घरघरमा पुगेर संक्रमितको खोजी

साधन राम्जाली
कार्तिक २३, २०७७
DSC_0010

म्याग्दी, २३ कार्तिक । समुदायस्तरमा कोरोना संक्रमण बढ्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीमा कोरोना संक्रमितको खोजी अभियान सुरु गरिएको छ । बेनी नगरपालिका, डिसिसिएमसी र स्वास्थ्य कार्यालय सहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामुलक सन्देश प्रवाह गर्ने अभियानको थालनी गरेको हो ।

बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल सहित स्वास्थ्यकर्मीको टोलीले घर–घरमा पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने, जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न सपथ खुवाउने लगायतका सचेतनामुलक कार्यक्रम गरेको छ ।

विभिन्न कारणले कतिपय संक्रमितहरु स्वास्थ्यकर्मीको पहुँच भन्दा बाहिर रहेको हुनसक्ने भएकाले जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर प्रत्येकको नागरिकको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिन अभियानको थालनी गरिएको बेनी नगरपालिकाका मेयर श्रेष्ठले बताए । अभियानका क्रममा घरघरमा संक्रमित छन् कि छैनन् । संक्रमण लुकाएर बसेका छन् कि भनेर खोजी गर्ने अभियान चलाइएको प्रजिअ अधिकारीले बताए । यो अभियान नेपालमै पहिलो भएको उनको भनाई छ ।

‘नागरिकले संक्रमण लुकाएर बसेका पनि हुनसक्छन्,’ प्रजिअ अधिकारीले भने ‘बजार क्षेत्रमा संक्रमणको दर बढेकाले अभियान मार्फत संक्रमितको खोजी गरिने छ ।’ नागरिकलाई सचेत बनाउने र कोरोना भाइरस रोकथाममा नागरिकलाई परिचालन गर्ने अभियान भएको प्रजिअ अधिकारीले बताए । नगरका वडा नम्बर ७ र ८ मा दुई टोली बनाएर प्रत्येकका घरघरमा पुगिने नगरपालिका स्वास्थ्य संयोजक लीला गौतमले जानकारी दिइन् । घरघरमा पुगेका स्वास्थ्यकर्मीको टोलीले संक्रमित भए नभएको, जनस्वास्थ्यका मापदण्डहरु पालना गरे नगरेको र मापदण्ड पालना गर्ने वारेको प्रतिवद्धता सहतिको सपथ खुवाइने उनले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width