राष्ट्रिय मानवअधिकार आयोगद्वारा सोती घटनाको अनुसन्धान शुरु

रासस
जेठ २०, २०७७
National-Human-Rights-Commission

जाजरकोट, २० जेठ । पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ ।

आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापागाईँको नेतृत्वमा आएको टोलीले घटनाका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकार पक्षसँग भेटघाट गरेको छ । टोलीले घटनामा परी ज्यान गुमाएका नवराज विकका आमाबुवा, सञ्जीव विकका परिवार र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको हो ।

पीडित परिवारले आयोगसमक्ष घटनाको निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने, घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन् । “दलित भएकै कारण मेरो छोराको हत्या गरिएको हो”, नवराजका बुवा मुनलाल विकले भने । “हत्यारालाई कारवाही भएको देख्न पाऊँ, घटनाको सत्यतथ्य छानबिन होस् अपराधी उम्किन नपाऊन् ।”

स्थलगत अध्ययन टोलीका संयोजक चापागाईंले पीडित परिवारलाई घटनाको सत्यतथ्य छानबिन र अनुसन्धानका लागि आयोगले विशेष निगरानी र पहल गरिरहेको जानकारी दिए । उनले न्याय पाउनेमा पीडित परिवारलाई आश्वस्त पार्दै भने । “हामीले घटनापछि हरेक घटनाक्रमलाई सूक्ष्म ढङ्गले नियालिरहेका छाँै । यसअघि नै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारलाई निर्देशनसमेत दिइसकेका छौँ । स्थलगत अध्ययनपछि प्राप्त तथ्यलाई समेटेर प्रतिवेदन पनि तयार पार्छौँ । सरकारलाई दिन्छौँ । हाम्रो खबरदारी निरन्तर जारी रहने छ ।” यसअघि पनि आयोगलाई रुकुम र जाजरकोटका अधिकारकर्मी सम्मिलित टोलीले घटनाको स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width