परेवा डाँडामा परेवाको जोडी

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७७
parewa (1)

दमौली । व्यास–१० स्थित ऐतिहासिक परेवा डाँडामा परेवाको एक जोडी मूर्ति निर्माण कार्यलाई शुरु गरिएको छ ।

परेवाडाँडाको पहरोमा परेवाहरु बस्ने गरेको र पछिल्लो समय गुलेली र बम हान्ने जस्ता कार्यले विस्थापित भएपछि त्यसको संरक्षण गर्न लागेको हो । उक्त वडाभित्रका दुम्सीचौर, कुमालटारी र पाथ्राघाटस्थल ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेकोले त्यसको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । जुन स्थानमा जे चिजको प्रख्यात थियो, त्यसैलाई जीवन्तता दिने गरी कार्य थालिएको हो । उनले भने, ‘ऐतिहासिक स्थलहरुको नाम नमेटिने गरी पहिलो चरणमा परेवाको जोडी बनाउन शुरु गरिएको छ । मूर्तिकार ल्याएर उक्त स्थानमा एक परेवा जोडी बनाउन शुरु गरिएको र जोडीको मूर्ति निर्माणमा करिब ६ लाख खर्च हुने अनुमान गरिएको उनले बताए । उक्त परेवाको ७ फिट लामो र करिब ३ देखि ४ टनसम्मको तौलको निर्माण गरिएको छ ।

वडाबाटै सम्बोधन गर्ने गरी ऐतिहासिक ठाउँहरुको संरक्षणको लागि बजेट बिनियोजन नगरिएपनि बैठकबाट निर्णय गरिएको हो । उनले भने, ‘हाल एक वटा परेवाको मूर्ति निर्माण गर्ने कार्य सकिए पनि रंगरोगन गर्ने काम बाँकी रहेको छ ।’
वडामा रहेको ऐतिहासिकस्थलरुपमा दुम्सीचौरमा दुम्सी चरिरहेको, कुमालटारीमा कुमाल जातिले आरी, हुक्का या घैँटो बनाइरहेको, पाथ्राघाटमा माझीले डुङ्गा चलाएको बनाउने गरी निर्णय गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।

यो वर्ष परेवाडाँडामा परेवा जोडी र दुम्सीचौरमा दुम्सी चरिरहेको निर्माण गर्ने योजनाका साथ काम अघि बढाइएको छ । परेवाडाँडामा सडकको मापदण्ड कटाएर परेवाको मूर्ति निर्माण गरिएको उनले बताए ।

बोटे, कुमाल र दरै जातिको बाहुल्यता रहेको छ । विस्थापित हुँदै गएको ऐतिहासिक स्थलहरुको संरक्षण गरी भावी सन्ततीहरुलाई यी स्थानबारे पहिचान गराउन सहज बनाउने लक्ष्य रहेको सो वडा कार्यालयले जनाएको छ ।

वडाभित्र रहेका यस्ता ऐतिहासिक,धार्मिक र सांस्कृतिक क्षेत्रहरुको पहिचान गरी संरक्षण गर्न व्यास नगरपालिका कार्यालयले प्राथमिकतामा राखेर काम गर्दै आएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकाभित्रका यस्ता सम्पदाहरुको संरक्षण एवं सम्बद्र्धन गर्न सकिए आन्तरिक एवं बाह्य पर्यटकहरुको आगमनमा वृद्धि गर्न सकिने विश्वास गरिएको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width