सङ्क्रमित परिवारका कम्तीमा दुई सदस्यको कोरोना परीक्षण गर्न निर्देशन

रासस
श्रावण २४, २०७७
covid-vaccine-microscope.-Coronavirus-2019-nCoV-COVID-shut

महेन्द्रनगर, २४ साउन |  सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए । ‘कोरोना पोजेटिभ भएर होम क्वारेन्टिनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएका छौँ’, उनले भने, ‘सोहीअनुसार जनस्वास्थ्य कार्यालयले स्वाब सङ्कलन शुरु गरिसकेका छन् ।’

शुक्रबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी ४० हजार ५३७ को पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको निर्देशनालयले जनाएको छ । जसमध्ये चार हजार ७६० जना कोरोना पोजेटिभ देखिएका छन् । सङ्क्रमित देखिएकामध्ये ७० प्रतिशत बिरामी निको भएर घर फर्किसकेको अवस्था रहेको छ ।

हालसम्म सुदूरपश्चिममा तीन हजार ९३८ जना सङ्क्रमित कोरोना जितेर घर फर्किसकेको निर्देशनालयले जनाएको छ भने कोरोना सङ्क्रमणबाट कैलालीमा चार, बझाङ र बाजुरामा दुई/दुई र अछाममा एक गरी नौ जनाको मृत्यु भइसकेको छ । निर्देशक डा अवस्थीले समुदायमा पनि कोरोना परीक्षण गर्न निर्देशन दिएबमोजिम डोटी जिल्लामा समुदायका ४५० जनाको कोरोना परीक्षण भइसकेको बताए ।

‘डोटीका बढी सङ्क्रमित स्थानीय तहमा समुदायका ४५० जनाको कोरोना परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको छ ।’ उनले भने, ‘अन्य जिल्लामा पनि सङ्क्रमित व्यक्तिका घरका अन्य सदस्यको पनि परीक्षणको काम चलिरहेको छ ।’ सुदूरपश्चिम प्रदेशमा हाल कैलालीको धनगढी, डडेल्धुरामा पिसिआर विधिबाट कोरोना परीक्षणको काम भइरहेको छ भने बैतडी जिल्लामा पनि परीक्षणको दायरा बढाउन प्रदेश सरकारले पिसिआर पुर्‍याएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width