विदेशको सीप स्वदेशमा लगाऔं: प्रदेश प्रमुख गुरुङ

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७८
prithvi man~

पोखरा, १८ असोज । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विपन्न तथा असहाय वर्गको हितमा लाग्नु सबैभन्दा महत्वपूर्ण पुण्य हुने बताएका छन् । पोखरा २०, भलाम डाँडागाउँ टोल विकास संस्थाको पाँचौं साधारण सभा तथा युके समाजद्वारा उपलब्ध राहत वितरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले विदेशमा सिकेको सीप र ज्ञान मुलुकको विकासमा लगाउनु पर्ने सुझाव दिए।

वैदेशिक रोजगारमा रहेका नेपालीले समाजमा परेका प्रत्येक अप्ठेरा परिस्थितिमा सहयोग गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उनले त्यस्ता सहयोगको पूर्ण रुपमा सदुपयोग हुनुपर्ने आवश्यकता समेत औंल्याए ।

जनताको त्याग र तपस्याबाट प्राप्त संवैधानिक अधिकारबारे जनतालाई सचेत गराउनु पर्नेमा जोड दिंदै प्राप्त अधिकार रक्षा गर्नुपर्ने उनको भनाइ छ ।

उनले समाजद्वारा प्रकाशित स्मारिकाको विमोचनसहित युके समाजद्वारा उपउब्ध १ लाख ५० हजार रुपैयाँ ९ जना बाढीपहिरो पीडितलाई वितरण गरे । समाजले डाँडागाउँ समाजको विकासका लागि २ लाख ८ हजार रुपैयाँसमेत सहयोग गरेको थियो । वडाध्यक्ष सिम गुरुङले सबैको साथ र सहयोगबाट वडाको विकासमा सहयोग पुगेको बताए ।

टोल विकास संस्था अध्यक्ष क्याप्टेन चोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक तथा सामाजिक व्यक्तित्व दीपक गुरुङ, समाजका उपाध्यक्ष क्याप्टेन दलबहादुर गुरुङ, सचिव तोरणबहादुर गुरुङ, कोषाध्यक्ष लुमबहादुर गुरुङ लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width