पोखराकी एक युवतीसहित गण्डकीमा थप ३ संक्रमितको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७७
kawasoti corona

सांकेतिक तस्वीर ।

पोखरा, २२ कात्तिक । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण गण्डकी प्रदेशमा थप ३ जनाको मृत्यु भएको छ । तीमध्ये पोखराकी एक जना युवती छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार यो सहित प्रदेशमा कुल मृत्यु हुनेको संख्या १ सय ३ पुगेको छ ।

मृत्यु हुनेमा पोखरा २७ की २९ वर्षीया युवती हुन् । उनको पोखराको चरक मेमोरियल अस्पतालमा शुक्रबार दिउँसो साढे २ बजे मृत्यु भएको हो । उनलाई गत कात्तिक १६ मा कोरोना पुष्टि भएको थियो ।

यस्तै, स्याङ्जा पुतलीबजार ८ का ७३ वर्षीया महिलाको पनि कोरोनाबाटै ज्यान गयो । उनको शनिबार पोखराको फेवासिटी अस्पतालमा उपचारक्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत कात्तिक १९ मा कोरोना पुष्टि भएकी ती महिलामा उच्च रक्तचाप समस्या समेत थियो ।

नवलपुर जिल्लाको गैडाकोट १२ का ८२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचार क्रममा शुक्रबार नै मृत्यु भएको छ । कात्तिक ३ मा आन्द्रामा समस्या भई अस्पताल भर्ना भएका ती वृद्धलाई उपचारक्रममा कात्तिक १८मा कोरोना संक्रमण देखिएको थियो ।

गण्डकीमा थप २ सय ७८ जना कोरोना सङ्क्रमित थपिए

यस्तै गएको २४ घण्टामा गण्डकीमा थप २ सय ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कूल सङ्क्रमितको संख्या ९ हजार १७ पुगेको छ । तीमध्ये सक्रिय संक्रमित ४ हजार ६२ जना छन् ।

सो अवधिमा १७ जना निको भए । प्रदेशमा हालसम्म निको हुनेको संख्या ४ हजार ८ सय ५२ पुगेको छ । गएको २४ घण्टामा ९ सय ३८ जनाको पीसीआर परीक्षण भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width