दाताको भरमा मिर्गौला उपचार

सविन लामिछाने
भाद्र ४, २०७७
data

दमौली । पछिल्लो समय नेपालमा मिर्गौला रोगीको संख्या बढ्दै गइरहेको छ । रोगीको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा उपचार खर्च महँगो हुँदा मिर्गौलापीडितहरु दाताको भर पर्नुपर्ने अवस्था छ ।

आर्थिक अवस्था कमजोर भएका पीडितले उपचार गर्न पाएका छैनन् । विभिन्न जिल्लामा सरकारले मिर्गौलापीडितहरुको लागि निःशुल्क डायलासिस व्यवस्था गरेको छ । यसैबीच तनहुँको दमौली अस्पतालमा किड्नीका समस्या भएका सर्वसाधारणका लागि निःशुल्क डायलासिसको व्यवस्था गरेको छ । तर अस्पतालमा पर्याप्त मसिन र आवश्यक ठाउँ नहुँदा सबै पीडितले डायलासिस गर्नुपर्ने बिरामीले सकिरहेका छैनन् । दमौली अस्पतालमा अहिले सातामा ७२ जना बिरामीले निःशुल्क डायलासिस सेवा लिइरहेका छन् । जिल्लामा क्षमताभन्दा बढी मिर्गौलापीडित भएकाले सबै बिरामीले निःशुल्क सेवा पाउन सकेका छैनन् । जसकारण उनीहरु निजी अस्पतालमा ४ हजारभन्दा बढी रूपैयाँसम्म खर्च गरेर उपचार गराउन बाध्य छन् ।

शुक्लागण्डकी ११ का हेमराज तिवारीको दुवै मिर्गाैला फेल भएको २ वर्ष भयो । उनले दमौली अस्पतालमा रहेको डायलासिस गर्न ठाउँ नपाएपछि महँगो रकम तिरेर पोखरामा हप्तैपिच्छे उपचार गर्ने गरेको बताए । उनले भने,“दमौली अस्पतालमा पुगेको थिएँ । ठाउँ रहेनछ अनि पोखरामा गर्छु ।”

उनले थपे, “महँगो रकम तिरेर उपचार गर्नुपर्ने बाध्यता छ । अहिले घरको आयस्रोत पनि छैन, त्यही हो सहयोगीहरुको भरमा उपचार गरिहेको छु ।”

उनीमात्र होइन, लमजुङकी अस्मिता सुवेदीको गुनासो पनि उस्तै छ । भनिन्,“कहिले पोखरामा गएर उपचार गर्छु, कहिले चितवन ।”

तनहँुमा रहेका मिर्गौलापीडितहरु पनि सहयोगीको भरमा औषधी किन्ने गरेका छन् । व्यास ४ का रामलाल श्रेष्ठले दमौली अस्पतालबाट निःशुल्क डायलासिस गरिरहेका छन् भने दाताको भरमा औषधी किन्ने गरेका छन् ।

त्यस्तै व्यास ११ बेल्टारीका ४२ वर्षीय हरिबहादुर आलेको अवस्था पनि त्यस्तै छ । उनको करिब ४ वर्ष भो मिर्गौला फेल भएको तर दाताकै भरमा आवश्यक पर्ने औषधी किन्ने गरेको सुनाए ।

व्यास १४, कुलुङकन २६ वर्षीय सन्तोष रानाको १ वर्षदेखि दुवै मिर्गौला फेल भएपछि दाताको भरमा उपचार गरिरहेका छन् ।

मिर्गौला खराब भए बिरामीसँग २ विकल्प हुन्छन् । त्यो हो, प्रत्यारोपण वा कृत्रिम रूपमा रगत शुद्धिकरण । प्रत्यारोपणका लागि दाता लगायत विभिन्न अनुकूलता मिल्नुपर्ने र महँगो समेत पर्ने भएकाले अधिकांशले कृत्रिम रूपमा रगत शुद्धिकरण अर्थात् डायलासिस नै रोज्ने गरेका छन् । तर जिल्लामा रहेका अस्पतालमा नयाँ बिरामीको डायलासिसका लागि पर्याप्त उपकरण तथा जनशक्ति नहँुदा बिरामीले पीडा भोग्नु परिरहेको हो ।

दमौली अस्पतालमा अहिले ९ मसिनमात्र छन् । एउटालाई स्ट्याण्न्डबाई राखेर ८ मसिनले बिरामीलाई सेवा प्रदान गर्दै आएको अस्पताल प्रशासनको भनाइ छ । एक बिरामीले हप्तामा दुईदेखि तीन पटकसम्म डायलासिस गर्नुपर्छ ।

बिरामीको अवस्था हेरेर दैनिकसमेत डायलासिस गर्नुपर्ने अवस्था रहन्छ । नौ ओटामात्रै मेसिनले सबै बिरामीलाई सेवा पुर्‍याउन गाह्रो परेको उक्त प्रशासनको इञ्चार्ज प्रेमसिं गुरुङले बताए । अस्पतालले हाल ३ सिफ्टमा सातामा ५० भन्दा बढी बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । चिकित्सकका अनुसार, नेपालमा वर्षेनी मिर्गौलाका ३ हजार नयाँ बिरामीहरु थपिने गरेका छन् । तर पर्याप्त उपकरण र जनशक्ति नहुँदा बिरामीको माग धान्न अस्पतालहरुलाई धौ–धौ भइरहेको छ । मिर्गौलाका बिरामीले हप्ताको १ देखि ४ पटकसम्म डायलाइसिस गराउनुपर्ने हुन्छ । चिकित्सकले हप्ताको २ देखि ३ पटकसम्म डायलाइसिस गर्न सुझाव दिन्छन् । तैपनि पर्याप्त मसिन अभावसँगै निजीमा चर्को मूल्य तिर्नुपर्ने बाध्यता कहिले हट्ला ?

Related News

सम्बन्धित समाचार

hero news full width