एमबीलाई कौराहा पत्रकारिता पुरस्कार अर्पण

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७८
kaura news

पोखरा । नेपाल मगर पत्रकार संघ, कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०७८ बाट कास्कीका पत्रकार एमबी आस्था मगर पुरस्कृत भएका छन् ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति, नेपालद्वारा स्थापित सो पुरस्कारबाट एबीसी न्यूज टेलिभिजनका गण्डकी प्रदेश ब्युरो प्रमुखसमेत रहेका पत्रकार मगर पुरस्कृत भएका हुन् । मगरलाई गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले १० हजार नगद, ताम्रपत्र, फेटा र भाङ्ग्राले सम्मान गरेका थिए ।
संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजक तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, केन्द्रीय सदस्य नरमाया आलेमगर र संघका जिल्ला अध्यक्ष रूद्रबहादुर हितानमगर रहेको प्रतिभा छनाेट समितिले उनलाई चयन गरेको हो ।
पुरस्कार प्रदान गर्दै मन्त्री थापाले मगर जाति संस्कृतिको धनी भएको उल्लेख गर्दै नेपालमा जातीय सहिष्णुता कायम राख्न मगर जातिको अतुलनीय भूमिका रहेको बताए । सबै पत्रकार सम्बद्ध संघसंस्था र पत्रकारको सुझाव अनुसार आफू अघि बढ्ने भन्दै उनले श्रमजीवि पत्रकारको हितका पक्षमा प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।
नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशका अध्यक्ष खेम पुनमगरले आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षणका लागि समुदायले पहल गरे पनि राज्य पक्षबाट अझै उपेक्षामा परेको उल्लेख गरे । आदिवासी जनजातिका भाषा, धर्म, संस्कृति र भेषभूषा देशको सम्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष पुनमगरले तिनको संरक्षण र विकासका लागि राज्यले पर्याप्त ध्यान दिनुपर्ने भनाइ राखे ।
पुरस्कृत व्यक्तित्व पत्रकार एमबी आस्था मगरले आफू पुरस्कृत हुँदा सिंगो पत्रकारिता क्षेत्र पुरस्कृत भएको महसुस भएको बताए ।
नेपाल मगर पत्रकार संघ, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय सरीता तिमिल्सिना पंगेनी र त्रिभुवन पौडेलले महासंघले सबैको भावना समेटेर अघि बढ्ने बताए । कार्यक्रममा प्रतिभा छनाेट समिति संयोजक रूद्रबहादुर श्रीसमगर, राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालकी केन्द्रीय सदस्य नरमाया आलेमगर र संघका जिल्ला सह–सचिव सुरज थापामगर लगायतले बोलेका थिए । यसअघि सो पुरस्कारबाट नवलपुरकी कमला रानामगर, कास्कीका तिलकप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर पुरस्कृत भइसकेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width