गैंडासँग नलोभिनू- सहकारी मन्त्री

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७६
minister padma

पोखरा, २१ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ‘गैंडा’ सँग नभोलिएर सेवाग्राहीको काम प्रभावकारी ढंगले गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । उनले भनिन्, कर्मचारीको कुशलता कार्यालयदेखि नै झल्किुनपर्छ । सेवा गर्ने क्रममा चुल्ठेमुन्द्रेसँग डराउनु हुँदैन र गैंडासँग नलोभिएर सेवा गनुपर्छ ।

नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिवार पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ मा कर्मचारीलाई निर्देशन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् । उनले बाहिरैदेखि मालपोत र नापी सुध्रिएछन् भन्ने देखाउने गरी काम गर्न पनि आग्रह गरिन् । जागिरे मानसिकताबाट माथि उठेर काम गर्न आग्रह गर्दै गल्ती नगरेपछि डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘तपाईहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन, उनले भनिन्, तपाईको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला परेपछि त के गर्नु त !’

मन्त्री अर्यालले भनिन्, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । हो की होइन म जान्दिनँ । यो कुरा मनमनै राख्नुहोला । यदि हो भने त्यस्तो गर्नु भएन । परिवर्तनको अनुभूति तपाइहरूको टेबुलबाटै देखिने हो ।’ राम्रा कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताइन् । तर गलत काममा भने साथ नदिने बताइन् । काम गर्ने क्रममा विभिन्न प्रलोभनमा नपरेर राष्ट्र र जनताको सेवामा समर्पित हुन उनले पटक पटक दोहोराइन् ।

मन्त्रालय नयाँ ढंगबाट अगाडि बढ्न खोजेको भन्दै उनले बेथितिका कारण कहिलेकाँही उर्जा पनि निराश हुनुपर्ने अवस्था आउने गरेको बताइन् । सेवा प्रवाह, आचरणका क्षेत्रमा केही न केही फरकपना आइदियोस् भन्ने अपेक्षा रहेको मन्त्री अर्यालको भनाइ थियो ।गण्डकी प्रदेशभरका भूमि तथा नापी कार्यालयका कर्मचारीलाई सचेत गराउँदै मन्त्री अर्यालले मन्त्रालयले नीतिगत रुपमा गरेका परिवर्तन व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकेमा भूमि व्यवस्थापनका क्षेत्रमा ठूलो क्रान्ति हुने बताइन् ।

मन्त्रालयले पहिलोपटक राष्ट्रिय भूमि नीति बनाएको भन्दै मन्त्री अर्यालले त्यसका आधारमा सरकारले अब एकीकृत भूमि ऐन बनाउन लागेको जानकारी दिइन् । सरकारले निर्माण गरेका नीति नियम पढेर अगाडि बढ्न आग्रह गर्दै उनले प्रविधिको प्रयोग गर्ने कुरा उदाहरणीय भएको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width