पोखरा–१५ को राती खहरेमा उत्कृष्ट फुटबल ग्राउन्ड बन्दै

‘यस ठाउँमा खेलकुद मैदानको निर्माण कार्यलाई छिटो भन्दा छिटो पूरा गर्न सके यो पोखराकै रमणीय खेलकुद मैदान बन्नेछ,’ विज्ञहरुले सुझाव दिएका छन्

नारायण शाही
जेठ २८, २०७७
Rati Khahare 1

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ को राती खहरेमा आकर्षक फुटबल ग्राउन्ड बन्दैछ ।

महानगरको १५ नं वडा कार्यलयले आफ्नो वडाभित्र पर्ने राती खहरेको सार्वजनिक (खाली) जग्गालाई खेलकुदको पूर्वाधारको रुपमा निर्माण गर्न लागेको हो । वडाको ठूली मजुवा टोलबाट दक्षिणतर्फको अतिक्रमित खाली जग्गामा वडाले खेलमैदानको संरचना बनाउन लागेको हो । ठूली मजुवा टोलबाट राती खहरे जाने बाटोको टुटुङ्गा (वायाँ) र ठूली मजुवाको फूलबारी रिसोर्ट (दायाँ) तर्फको ढिस्को बीचको खाली सार्वजनिक जग्गामा खेलकुद मैदान बन्ने भएको हो ।

पोखराको बजार क्षेत्र र पोखरा रंगशालादेखि नजिकै रहेको सो स्थानमा इलाभेन ए साइडकै फुल साइजको स्तरिय फुटबल खेल मैदान बनाउन लागिएको पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । उनले उत्कृष्ट र व्यवस्थित फुटबलमैत्री खेल मैदान बनाउन लागेको बताए ।

कास्की क्षेत्र नं २ का प्रदेशसभा सदस्य कृष्ण थापाले आव ०७६/०७७ को सांसद विकास कोषबाट उपलब्ध गराएको ५ लाखको बजेटबाट खेल मैदानको निर्माण कार्य शुरु गरिएको वडाध्यक्ष पौडेलले बताए । उनका अनुसार उक्त बजेटले हाल डोजर लगाउने र जमिन सम्याउनेसम्मको कार्य गरिएको पौडेलले उल्लेख गरे ।

बजेट अभावका कारण बाँकी काम अघि बढ्न नसकेको उनको भनाई छ । प्राविधिक ईञ्जीनीयरले खेल मैदानको लागि प्राविधिक मुल्यांकनको होमवर्क गरिरहेको वडाध्यक्ष पौडेलले सुनाए । उनका अनुसार करिब १ करोडसम्मको डीपीआर बन्दै छ ।

उक्त ठाउँमा उत्कृष्ट र स्तरिय खेल मैदान बनाउन खेलकुदसँग सरोकार राख्ने सरोकारवाला निकाय र स्थानीय सामाजिक संघसंस्थासँग वडाध्यक्ष पौडेलले याचनासमेत गरेका छन् ।

वडाध्यक्ष पौडेलले याचना गरेका छन्, ‘यहाँको प्राकृतिक वातावरणलाई जोगाउन पनि खेलकुद मैदान बनाउन लागेका हौं । यहाँका स्थानीयवासी, युवा क्लब, महानगरकै सामाजिक संघसंस्था, खेलकुदसँग सरोकार राख्ने खेलकुद विकास समिति, फुटबलको निकाय एन्फा लगायतका निकायहरुसँग स्तरिय खेल मैदान बनाउने हाम्रो अभियानमा जोडिन अभियन्तासँग साथ र सहयोगको याचना गर्दछु ।’

भौगोलिक, प्राकृतिक र हावापानीको हिसावले पनि उक्त ठाउँ खेलमैदान बन्न लायकको छ । उत्तर दक्षिण मोहडाको खाली जग्गा छ । उक्त स्थानमा चिसो पानीको मूल भएको राती खहरे खोला बगेको छ । खेलमैदानको दायाँवायाँ हरियाली वातावरण छ । सुन्दर, शान्त, स्वच्छ र मनमोहक वातावरण रहेको उक्त स्थानबाट सिधा माछापुच्छ«े हिमाल देखिन्छ । दक्षिणतर्फ सेती नदी सुसाएको सुनिन्छ । खेलाडीहरुका लागि उक्त ठाउँ एकदमै अनुकूलको छ ।

खेलकुद विज्ञ र पारखीहरुले पनि उक्त ठाउँ स्तरिय र उत्कृष्ट खेल मैदान बन्न सक्ने उपयुक्त स्थान रहेको सुझाव दिएका छन् । पोखरामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदका इभेन्टहरु हुँदा यस ठाउँलाई प्रशिक्षणका लागि ट्रेनिङ सेन्टरका रुपमा सदुपयोग गर्न सकिने खेलकुद विज्ञहरुको सुझाव छ ।

‘यस ठाउँमा खेलकुद मैदानको निर्माण कार्यलाई छिटो भन्दा छिटो पूरा गर्न सके यो पोखराकै रमणीय खेलकुद मैदान बन्नेछ,’ विज्ञहरुले सुझाव दिएका छन् ।

विश्वमै सुन्दर पोखरालाई खेलकुदको हवका रुपमा पनि लिने गरिन्छ । स्वयं पोखरा महानगरपालिकाले यस शहरलाई खेलकुद हवको रुपमा विकास र परिचय दिने प्रयास गरिरहेको बेला यो खेल मैदान निर्माण कार्य थाल्नुले पोखराको खेलकुदका लागि यो एउटा कोशेढुङ्गा बन्न सक्ने अनुमान लगाइएको छ ।

पोखरा महानगर–१५ भित्रको अतिक्रमित सार्वजनिक भूभागको संरक्षण र त्यस्ता भूभागलाई विकासको संरचनासँग जोड्ने महानगरकै १५ नं वडाको प्रयासस्वरुप यो खेलकुद मैदान बन्न लागेको हो । महानगरको सम्बन्धित वडा नं १५ ले यस खेल मैदानको निर्माण थालनी मात्र गरेको हो । खेलमैदानको निर्माणका लागि गर्नुपर्ने कामहरु धेरै बाँकी छन् ।

स्थानीय समाजसेवी बीरभद्र आचार्य लामो समय फुटबल क्षेत्रमा लागेका एक फुटबल अभियन्ता नै हुन् । सहारा क्लब पोखराका पूर्व अध्यक्ष समेत रहेका आचार्य आफ्नो वडाभित्र फुटबल ट्रेनिङ ग्राउन्ड बन्नलाग्दा खुशी देखिन्छन् । वडाभित्र स्तरिय खेलकुद मैदान बनाउने वडाको प्रयासलाई आचार्यले मुक्त कण्ठले प्रशंसा ब्यक्त गर्दछन् ।

खेलकुदलाई युवा वर्गसँग दाँज्ने गरिन्छ । स्वच्छ र स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य छ । शरीरलाई स्वस्थ, स्वच्छ र तन्दुरुस्ती राख्न युवाहरुका लागि खेलकुद झनै आवश्यक रहेको आचार्यले आफ्नो धारण राख्छन् । यस ठाउँमा बन्ने खेलकुद मैदानले यहाँका स्थानीय युवा वर्गका लागि कोशेढुङ्गा बन्ने आचार्यले बताए । राती खहरेमा एउटा आकर्षक फुटबल ट्रेनिङ खेल मैदान बनाउन सकिने आचार्यको धारणा छ ।

आचार्यले भने, ‘यहाँ फुल साइजको फुटबल मैदान बनाउन सकिन्छ । ९० बाई ५५ को फुटबल ग्राउन्ड सजिलै बन्छ । जग्गाको मोहडा उत्तर दक्षिण परेकोले फुटबल ग्राउन्डका लागि यो उपयुक्त स्थान हो । मैदानको शीरदेखि पुछारसम्म दर्शक प्यारापीट बनाउन सकिन्छ । मैदान बनाउन पोखरा महानगरपालिका लगायत खेलकुद विकास समितिदेखि लिएर एन्फा लगायतको सहयोग आवश्यक छ ।’

बन्दै गरेको फुटबल ग्राउन्डदेखि तल राती खहरेको फाँटमा नेपाल प्रहरीद्वारा गण्डकी प्रदेशस्तरिय वीरेन्द्र प्रहरी अस्पताल बनाउने योजना छ ।

तस्बीर : सुदर्शन रञ्जित

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै