स्वास्थ्यकर्मीको आन्दोलनले बिरामीलाई सास्ती

साधन राम्जाली
असाेज २१, २०७८
chikitsak

म्याग्दी । बेनी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी तलब सुविधा नपाएको भन्दै आन्दोलित भएका छन् । उनीहरुको आन्दोलनका कारण इमर्जेन्सीबाहेकका सबै बन्द भएका छन् । ३ महिनादेखि आफूहरुले तलब सुविधा नपाएको भन्दै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका हुन् । ६४ शैय्याको अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प हुँदा बिरामी पर्कामा परेका छन् ।
औषधी उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् । उनीहरुले बहिरंग, ल्याब, आँखा उपचार लगायत औषधीसम्बन्धी सेवा साथै प्रशासनिक काम ठप्प पारेका छन् ।
आफ्नो माग सम्बोधनबारे प्रशासनले कुनै सुनुवाइ नगरेपछि इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्न बाध्य भएको डा. गोविन्द पोखरेलले बताए । आफूहरुले असारदेखि तलब, काम गरेको बापत प्रोत्साहन भत्ता लगायत सेवासुविधा उपलब्ध गराउन प्रशासनलाई आग्रह गरे पनि बेवास्ता गर्ने गरेको गुनासो पोखे ।
चाडपर्व नजिकिंदै गर्दा समेत रोकिएको तलब भत्ता नपाएपछि आफूहरुले सेवा बन्द गर्न बाध्य भएको डा. दीपेश पण्डितले बताए । तलब भत्ता नपाउँदा पारिवारिक समस्या समेत बढेको उनले गुनासो गरे । अस्पतालमा कार्यरत १ सय २४ जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायत आन्दोलित भएका छन् ।

‘आफ्नो माग सम्बोधनबारे प्रशासनले कुनै सुनुवाइ नगरेपछि इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्न बाध्य भएका हौं ।’

अस्पतालमा कार्यरत स्थायी र करारमा कार्यरत करिब १ सय २४ जना कसैले पनि तलब नपाएको मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए । केही समयदेखि तलब नपाउने भएपछि पेनडाउन गर्ने स्वास्थ्यकर्मी र कर्माचारीले दबाब दिएपछि ५ पटकसम्म सम्झाएर काममा फर्काएको उनले बताए । अस्पताल व्यवस्थापन समिति र कर्मचारीको बैठकपछि लेखापालले तलब भत्ता उपलब्ध गराउने आश्वासन दिए पनि आनाकानी गरिरहेको उनको भनाइ छ । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी गराएको बताए ।
यता, अस्पतालमा सेवा अवरुद्ध हुँदा उपचार गर्न आएका बिरामीले सास्ती व्यहोर्नुपरेको छ । जिल्लाको बेनी नगरपालिका वडा २ बाट आफन्तको आँखाको उपचार गर्न आए पनि स्वास्थ्यकर्मीको आन्दोलनले उपचार नपाएको उनीहरुले गुनासो गरे । बेनी नगरपालिका–५, भिरमुनिका मुटुुरोगी भक्तबहादुर बानियाँ आन्दोलनको मारमा परे । उनी बन्द सेवा खुल्ने आशामा सोमबार बिहान ११ बजेदेखि कुरेर बसेका छन् ।
अन्यजस्तै बेनी–२ बाट आएका ज्वरो बिरामी अर्जुन किसान अन्दोलनको मारमा परे । रघुगंगा गाउँपालिका वडा ३ बाट आँखा जचाउन आएकोमा आन्दोलनका कारण उपचार नपाएको डम्मरबहादुर कार्कीले गुनासो गरे । ‘आँखा दुखेको ४÷५ दिन भयो । घरेलु उपचारले निको नभएपछि बेनी अस्पताल आएको थिएँ,’ उनले भने, ‘के कारणले सेवा पाउन सकिरहेको छैन । यहाँ उपचार नहुने भएपछि प्राइभेटमा भए पनि जानुप¥यो ।’
अस्पतालको एक्सरे मेसिन बिगिँ्रदा बिरामीलाई समस्या भएको छ । करिब १० दिनअघि भोल्टेज अपडाउन हुँदा एक्सरे मेसिनको सिआर सिस्टम अवरुद्ध भएको हो । एक्सरेसँगै रहेका प्रिन्टर र सिपियु जलेर नष्ट भएको छ । बिग्रिएको लामो समयसम्म एक्सरे मेसिन मर्मत नहुँदा अस्पतालमा सेवा प्रभावित भएको छ । अस्पतालमा एक्सरे सेवा अवरुद्ध हुँदा बिरामीले सास्ती व्यहोर्नु परेको छ । उनीहरुले चर्को शुल्क तिरेर अस्पताल बाहिरी क्लिनिकबाट एक्सरे गराउँदै भएका छन् । क्लिनिकबाट सेवा लिँदा महँगो शुल्क तिनुपर्ने र धेरै समय लाग्ने गरेको बिरामीको दुखेसो छ ।
यसैबीच, मन्त्रालय परिवर्तन हुँदा केही प्राविधिक समस्या हुँदा ढिला भएको हुन सक्ने अस्पताल व्यवस्थापन समिति अध्यक्ष बेलबहादुर कटुवालको तर्क छ । अस्पतालमा लेखापालको दरबन्दी नभएकोले प्रदेश सरकारले ३ वटा कार्यालय हेर्ने गरी १ जना लेखापाल नारायण सुवेदीलाई पठाएको पठाएको छ । यसअघि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय मातहत रहेको बेनी अस्पताल अहिले स्वास्थ्य मन्त्रालय मातहत छ ।

Related News

सम्बन्धित समाचार

hero news full width