७७ जिल्लामै फैलियो कोरोना

आदर्श समाज सम्वाददाता
असार १४, २०७७
covid 19 corona banner

काठमाडौँ, १३ असार | नेपालमा थप ५ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा काठमाडौंमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय २० महिला र ४ सय ३४ पुरुष गरी कूल ५ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा नै सङ्क्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यसैबीच, प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १८ महिला र १ सय १८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या २ हजार ८ सय ३४ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट शनिबार थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–७ का एक ५० वर्षीय पुरुष हुन् । उनी फोक्सोको क्यान्सरको बिरामी थिए । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा मुलुकको २२ वटा प्रयोगशालामा पीसीआर विधिबाट ४ हजार ६ सय ६ जनाको परीक्षण भएको छ ।

यस्तै, ‘भाइरस रिमुभिङ कार्ड’ पत्ता लागेको र त्यसलाई घाँटीमा झुन्ड्याएमा कोरोना निको हुन्छ भनेर अनावश्यक भ्रम फैलाएको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width