भौतिक उपस्थितिमै चित्रकला प्रतियोगिता

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७८
Npabsan drawing

पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजनामा छैटौं जिल्लास्तरीय चित्रकला प्रतियोगिता भएको छ । नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ विषयमा चित्र बनाउन दिइएको थियो ।
कार्यक्रम संयोजक सञ्जय पौडेलका अनुसार प्रतियोगितामा डायमण्ड मोडल स्कुलका आयान इकुवल प्रथम, कास्की मोडनाइज्डका मानस तामाङ द्वितीय, सिद्धार्थ लवडेलका आशीष तिमिल्सिना तृतीय तथा सिद्धी विनायकका सोसिमा घले र ज्ञानज्योति विद्याकुञ्जका रुपा भुजेल सान्त्वना भए ।
विजयीलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । भौतिक उपस्थितिमा भएको प्रतियोगिताको निर्णायकमा चित्रकार रमेश श्रेष्ठ र हरिराम जोजिजु थिए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले छिट्टै नै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताए । ‘भौतिक रुपमा विद्यालय सञ्चालन गर्न हामीले धेरै प्रयास थालेका छौं तर रिजल्ट आउन सकेको छैन’ उनले भने, ‘कोरोना सक्रंमित दर पनि घट्दै गएकाले कुनै न कुनै मोडालिटीमा छिट्टै स्कुल सञ्चालन गर्ने तयारीमा छौं ।’ एन प्याव्सनले विभिन्न विधामा प्रतियोगिता राखेर विद्यार्थीका फरकफरक क्षमता भएकाको प्रतिभा प्रस्फुटन गर्ने काम गरेको बताए ।
नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले भौतिक उपस्थितिमा नै प्रतियोगिता गरेर उदाहरणीय कार्य गरेको बताए । चित्रकार रमेश श्रेष्ठले प्रतियोगिताले ललितकला क्षेत्रमा इट्टा थप्ने काम गरेको बताए ।
नेशल प्याव्सान कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामबहादुर मोची, अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसी, सदस्य शिवराज पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width