कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७७
corona graph

पोखरा । नेपालमा गएको २४ घन्टामा ३ सय ६७ जनामा कोभिड–१९ पुष्टि भएको छ । ३ हजार १ सय २५ पिपिआर र ६ सय ९० एन्टिजेन परीक्षणमा सो संख्यामा कोरोनाका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पिसिआर विधिबाट परीक्षण गरिएका ३ सय ३ र एन्टिजेन परीक्षण गरिएका ६४ गरी ३ सय ६७ जनामा संक्रमण पुष्टि भएको बताए । मुलुकभर अझै पनि आइसोलेसनमा ८९ मध्ये १५ भेन्टिलेटरमा छन् । हाल सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ६१ छ । बिहीबारदेखि आइतबारसम्म ४ दिन अवधिमा १४ हजार ७ सय ३४ पिसीआर परीक्षण भएकोमा १ हजार २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । यसबीचमा ४ सय ९८ जना निको भइ घर फर्के ।

गत फागुन २८ मा २ हजार ५ सय परीक्षणमा ४८ जनामात्रै संक्रमित भेटिएकोमा ठिक १ महिनापछि ३ हजार ५ सय ३२ परीक्षणमा ३ सय ३७ मा कोभिड–१९ देखा परेको मन्त्रालयले जनाएको छ । यसरी एकै महिनामा संक्रमणको ग्राम चुलिन गएको छ ।

यता, गण्डकी प्रदेशमा पनि गएको २४ घन्टामा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय ११ पिसिआर परीक्षणमा ३९ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यसबीचमा कास्कीमा १ सय ३३ परीक्षणमा ३४ जना संक्रमित फेला परेका छन् । बागलुङ र स्याङ्जामा २–२ र पर्वतमा १ जना संक्रमित फेला परेका छन् ।

पछिल्लो साताको तथ्यांक हेर्दा १ हजार २ सय ५७ परीक्षणमा २ सय ४५ जना कोभिड–१९ का बिरामी देखिएका छन् । तीमध्ये १ सय ७४ निको भइ फर्केका छन् भने अझै ४ सय २८ जना सक्रिय संक्रमित छन् । प्रदेशमा ३ सय ९२ जना होम आइसोलेसनमै छन् ।

अन्य जिल्लाको तुलनामा कास्कीमा संक्रमणदर उच्च छ । कास्कीमा ३ सय ३६ जना सक्रिय संक्रमित छन् । बागलुङमा ४७, म्याग्दीमा १८, तनहुँमा १०, नवलपुर र स्याङ्जामा २/२ र पर्वतमा ३ जना छन् । सरकारका अनुसार देशभर संक्रमणबाट मुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत छ ।

यता, पोखराको संक्रामक तथा सरुवा रोग अस्पतालमा अघिल्लो महिनाको तुलनामा बिरामीको संख्या बढ्दै गएको छ । गत माघमा २९, फागुनमा ३२ र चैत महिनाको हालसम्म ४१ जना कोरोनाका बिरामी अस्पताल भर्ना भएको अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले जानकारी दिए । हाल पनि ८ जना कोरोना संक्रमितका बिरामीको उपचार भइरहेको छ । तीमध्ये ६ पुरुष र २ महिला छन् ।

ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुनेहरुले तुरुन्तै स्वास्थ्य जाँच गर्नुपर्ने डा. गौचनले सुझाव दिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले पनि कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ ।

नयाँ प्रजातिको कोरोना बढेको भन्दै विद्यालय कम्तीमा ३ साता बन्द गर्न प्रस्ताव गरेको छ । पछिल्लो समय कोभिड–१९ संक्रमण ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेको भन्दै सिसिएमसीको शनिबारको बैठकले सो प्रस्ताव गरेको जनाएको छ । सो प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरे विद्यालय पुनः बन्द हुनेछ । यसबारेमा सरकार आधिकारिक निर्णय भने गरिसकेको छैन । सरकारले सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नियमितरुपमा आग्रह गरिरहेको छ ।

केन्द्रले जिल्लाका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने, लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने गरी काम अघि बढाउने निर्णय पनि गरेको छ । छिमेकी मुलुक भारतमा दिनप्रतिदिन कोरोनाको संक्रमण दर ह्वात्तै बढिरहेको छ । भारतमा पछिल्लो तथ्यांकमा एकै दिन १ लाख ५२ हजार संक्रमित भेटिएका छन् । भारत–नेपाल खुला सिमानाका कारण त्यहाँबाट मानिस सजिलै नेपाल आउन सक्ने हुँदा विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । उनीहरुमा नयाँ भेरियन्टसहितको संक्रमण देखिएकाले अझै चनाखो हुनुपर्ने मन्त्रालयको भनाइ छ ।

नयाँ सालपछि निर्णय गर्छौं
थानेश्वर गौतम
प्रमुख जिल्ला अधिकारी, कास्की

हामीहरु अझै पर्ख र हेरको अवस्थामा छौं । अब नयाँ सालपछि यसबारेमा निर्णय गर्नेछौं । सरकार तथा स्वास्थ्य मन्त्रालयले गरेका निर्देशनहरु हामीलाई जानकारी छ । त्यही अनुरुप काम गरिरहेका छौं । कोभिड–१९ न्यूनीकरणका लागि मापदण्ड पालना भए नभएको बारेमा नियमित रुपमा अनुगमन भइरहेको छ । सरोकारवाला निकायसँग छलफल गरेर डिसिएमसीको बैठक सायद वैशाख २ गते बस्छ होला । तत्कालै लकडाउन गर्ने भन्ने हाम्रो सोचाइ छैन । विगतको अभ्यास पनि हामीहरुले देखिसक्यौं । अनावश्यक भिडभाड नगर्न हामीले अनुरोध गरिसकेका छौं । त्यस किसिमका कार्यक्रम नगर्न सुझाव दिएका छौं । पहिले नै निर्धारित कार्यक्रम बाहेक अब भिडभाड हुनेखालका कार्यक्रम नगर्न आग्रह गरेका छौं ।

Related News

सम्बन्धित समाचार

hero news full width