सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो

रासस
असाेज १६, २०७७

काठमाडौँ, १६ असोज । नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट मनसुनको बहिर्गमन शुरु भएको जानकारी दिएको हो ।

गत जुन १० अर्थात् जेठ ३० गतेदेखि शुरु भएको मनसुन अक्टोबर १ अर्थात् असोज १५ गतेदेखि बाहिरिन थालेको महाशाखाले बताएको छ । नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का केही भूभागबाट मनसुन पूर्णतया बाहिरी सकेको मौसमविद् विभूती पोखरेलले बताए ।

अहिले बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र अझै सक्रिय रहेका कारण नेपालको बाँकी भूभागबाट मनसुन बाहिरिन केही दिन लाग्ने उनले जानकारी दिए । वाग्मती प्रदेश, प्रदेश १, २ र गण्डकी प्रदेशमा पनि वर्षा निकै कम भएकाले छिट्टै यी क्षेत्रबाट पनि मनसुन बाहिरिने सङ्केत देखिएको महाशाखाले जनाएको छ । पश्चिमी वायु सक्रिय भएसँगै मनसुनले विदा हुने लिने गर्छ ।

महाशाखाले जनाएअनुसार आगामी ३ दिन प्रदेश, १, २, वाग्मती, गण्डकी प्रदेश र पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ । मनसुन शुरु भएयता जेठ ३० गतेदेखि हालसम्म बाढी, पहिरो, चट्याङलगायतका विपद्मा ठूलो जनधनको क्षति भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार मनसुन शुरु भएदेखि हालसम्म बाढी, पहिरोसहितका विपद्मा परी ३ सय ६७ जनाको मृत्यु भएको छ । एकसय जना बेपत्ता छन् । साथै विपद्का कारण ३ सय १७ जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर मात्र २ सय ९३ जनाको ज्यान गएको छ । अझै बेपत्ता ६४ जनाको खोजी भइरहेको छ । अन्य २ सय २२ जना घाइते भएका थिए । त्यस्तै बाढीबाट ३९ जनाको मृत्यु भएको छ । बाढीमा परी ३६ जना बेपत्ता र नौ जना घाइते भएका थिए । त्यसैगरी चट्याङ लागेर ३५ जनाको मृत्यु र ८६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

विपद्मा भएका जनधनसहितको भौतिक क्षतिको पूर्ण विवरणको विश्लेषण प्राधिकरणले गरिरहेको छ । अन्य भौतिक क्षतिको विवरण मनसुन पूर्णरूपमा बाहिरिइसकेपछि सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ ।…
  • लुम्लेमा असिनाले क्षति

    आदर्श समाज सम्वाददाता कार्तिक २१, २०८१
    हेमजा । सोमबार दिउँसो परेको असिनाले अन्नपूर्ण–६, लुम्लेको धानवालीमा क्षति पुर्‍याएको छ । असिनाले त्यस क्षेत्रको पात्लेखेत, सीम, विरौटा, मुडी…
  • भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

    रासस कार्तिक १७, २०८१
    काठमाडौं । यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
  • देशभर चिसो बढ्दै

    रासस असाेज २९, २०८१
    काठमाडौं ।  देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले…
  • हल्का वर्षाको सम्भावना

    रासस असाेज २८, २०८१
    काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…

hero news full width