घान्द्रुकमा याकको रगत खाने कार्यक्रम

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७६
chhauri photo (2)_Fotor

अन्नपूर्ण गाउँपालिका–११, घान्द्रुक, मुल्डेमा आइतवारबाट याकको रगत खाने कार्यक्रम शुरु भएको छ।

घान्द्रुक देउराली निवासी वनवीर गुरुङको याक गोठ मुल्डे परिसर क्षेत्रमा गुरुङको नेतृत्वमा उक्त कार्य शुरु भएको हो। सो कार्यक्रम साउन १० सम्म चल्नेछ।

याकको रगत खान कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायत गण्डकी प्रदेशका अधिकांश जिल्लाबाट सयौँको संख्यामा नेपाली त्यहाँ पुगेको जनाइएको छ।

याकको रगत पिएपछि ग्याष्टिक, टाउको तथा शरीर दुख्ने रोग निको हुनुका साथै कमजोर मानिसलाई धेरै फाइदा पुग्ने विश्वास गरिन्छ। रगतको प्रतिगिलास १ सय मुल्य तोकिएको छ।

पोखराबाट घान्द्रुक, टाढापानी, इसरु, दोबाटो हुँदै करिब २ दिनको यात्रापछि मुल्डे पुगिन्छ। त्यहाँबाट पोखरा, पर्वत, म्याग्दी, मुस्ताङका विभिन्न क्षेत्र देख्नुका साथै धवलागिरि, नीलगिरि, टुकुचे पिक, अन्नपूर्ण, हिमचुली हिमश्रृङ्खलाको पनि अवलोकन गर्न सकिन्छ।

समुद्री सतहदेखि ३ हजार ६ सय ३७ मिटर उचाइको मुल्डेमा डाँफे, मुनाल, कस्तुरी, घोरल, झाँरल, हिमचितुवा र भालु पनि देख्न सकिने घान्द्रुकका अमृत गुरुङ लामाले जानकारी दिए।

मुल्डेमा साउनमा र वैशाख महिनामा देउरालीमा याकको रगत पिउने कार्यक्रम विगत वर्षदेखि नै गरिँदैआएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width