खोप उपलब्ध गराउन व्यवसायीको माग

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७८
cm @khop

पोखरा । पोखराका उद्योग व्यवसायीले आफूहरुलाई कोरोना खोपको प्राथमिकतामा राख्न माग गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघले प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै संक्रमणको जोखिममा रहेका उद्योगी व्यवसायीलाई खोप प्राथमिकताको सूचीमा राख्न माग गरेको हो ।

संघ अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष पोखराको पर्यटनसहित समग्र व्यवसाय जोगाउने दायित्व सरकारकै भएको स्मरण गराउँदै व्यवसायीले खोप पाउँदा अर्थतन्त्र उकालो लाग्ने जिकिर पनि गर्दै ज्ञापनपत्र पनि बुझाएको हो । कोभिडसँगैको निषेधाज्ञाले सुस्ताएको व्यवसायलाई पुनर्जीवन दिन तथा दैनिक हजारौं व्यक्तिसँग सम्पर्क हुने व्यवसायीहरु खोपबाट बञ्चित हुँदा संक्रमण फैलन सक्ने खतराप्रति सचेत रहन पनि प्रदेश सरकारलाई सुझाएको छ ।

मुख्यमन्त्री पोखरेलले व्यवसायीसहित प्रदेशका सबै नागरिकलाई खोप दिलाउन सरकार निरन्तर लागिरहेको बताए । ‘सरकारको पहिलो प्राथमिकता खोप नै हो । देश सरकारले खोपकै लागि बजेट पनि विनियोजन गरेको छ,’ मुख्यमन्त्री नेपालीले भने, ‘तर प्रदेश तहबाट खोप खरिदको बाटो नखुल्दा र खोपको मात्रा केन्द्रले नै तोक्ने हुँदा सबैलाई समयमा खोप दिन नसकिएको हो ।’ उनले केन्द्र सरकारसँग केही बढी खोप मागिएको जानकारी दिँदै पर्याप्त खोप आउनासाथ प्राथमिकता तोकेर सबैलाई खोप दिने आश्वासन पनि दिए ।

गण्डकीका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले व्यवसायीको लागि खोप दिने कार्य सुरु गर्नेतर्फ प्रदेश सरकारले पहल गरेको जानकारी दिए । खोप प्राप्त भएपछि अर्थतन्त्रले गति लिन्छ भन्नेमा प्रदेश सरकार सहमत भएको उनको भनाइ थियो ।

संघ अध्यक्ष कोइरालाले प्रधानमन्त्री शेरबहादुृर देउवाले खोप प्राथमिकतामा राख्नु सकारात्मक भएको बताउँदै यथासक्य छिटो व्यवसायीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले व्यवसायीको लागि निश्चित मात्रामा खोप छुट्याएर पोखरा प्रदर्शनी केन्द्रमै खोप लगाउने व्यवस्था मिलाउन पनि सुझाए । हरेक कुराको लागि केन्द्र सरकार गुहार्नुपर्ने प्रवृत्तिको अन्त्य गराउनु प्रदेश सरकारको दायित्व भएको बताउँदै उनले खोपको लागि नजिकको सरकारसँग आग्रह गर्नु आफ्नो अधिकार भएको पनि स्मरण गरे । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराईले करदातालाई खोपको प्राथमिकतामा नराख्नु दुर्भाग्यपूर्ण भएको बताउँदै खोपको लागि प्रशासन गुहार्नुपर्ने बाध्यता हट्नुपर्ने माग गरे ।

बोर्डका अर्का पूर्व सदस्य बासु त्रिपाठीले सरकारले काठमाडौंवासीलाई खोपको प्राथमिकतामा राखेको र बाहिरका व्यवसायीलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई, पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेल, परिषद् सचिव रामचन्द्र शर्मा, पोउवा संघका कार्यलगायतले व्यवसायीको लागि कम्तीमा २० हजार डोज खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेका थिए ।

प्रतिनिधिमण्डलमा संघ उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्ष बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्री, कार्यसमिति सदस्य भरत केसी तथा हिरामणि पण्डितसहित लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width