पौडी प्रशिक्षक आनन्द

आदर्श समाज सम्वाददाता
असार १५, २०७८
Ananda Kunwar swimming (2)

पोखरा। पोखरा बैदामका आनन्द कुँवरलाई सानैदेखि पौडी खेलप्रति रुचि थियो । पौडिनका लागि अहिलेजस्तो स्वीमिङ पुल भने हुन्थेनन् । तैपनि आँगनमै फेवाताल थियो । एक दिन तालवाराही छेउमा पौडिनेक्रममा काठमाडौंबाट घुम्न आएका कोचको नजरमा उनी परे । र, पहिलोचोटि २०५२ सालमा पश्चिमाञ्चलबाट राष्ट्रिय खेल खेल्ने अवसर जु¥यो । २६ वर्षसम्मको खेलजीवनमा उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिए । आठौं साफमा उनले नेपाललाई पदक जिताउनसमेत सफल भए ।

२०६१ सालसम्म प्रतियोगितामा भाग लिएका उनी त्यसयता प्रशिक्षणमा व्यस्त छन् । यसबीचमा ४ सय जनाभन्दा बढीलाई पौडी सिकाइसकेको उनको दाबी छ ।

बाबु डिलबहादुर र आमा सन्तु कुँवरका सुपुत्रका रुपमा उनको जन्म २०३१ सालमा भएको हो । घरको आर्थिक स्थिति कमजोर नै थियो । डाइटको लागि र पोशाकको लागि उनले फेवामा डुंगासमेत चलाए । स्कुलेजीवनमा उनले फुटबल, भलिबल, एथलेटिक्स पनि खेले । तर जीवन पानीमै बित्यो । खेलमा उनको एचिभेन्ट हेर्दा आठौं साफमा नेपालका लागि कास्य पदक जिते भने भारतमा भएको १३ औं एशिया प्यासिफिक स्वीमिङ तथा डाइभिङ प्रतियोगितामा देशको प्रतिनिधित्व गरे । सातौं साफमै पनि उनी क्लोज क्याम्पमा पर्न सफल भएका थिए । यस्तै सन् १९९६ मै फेवातालमा भएको सातौं स्टार अन्नपूर्ण टाइथनमा सहभागिता, नवौं राष्ट्रिय पौडी प्रतियोगितामामा २ रजत र ३ कास्य, १० औं राष्ट्रिय पौडी प्रतियोगितामा ३ रजत र २ कास्य, चौथो राष्ट्रिय खेलकुदमा ३ रजत, दीपेन्द्र जन्मोत्सव कप पौडी प्रतियागितामा १ स्वर्ण र २ रजत हात पारे । बेगनासमा २०५५ मा सम्पन्न खुला पौडी प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भए ।

यसरी पौडी खेलमा उनको योगदानको कदर गर्दै २०५६ मा राजा वीरेन्द्रबाट गोर्खा दक्षिणबाहु पाँचौबाट विभूषित समेत भएका थिए । उनले फिना कोर्स, ओलम्पिक सोलिडारिटी कोर्स फर कोच एण्ड रेफ्री, फस्ट एड÷लाइफ गार्डिङ÷पिसीआर कोर्सलगायत थुप्रै तालिमसमेत लिएका छन् । घरको आर्थिक अवस्था सुधार्न उनी २०५८ सालपछि ३ वर्ष खाडी मुलुकमा पनि रोजगार गर्न गए ।

जीवन नै पौडीमा बिताएका कास्की पौडी संघका सचिव आनन्द कुँवरले गण्डकी बोर्डिङ स्कुलमा २ सय, पश्चिम पृतनामा ६०, फेवाताल र अन्य पुलहरुमा करिब २ सय जनलाई प्रशिक्षण दिइसकेको बताउँछन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट प्रशिक्षक विधामा मनोनीत कुँवरले मनोनयन भएकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए । यो विधामा उनीसहित फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी प्रतिष्पर्धामा छन् । तीमध्ये उत्कृष्टले असार १८ मा हुने स्पोर्टस् अवार्डमा नगद ३५ हजारसहित अवार्ड जित्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width