पोखरा । सांसद ‘हराएर’ संसद नचलाउन निवेदन बुझाएको विपक्षी पार्टीले संसद बैठक बोलाउन सभामुखलाई आग्रह गरेको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि प्रस्तावको समर्थक राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले सदन छलेपछि जनमोर्चाकै निवेदनमा बैठक अवरुद्ध भएको थियो । जनमोर्चाले आफ्नो सांसद एकाएक बेपत्ता भएको र खोजिदिन माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएको थियो । सोही निवेदनपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । सांसद शाही ‘बेपत्ता’ प्रकरणपछि कसिएको संसदको गाँठो फुकाउने प्रयास भने खासै भएको छैन ।
सांसद भेटिएको औपचारिक जानकारी पाएपछि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउने तयारी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले हराएका सांसद भेटिएको भन्दै बैठकको प्रस्ताव अघि सारेका छन् । जनमोर्चाले हराएका सांसद शाही भेटिएको पत्र सभामुखलाई आइतबार दिने सहमति चारै दलको संयुक्त बैठकपछि भएको छ । ‘सदन आउँछु भन्नुभएको माननीय ज्यू एकाएक हराउनुभयो । हामीलाई डर लागेर सभामुखलाई खोजिदिन पत्र दियौं,’ जनमोर्चाले भनेको छ, ‘अहिले उहाँ अस्पतालमा हुनुहुन्छ । हराएको मान्छे भेटियो । बैठक चलाउँदा हुन्छ ।’
दलकी सचेतक पियारी थापाले आइतबार भेटिएको जानकारी सहितको पत्र सभामुखलाई बुझाउने बताइन् । ‘मोटामोटी सोमबारदेखि बैठक डाक्न हाम्रो सुझाव छ,’ उनले भनिन्, ‘अरु सभामुखले नै समय मिलाएर बैठक बोलाउनु होला । त्यो उहाँको अधिकारको कुरा हो ।’
सभामुख अधिकारी पनि आफूले सांसद भेटिएको औपचारिक जानकारी पाएपछि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउने बताउँछन् । ‘मान्छे हराएको भनेर सदन स्थगित भएपछि त्यसलाई सुरु गर्न सांसद भेटिएको पत्र पनि पाउनुप¥यो नि,’ उनले भने, ‘पत्र पाउने बित्तिकै परामर्श समितिको बैठक बस्छ । त्यहि बैठकले संसदको कार्यसूची तयार गर्ने छ ।’ उनले सबैको सहमतिमा आगामी बैठकको कार्ययोजना बनाउने बताए ।
सत्तापक्ष भने सभामुखले कुनै सल्लाह नगरेको बताउँछ । ‘हाम्रो तर्फबाट केही भनाइ छैन । हामीले गरेको होइन । सदन स्थगित हामीले गरेको होइन, सल्लाह र सहमति पनि छैन । उहाँ नै जवाफदेही हुनुपर्छ,’ एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले भने, ‘बैठक बोलाउनुभयो भने के गर्ने भनेर तयारी पछि गर्छौं । स्थगित गरेको दिन देखि उहाँले हामीसँग संवाद गर्नुभएको छैन ।’ सभामुखले पार्टीगत धारणाबाट सदन स्थगित गरेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । ‘त्यो साझा पद हो । उहाँले आफ्नो मर्यादाभन्दा बाहिर गएर व्यवहार देखाउनुभयो,’ उनले भने, ‘यसले गलत नजिर स्थापित भएको छ । सांसद नआउँदैमा स्थगित गरेर कति दिन सम्भव हुन्छ ?’ उनले आफ्ना सांसदलाई अनुपस्थित गराएर निवेदन दिँदै बैठक स्थगित गराउँदै जाने सार्वजनिक वक्तव्य नै दिएका छन् ।
राजनीतिक पार्टीहरु आफ्नै पक्षमा बहुमत पु¥याउन जोडबल गरिरहेका छन् । ‘अब जे हुन्छ, संसदमै फेस गर्ने भनेका छौं । अविश्वास पास–फेल उतै हुन्छ,’ कांग्रेसका एक सांसद भन्छन्, ‘जनमोर्चाले पार्टीको निर्णय तलमाथि हुँदैन भनेको छ । अरु त एकै ठाउँ छौं ।’ जनमोर्चालाई अविश्वास प्रस्तावमा मतदान गर्ने दबाबका लागि केन्द्रीय नेताहरु नै पोखरा आएका छन् । शाही हराएको घटना छानबिन गर्न केन्द्रीय महासचिव मनोज भट्ट संयोजकत्वमा समिति गठन गरेको छ । भट्टले भने, ‘पहिले प्रस्तावमाथि मतदान हुन्छ । त्यसपछि छानबिन अघि बढ्छ । आन्तरिक रुपमा बुझ्ने काम भइरहेको छ ।’
सत्ता पक्षले सांसद शाहीलाई लुकाएको बाहिरी आरोप छ । शाही अविश्वास प्रस्तावका निर्णायक हुन् । उनी उपस्थित भएर पक्षमा मतदान गर्दा प्रस्ताव पास हुन्छ, विपक्षमा मतदान गर्दा वा अनुपस्थित हुँदा प्रस्ताव फेल हुन्छ । झिनो बहुमतको विश्वासमा वैशाख २ गते ३ दलको लिखित हस्ताक्षर र जनमोर्चाको अलिखित समर्थनमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
‘दबाब र अपहरण होइन’
राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाही ‘बेपत्ता’ भएपछि खुलेर कुरा नगरेका उक्त दलका नेता कृष्ण थापाले शनिबार उनका बारेमा बोलेका छन् । पोखराको चरक हस्पिटल र त्यसमा भर्ना भएका सांसद शाहीको फोटो राखेर उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘माननीय खीमविक्रम शाहीको स्वास्थ कोभिड १९ सम्बन्धी जानकारी । पूर्ण स्वास्थ्य लाभको कामना । ( दबाब र अपहरण नभएको ) ।’
वैशाख १५ गते गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने तय भएकै दिन सांसद शाही ‘बेपत्ता’ भएको भन्दै सोही दलकी सचेतक पियारी थापाले संसदमा निवेदन दिएकी थिइन् ।
त्यही निवेदनकै आधारमा सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक स्थगित गरेका थिए । विपक्षी दलको इशारामा सभामुखले बैठक स्थगित गरेको भन्दै मुख्यमन्त्रीसहित सत्तारुढ दलका सांसदको आरोप छ ।
वैशाख १४ गते संसद सचिवालय परिसरमा स्वाब दिएका सांसद शाहीले सोही दिन अर्को स्वाद दिएको खबर सार्वजनिक भएको थियो ।
वैशाख १५ गते बिहान सरकारी ल्याबको रिपोर्टमा कोरोना नेगेटिभ थियो । तर केहीबेरपछि निजी ल्याबबाट आएको रिपोर्टमा कोरोन पोजेटिभ देखिएको थियो ।
उनी पोखराकै चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका थिए ।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१