पोखरामा भानु जयन्ती मनाइयो

आदर्श समाज सम्वाददाता
असार २९, २०७७
20200714_092135 (1)

पोखरा, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०७ औ जन्म जयन्ती सोमबार पोखरामा विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

भानु बाङमय प्रतिष्ठानले पोखरा–११ फूलवारी स्थित आदिकविको पूर्णकदको प्रतिमामा माल्यार्पण गरी उनका साहित्यिक रचना बाचन गर्दै जयन्ती मनायो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले साहित्यले मानिसको चेतना र सामाजिक भावनाको विकास गर्ने हुँदा घरघरमा साहित्य अध्ययन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिइन् ।

पोखरा–११ का वडाध्यक्ष मोहन वास्तोलाले वडामा निर्मित भानुको पूर्णकदको प्रतिमा पोखराकै गौरव भएको बताए । पूर्व वडाध्यक्ष निर्मल कर्माचार्यले साहित्यकारहरु चेतनाको वाहक भएको बताउदै प्रतिमा स्थल निर्माणको लागि आफ्नै कार्यकालमा काम सुरुवात भएको स्मरण गरे ।

अध्यक्षको आशनबाट प्रतिष्ठानका अध्यक्ष सरुभक्तले यो क्षेत्र साहित्यिक तीर्थ स्थल बनोस् भनेर नै भानु प्रतिमा निर्माण गरिएको बताए । त्यस अवसरमा लोक गायक पद्मराज ढकालले भानुभक्तको रामायण वाचन गरेका थिए । भानुमार्ग क आमा समूहकी अध्यक्ष मीठूदेवी गुरुङको स्वागत मन्तब्य रहेको सो कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव अम्विकाप्रसाद भट्टराईले गरेका थिए ।
खनाल पुरस्कृत

भानु बाङमय पुरस्कार २०७६ बाट स्याङ्जा वालिङका बसन्त खनाल सम्मानित भएका छन् । समाजसेवी गणेशबहादुर भट्टराईबाट स्थापित तथा भानु बाङमय प्रतिष्ठान पोखराद्वारा संचालित उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातकोत्तर नेपाली तर्फ सर्व प्रथम हुने विद्यार्थीलाई सो पुरस्कार प्रदान गरिदै आएको छ । २०७ औं भानु जयन्ती कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width