संगै रक्सी खाएपछि सहकर्मीलाई ढुंगाले हानेर हत्या, २ जना सार्वजनिक

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७७
DPO

पोखरा, ८ जेठ । पोखरा–२७, अर्घौमा गत शनिबार एक युवकको हत्याकाण्डका २ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । सामान्य निहुँमा ढुंगाले हानी हत्या गरेका उनीहरु मृतकका सहकर्मीहरु भएको खुलेको छ ।

हत्याकाण्ड लुकाउन खाल्डो खनी गाडिएको अवस्थामा प्रहरीले मंगलबार शव उत्खनन् गरी बाहिर निकालेको थियो । मृतक कास्कीको मादी घर भै हाल पोखरा–२७ सुन्दरीबजार बस्ने २१ वर्षीय सुजन बिक हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार पक्राउ पर्नेमा सुजनको हत्यामा उनीहरुसँगै काम गर्ने प्यूठानका २ जना युवक छन् । जसमा प्यूठान गौमुखी गाउँपालिका वडा ३ घर भै हाल पोखरा २७, सुन्दरीबजार बस्ने वर्ष २३ का प्रकाश घर्ती मगर र वर्ष २१ का थमन पुनमगर छन् । उनीहरुले बिजुलीको काम गर्दैआएका थिए ।

घटना विवरण अनुसार जेठ ३ गते शनिबार राति सवा ७ बजे सुजन, प्रकाश, थमन, राम पुनमगर सहित ५ जनाले सँगै रक्सी खाए । तीमध्ये रामु साढे ९ बजेतिर सँगै रहेकी एक दिदीलाई छोड्न भनी निस्के । बाँकी रहेका सुजन, प्रकाश र थमन पनि रक्सी खाएपछि घरजान भनी निस्के । बाटोमा सुजनले आफूहरुलाई गालीगलौच र होहल्ला गर्दै हिड्न थालेपछि सहकर्मीहरुले निको मानेनन् । एकदुई पटकसम्म हल्ला नगर भनी सम्झाए पनि । पछि अटेर गरेपछि थमनले सुजनलाई मुक्का हाने । पछाडिबाट मुक्का हानेपछि सुजन थचक्क भुइँमा बसे । र, पुनः चिच्याउन र कराउन थाले । लगत्तै प्रकाशले जमिनमा रहेको ढुंगो टिपेर सुजनको टाउकोको पछाडि बजारे । करिब ३ किलो बढी तौल रहेको सो ढुंगाको प्रहार सुजनको टाउकोको बायाँ पट्टि लाग्यो ।

विडम्बना सुजनको घटनास्थलमै मृत्यु भयो । सामान्य निहुँमा सहकर्मीकै मृत्युपछि अभियुक्त प्रकाश र थमन कालोनीलो भए । उनीहरुले हाल शव भेटिएको स्थानभन्दा करिब दुई–तीन सय मिटर पूर्वतर्फ सुजनको हत्या गरेका थिए । पछि शव झुण्डाउँदै उनीहरुले बाँझो रहेको खेतको डिलमा ढुंगाको पर्खालबाट शव छिराए । र, घर फर्किए । मिलेर सँगै फेरि गाँजा खाए ।
शव सही व्यवस्थापन नभएकोले हत्याकाण्डको पोल खुल्ने डरले उनीहरु राति पुनः घटनास्थल फर्के र काठको दाउराले केही भाग खनी खोस्री सामान्य तरिकाले ढुंगाले पुरेर फर्के । उनीहरु घर फर्किदाँ रातको साढे १२ बजेसकेको थियो । साथीहरुसँग सँगै गएको छोरो नफर्केपछि सुजनकी आमाले उनीहरुलाई सोधखोज गरिन् । उल्टै उनीहरुले पर चौतारीसम्म गएको पछि अर्को साथीले बोलाएकोले १५ मिनेटमै आउँछु भनी गएका हुन् । हामीलाई थाहा भएन । के अझैसम्म आएका छैनन् र ? भनी उल्टै प्रतिप्रश्न गरेको घटनाको व्यहोरा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पत्रकार सम्मेलनमा दिए ।

उनका अनुसार सुजन हराएपछि घरपरिवारले सोधखोज गरेपनि पत्तो नलागेपछि जेठ ६ गते मंगलबारमा प्रहरीसमक्ष उजुरी गरेका थिए । उजुरी परेकै दिन साँझ ५ बजेतिर कास्की प्रहरी प्रमुख कार्कीसहित डाँडाकोनाक प्रहरी चौकीका प्रमुखर प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाट, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरहरि अधिकारी सम्मिलित टोलीले शव भेटाएको हो । त्यसपछि आगोको फिलिङ्गो झैं हत्याकाण्डको घटना बाहिरियो । प्रहरीले मंगलबार र बुधबार गरी घटनाको अनुसन्धान क्रममा १० जना मानिसलाई पक्राउ गरी बयान लिएर छाडेको थियो । ती १० जनामध्ये अभियुक्त भनिएका प्रकाश र थमन पनि थिए । सुरुवातमा कठिन परेको प्रहरीलाई पछि ‘न्यारो डाउन’ गर्दै जाँदा हत्याको रहस्यसँगै अभियुक्त पहिचान गर्न सहज भएको बताइएको छ । उनीहरुलाई बिहीबार बिहान पुनः पक्राउ गरिएको हो ।

कास्कीमा गत जेठ ३ मा समेत पोखरा १४ मा २२ वर्षीय बिमल रानाभाटको शव प्रहरीले गाडिएकै अवस्थामा फेला पारेको थियो । आफ्नै साथी ज्ञानबहादुर परियारले घनले हानेर रानाभाटको हत्या गरेको अनुसनधानमा खुलेको थियो । परियारले १ महिनाअघि रानाभालाई घनले हानेर हत्या गरी उनकै घर पछाडि बारीको डिलमा शव गाडेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width