उपचारका लागि शिविरको भर

सविन लामिछाने
माघ ५, २०७७
health camp (2)

दमौली । लमजुङ दुईपिप्लेकी सानुमाया गुरुङ उमेरले ५५ नाघिन् । उनमा तल्लो पेट दुख्ने समस्या छ । जँचाउन उनी पोखरा जान खोजेकी थिइन् । तर बाटो छेक्यो खर्चले । उनी अहिले उपचारका लागि शिविरको भर परेकी छन् । ‘ठूलै रोग लाग्यो कि भनेर डर लाग्छ । तर के गर्नु उपचार गर्न घरमा पैसा छैन,’ उनले भनिन्, ‘अब अन्तिम आशा शिविरै हो । रोग पत्ता लाग्छ कि ?’

सानुमायालाई मात्रै होइन उनकी बुहारीलाई पनि त्यस्तै समस्या छ । सासु बुहारीलाई रोग लागेको छ कि छैन भनेर आर्थिक अवस्था कमजोर भएका कारण थाहा हुन सकेको थिएन । तर लामो समय रहँदै आएको उनीहरुभित्रको डर भने शनिबार हटेको छ । व्यास नगरपालिकाले गरेको महिलाहरुको पाठेघरको क्यान्सर सम्बन्धी निशुल्क शिविरमा दुबै जनाले उपचार गराए ।

खानपिनका कारण उनीहरुमा समस्या भएको चिकित्सकले बताए । जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले भनिन्,‘आर्थिक अभावले ग्रामीण भेगका महिला स्वास्थ्य समस्या पालेर बसेका छन्,’ उनले अघि भनिन्, ‘स्वास्थ्य सम्बन्धी समस्या घटाउँदै उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य शिविरबाट समस्याको पहिचान हुने र थप उपचारका लागि स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माण हुन्छ ।’

व्यास नगरपालिका ७ कलेस्तीमा भएको शिविरमा १ सय १९ जनाले पाठेघरको क्यान्सर सम्बन्धी परीक्षण गराए । जसमध्ये १ महिलामा पाठेघरको क्यान्सर पत्ता लागेको छ । नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रमोद सोतीका अनुसार शिविरबाट २५ जनाको पाठेघर भित्र घाउ भएको र ७ जनाको पाठेघर खस्ने गरेको समेत पाइएको बताए । पाठेघर खस्ने समस्या भएकामध्ये ५ जनालाई रिङ राखिएको उनले बताए । उनले भने, ‘पाठेघरमा क्यान्सर भएको महिलालाई निशुल्क उपचार हुने अस्पतालमा अपरेसनको लागि पठाइन्छ ।’

उनले अघि भने,‘पाठेघर खस्ने समस्या भएकामध्ये २ जनालाई शारिरीक व्यायाम गर्न सुझाव दिएका छौं । ’ उनले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउँदै सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान र सरसफाइमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेकोे बताए । बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको छ । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रसुति रोग विशेषज्ञ डा. सिर्जना शर्माको नेतृत्वको टोलीले उपचारमा खटेको थियो । टिममा नर्सिङ अधिकृत राधिका रेग्मी, अस्पताल नर्सिङ निरिक्षक पुष्पा महर्जन लगायत ५ जनाको टिम र व्यास नगरपालिकाका स्वास्थ्य कर्मचारीहरूको सहभागिता थियो ।

शिविरको उद्घाटन नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले ज्येष्ठ नागरिक सेतीमाया केसीलाई बिरामी उपचार पुर्जी दिएर गरेका थिए । उनले पाठेघरको मुखको क्यान्सरबारे सचेत हुँदै बेलैमा उपचार गराउन यस्ता शिविरहरूले प्रभावकारी हुने बताए । नगरपालिकाले विगतका वर्षदेखि नै पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क शिविर गर्दै आएको र अति सम्वेदनशील अवस्थामा रहेका महिलाको थप उपचार समेत नगरपालिकाले नै गरिदिने धारणा राखेका थिए । शिविरमा कलेस्ती उपत्यका, पाथ्रा, चिन्तुटार, गजांैडे लगायत विभिन्न स्थानका सेवाग्राहीको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width