गण्डकी बोर्डिङ स्कूलका भूपू विद्यार्थीकाे स्वास्थ्यकर्मीलाई सहयोग

आदर्श समाज सम्वाददाता
असार १९, २०७७
2

पोखरा, १९ असार । गण्डकी आवासीय विद्यालय भूतपूर्व विद्यार्थी संगठन (एग्बोसा) ले स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पहिलो घेरामै रहेर निरन्तर खटिरहेका स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी एग्बोसाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मातृशिशु मितेरी अस्पताललाई ती सामग्री प्रदान गरेको हो।

एग्बोसा अध्यक्ष कमलबहादुर श्रेष्ठका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशक डा. अर्जुन आचार्यमार्फत २ सय थान एन–९५ मास्क, ५० थान फेस सिल्ड, २ थान पेडल सेनिटाइजर डिस्पेन्सर प्रदान गरियो।

यस्तै, लामाचौरको मातृशिशु अस्पताललाई मेडिकल सूपरीन्टेण्डेन्ट डा. प्रतिभा गौलीमार्फत १ सय थान एन–९५ मास्क, १३ थान फेस सिल्ड र १ थान पेडल सेनिटाइजर डिस्पेन्सर प्रदान गरिएको हो।

आगामी दिनमा स्याङ्जा, पर्वत, बागलुङ तथा प्रदेश ५ का विभिन्न जिल्लामा पुगेर पनि सहयोग गरिने

गण्डकी बोर्डिङ स्कूलका भूपू विद्यार्थीहरुले आगामी दिनमा पनि स्याङ्जा, पर्वत, बागलुङ तथा प्रदेश ५ का विभिन्न जिल्लामा पुगेर पनि स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका छन्।

एग्बोसाले यसअघि पोखरा महानगरपालिका ४ वडामा १ सय घरपरिवारलाई एग्बोसा काउन्सिल र सम्बन्धित वडाकै समन्वयमा राहत वितरण गरिसकेको छ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको बेलामा संस्थाले अघिल्लो महिना नै एग्बोसा सञ्जालको सदुपयोग गरी चरणबद्ध सहयोग गर्ने निर्णयअनुरुप गण्डकी मेडिकल कलेज (जीएमसी) का प्राचार्य प्राडा रवीन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा एग्बोसा काउन्सिल गरेको हो।

Related News

सम्बन्धित समाचार

hero news full width