटन विकास समिति सिरुबारीका संयोजक जुम गुरुङले भने, ‘कोरोनाले गर्दा १७ घरमा होमस्टे सीमित भएकोे थियो अहिले फेरि २३ पुगेको छ ।’
कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनदेखि बन्द सिरुबारी पर्यटकका लागि १२ कात्तिकदेखि खुला गरिएको छ । कोरोनाको समयमा केही सुस्ताएको पर्यटक अहिले फेरि उकासिएको संयोजक गुरुङले जानकारी दिए । अब फेरि केही आशा पलाएको उनी बताउँछन् । अहिले सिरुबारीले एकदिनमा ८० जना पाहुना राख्न सक्छ । जबकि कुनै बेला १ सय ५० जनासम्म राख्ने क्षमता थियो । दोस्रो लकडाउन पछि फेरि आन्तरिक पर्यटक बढ्न थालेको उनले बताए । ‘कोरोनाले गर्दा विदेशी पर्यटक त आएका छैनन् त हाम्रै नेपालका धेरै आएका छन्,’ उनले भने, ‘अस्ति शनिबार त साह्रै गाह्रो भयो, ८० जना राख्न सक्ने हो १ सयभन्दा बढी पाहुना आउनुभयो ।’ कुनै बेला पाहुना धेरै भएको खण्डमा पनि व्यवस्थापन गरिरहेको उनको भनाइ थियो ।
गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारले सहयोग गरेको भए पनि अझै बाटो, पुल लगायत पूर्वाधारमा सहयोग गरे पर्यटकसँगै होमस्टेको बारेमा बुझ्न र सिक्न आउनेलाई सहज हुने गुरुङको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१