‘गण्डकी प्रदेशमा अक्सिजन अभाव हुँदैन’

धनबहादुर गुरुङ
वैशाख १६, २०७८
Oxygen

पोखरा । छिमेकी देश भारतलगायत नेपालको तराईकै केही जिल्लामा कोरोनाका बिरामीलाई अक्सिजन अभाव छ । अक्सिजन नपाएरै संक्रमितको मृत्यु पनि भएको छ । नेपालका तराईसहित पहाडकै सहरी क्षेत्र बढी भएका जिल्लामा कोरोना संक्रमितको संख्या उच्च छ । यसरी नेपालमा कोरोनाको दोस्रो भेरियन्टको प्रभाव बढ्दै गयो भने अक्सिजनको अभाव हुने आकलन गर्दै सरकारले त्यहीअनुसार तयारी थालेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अक्सिजन उत्पादन, व्यवस्थापन तयारी थालेको छ । सामान्य अवस्थामा भएकाहरु होम आइसोलेसनमै बस्ने गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्मा बताउँछन् । ‘सामान्य केसहरु होम आइसोलेसनमा बस्न उचित ठान्नुहुन्छ, उहाँहरु घरमै बसिरहनुभएको छ,’ उनले भने, ‘क्रिटिकल केसमा अक्सिजन दिने व्यवस्था गर्ने सोचिरहेका छौं ।’ संक्रमणदर बढी देखिएको क्षेत्रहरु विद्यालय, क्याम्पस बन्द गरेपछि केही हदसम्म कम हुनेमा उनी विश्वस्त छन् ।

गण्डकीमा अक्सिजनको अभाव नहुने डा. शर्माको दाबी छ । ‘प्रदेशमा सरकारी र निजी क्षेत्रबाट अक्सिजन उत्पादन भइरहेको छ,’ शर्माले भने, ‘अक्सिजन उत्पादन केही जिल्लामा सुरु भइसकेको छ । १ हजार १ सय ६५ सिलिन्डर प्रदेशमा प्रत्येक दिन उत्पादन हुन्छ ।’ प्रदेशमा अक्सिजनको कुनै अभाव भएको छैन तर अब भने चनाखो हुनुपर्ने समय आएको उनले बताए । भारतलगायत तराईका जिल्लामा अक्सिजन अभाव भएको खण्डमा गण्डकी प्रदेशबाट पठाउने सम्भावना हुने शर्माको भनाइ छ ।

प्रदेशको सबै जिल्ला अस्पतालमा ग्यास प्लान्ट निर्माण गरिसकिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माले जानकारी दिए । ‘प्रदेशका जिल्ला अस्पतालमा ग्यास प्लान्ट तयार भइसकेका छन्,’ उनले भने, ‘मनाङमा उत्पादनमा हुन केही समय लाग्नेछ भने अरु जिल्लामा उत्पादन थालिएको छ ।’ बेनी अस्पताल, स्याङ्जा अस्पताल र नवलपुर जिल्ला अस्पतालमा ग्यास रिफिल गर्ने काम भएको उनले जानकारी दिए ।

प्रदेशकै ठूलो गण्डकी अस्पतालमा भने अझै अक्सिजन प्लान्ट स्थापना हुन सकेको छैन

संघीय सरकार मातहत सञ्चालनमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भने ग्यास प्लान्ट नै नभए पनि टेन्डरमार्फत बाहिरबाट खरिद गरेर अभाव हुन नदिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा क्षेत्रीय अस्पतालका निर्देशक सह प्राडा अर्जुन आचार्यले बताए । ‘अक्सिजन प्लान्टको लागि टेन्डर भइसकेको छ, हामीले अभाव हुन दिने छैनौं,’ उनले भने । लामो समयदेखि अस्पतालमा ग्यास प्लान्ट बनाउने योजना भए पनि ढिलो भएको आचार्यको भनाइ छ । टेन्डर भएको ५/६ महिना हुँदा पनि निर्माण कम्पनीले ढिला गरेको उनले बताए ।

कालीगण्डकी अक्सिजन ग्यास प्रालिका निर्देशक प्रेम गिरीले पोखरामा अक्सिजन अभाव हुन नदिने तयारीमा रहेको बताए । पछिल्लो समय अक्सिजनको माग बढेको गिरीको भनाइ छ । ‘हामीले केही समय अगाडि १ सयको हाराहारी अक्सिजन बिक्री गरिन्थ्यो’, उनले भने, ‘आजभोलि १ सय ६० को माग हुने गरेको छ, यो हिसाबले हामीले पनि तयारी गरिरहेका छौं ।’ बाहिर हल्ला चलेको जस्तो सिलिन्डरको अभाव नरहेको उनको भनाइ छ । पहिले घरमा लगेर राखेकाको सिलिन्डरको खोजी गरिरहेको र धेरै मात्रामा माग आएको खण्डमा चाहिने जति खरिद गर्न आग्रह गरेको उनको भनाइ छ ।

आइसोलेसनका लागि पनि तयारी तीव्र पारिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले बताए । आइसोलेसनका लागि प्रदेशका जिल्ला अस्पतालमा कुरा गरिसकेको शर्माले बताए । तयारी स्वरुप जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ३५ बेड तयारी अवस्थामा राखिएको छ । नवलपुरको जिल्ला अस्पताललाई गाह्रो पर्ने भएका कारण भरतपुर अस्पतालसँग सहकार्य गरिने उनले जानकारी दिए ।
कास्कीमा सरुवा तथा संक्रामक रोग अस्पतालको ५० बेड भरिने अवस्था आएका कारण पश्चिामाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयारी गर्न लागिएको उनले जानकारी दिए । ‘संघीय सरकार मातहतको गण्डकी हस्पिटलमा कोरोनाका बिरामीको चाप कम भएकाले रेट्रोफिटिङ गर्न लगिएको थियो,’ उनले भने, ‘अब अवस्था जटिल हुँदै गएको छ, हामी त्यहाँ पनि सहकार्य गरेर १ सयको हाराहारीमा आइसोलेसन तयार गर्नेछांैं ।’ बागलुङ, नवलपुर र कास्कीबाट पिसिआर टेस्ट भइरहेको उनले बताए ।

कास्कीमा एकैदिन १ सय ७३ मा कोरोना पोजेटिभ

कास्कीमा बुधबार थप १ सय ७३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अद्यावधिक विवरण अनुसार कास्कीमा मात्र १ सय ७३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा एकैदिन ३ सय ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रदेशमा कुल १ हजार १८ जनाको कोरोना परिक्षण गरिएकोमा कास्कीमा १ सय ७३, गोरखामा ४६, स्याङ्जामा ४१ बाग्लुङमा १७, म्याग्दीमा ११, तनहुँ र नवलपुरमा ७÷७, पर्वतमा ५ र मुस्ताङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशमा बुधबारसम्म १ हजार २ सय ८९ सक्रिय संक्रमित छन् ।

प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका ११ की ६१ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा १३ गते राति मृत्यु भएको हो । मृतक महिलामा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै गोरखा नगरपालिका १४ का ५५ वर्षीय पुरुषको चितवनको भरतपुर अस्पतालमा उपचारकै क्रममा ज्यान गएको छ । उनमा बैशाख ७ गते कोरोना पोजेटिभ देखिएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १३ हजार ८ सय ७९ पिसिआर परीक्षणबाट देशभर ४ हजार ७ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९ सय ५५ एन्टिजेन परीक्षणमा १ सय २३ जनामा पोजिटिभ देखिएको छ । पिसिआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ८ सय ९७ पुगेको छ । २४ घन्टामा ७ सय ७३ जना डिस्चार्ज भएका छन् । सोमबारदेखि बुधबारसम्म ४० हजार ९५१ पिसिआर परीक्षणमा १२ हजार ५८० मा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

Related News

सम्बन्धित समाचार

hero news full width