पास भयो सुविधा विधेयक, सबै दलको हैसियत एउटै

प्रकाश ढकाल
असाेज ६, २०७८
economy~gandaki ministry

पोखरा  । एमालेको नोट अफ डिसेन्टबीच गण्डकी प्रदेशसभाका पदाधिकारीको संशोधित सुविधा पास भएको छ । सरकारले सबै दलको हैसियत एउटै भएको भन्दै सुविधाबाट वञ्चित नगराउन यसअघिको सुविधा ऐनमा संशोधन गरेको हो । योसँगै सबै राजनीतिक पार्टीले दलको नेता र प्रमुख सचेतक तथा सचेतकको सुविधा पाउने भएका छन् । संविधानमा डेढ प्रतिशत थ्रेस होल्ड कटाउने पार्टीले दलको मान्यता पाउने व्यवस्था गरेको छ । डेढ प्रतिशत कटाएका निर्वाचित दललाई गण्डकीमा भने दोहोरो मापदण्ड बनाएर सुविधा लिनबाट अड्काइएको थियो । यहाँ सत्तारुढ दल र विपक्षी दलले मात्रै सुविधा पाएकोमा अब अन्य दलका पदाधिकारीले पनि सुविधा पाउने छन् ।
नयाँ सरकार गठनका बेला विपक्षी गठबन्धनमा दोहोरो थ्रेस होल्ड हटाउने सहमति भएको थियो । नेपाली कांग्रेसले यसअघि प्रतिपक्षमा हुँदा नै यो थ्रेसहोल्ड हटाउन आग्रह गरेको थियो । अहिले गण्डकीमा कांग्रेस नेतृत्वकै सरकार छ । संशोधन विधेयक मंगलबारको संसद बैठकबाट पारित भएको छ । विधेयक पास भएपछि थप ४ सांसदले गाडी सुविधा पाउने छन् भने सांसदहरुलाई सचिवालय बन्दोबस्ती सुविधा थपिदिएको छ ।
माओवादीले दलको नेता, प्रमुख सचेतक र सचेतकको सुविधा पाउने छ । जनमोर्चाले दलको नेता र जसपाले प्रमुख सचेतकको सुविधा पाउने छ । सचेतकले गाडी पाउँदैनन् । दलको नेता र प्रमुख सचेतकलाई गाडी सुविधा छ । यस्तै, उपनेताहरुले पारिश्रमिक बढी पाउँछन् । यसले प्रदेशसभालाई थप व्ययभार बढेको छ । संघ सरकारको निर्णय अनुसार सबै सांसद र पदाधिकारी, मन्त्री तथा कर्मचारीको पारिश्रमिक मासिक २ हजारका दरले बढेको छ । संशोधनपछि सभामुखको पारिश्रमिक ६३ हजार ४ सय ८० पुगेको छ । उपसभामुख र विपक्षी दलको नेतालाई ६० हजार, अन्य दलको नेतालाई ५९ हजार ५ सय, दलको उपनेतालाई ५८ हजार ४ सय ८०, प्रमुख सचेतक र समिति सभापतिको ५८ हजार ४ सय ८०, दलको सचेतकको ५६ हजार ५ सय २०, सांसदहरुको ५४ हजार २ सय पाउने भएका छन् । सबैलाई बैठक भत्ता प्रतिदिन १ हजार, सञ्चार सुविधा सभामुखले २ हजार र अन्य सबैले १ हजार ५ सय पाउने छन् । सभामुख र उपसभामुखलाई आवासको छुट्टै व्यवस्था छ । विपक्षी दलको नेतालाई घरभाडा वापत मासिक २० हजार र अन्य सबैलाई मासिक १५ हजार, फर्निचरका लागि ५ वर्षको अवधिमा एकमुष्ठ ५० हजार पाउँछन् । यो व्यवस्था पहिलेकै हो ।

विधेयक पास भएपछि थप ४ सांसदले गाडी सुविधा पाउने छन्

निजी सचिवालय बन्दोबस्तीका लागि सभामुखले २ हजार, त्यसपछि प्रमुख सचेतक र सभापतिसम्मलाई १ हजार ७ सय ५० र दलका सचेतक तथा सांसदलाई १ हजार २ सय थियो । पहिलेको ऐनमा सांसदलाई यो सुविधा थिएन । अहिले उनीहरुले पनि प्रतिमहिना १ हजार २ सय पाउने भएका छन् । सवारी इन्धन सभामुखलाई १ सय ५० लिटर, विपक्षी दलको नेता र उपसभामुखलाई १ सय लिटर तथा अरुलाई ९० लिटर छ । मोविल सबैलाई मासिक ५ लिटर छ भने सभामुखलाई १० लिटर उपलब्ध हुन्छ । धारा, बिजुली खर्च मासिक सबैलाई १ हजार ५ सय, दैनिक भ्रमणभत्ता सभामुखलाई २ हजार ५ सय र अरु सबैलाई २ हजार, विदेश भ्रमणभत्ता सभामुखलाई १ सय ७५ अमेरिकी डलर र अरु सबैलाई १ सय ५० अमेरिकी डलर दैनिक तोकिएको छ ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षका प्रमुख सचेतकलाई संशोधित विधेयकमा तलबदेखि अन्य सुविधा पनि फरक थियो । संशोधन विधेयकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी बाहेक अन्य दलका प्रमुख सचेतकलाई तलब ५५ हजार थियो भने इन्धन ७५ लिटरमात्रै थियो । अहिले उनीहरुको सुविधा पनि समान छ । विधायन समितिमा छलफलक्रममा समान सुविधा मागेपछि एउटै सुविधा कायम गरिएको विधायन समिति सभापति विष्णुप्रसाद लामिछानेले बताए । उनका अनुसार अब प्रमुख सचेतक सबैको सुविधा एउटै छ ।
सरकार र प्रदेशसभाको कामलाई थप प्रभावकारी बनाउन सुविधा विधेयक ल्याइएको गण्डकीका कानुनमन्त्री बिन्दुकुमार थापाले बताए । ‘थ्रेस होल्ड राख्नु हुँदैन र सम्मानजनक मर्यादा दिनुपर्छ भनेर पहिले पनि भनेको हो । यसपालि गठबन्धनको सरकारले मिलाएर लैजानुपर्ने भएको हुँदा समेट्नै पर्ने बाध्यता पनि रह्यो,’ उनले भने, ‘यसले आर्थिक भार त केही थपिन्छ । तर दैनिक काम पनि प्रभावकारी हुनेछ । नतिजा राम्रो हुन्छ । अनुगमन र कार्यक्षमतामा सकारात्मक रिजल्ट ल्याउँछ भन्ने विश्वास छ ।’ योसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदमध्ये ५० प्रतिशतभन्दा बढीले विभिन्न हिसाबले थप सुविधा पाएका छन् ।

एमालेको नोट अफ डिसेन्ट
पारिश्रमिकसम्बन्धी संशोधन विधेयकमा विधायन समितिअन्तर्गतका एमाले सांसदहरुले नोट अफ डिसेन्ट लेखेका छन् । अहिले सुविधा बढाउन नहुने माग गर्दै आएको एमालेका ४ सांसदले नोट अफ डिसेन्ट लेखेको संसद सचिवालयले जनाएको छ । सांसदहरु मनबहादुर गुरुङ, राजीव पहारी, प्रभा कोइराला, पुष्पा केसी भण्डारी र सावित्रा रानाले नोट अफ डिसेन्ट लेखेका हुन् । ‘कोभिड र बाढीले जनता आक्रान्त छन् । यस्तो बेला किन चाहियो सुविधा ?,’ उनले भने, ‘बाहिर सुविधा लिन्न भन्नेहरुले पैसाको बार्गेनिङ गरिरहे । सत्तामा लाज नहुँदो रहेछ । सबै मिलेर खाने रहेछ ।’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै