एसइई नतिजा सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार १३, २०७६
slc table

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७५ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल विहीवार सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार नियमिततर्फ १६ हजार ८ सय ८२ विद्यार्थीले जिपिए ३.६० देखि ४ (ए प्लस) ल्याएका छन्।

जसअनुसार ४८ हजार ९ सय ६० विद्यार्थीले जिपिए ३.२० देखि ३.६० (ए) ल्याएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए।

यस्तै, ६० हजार ७ सय ६ विद्यार्थीले जिपिए २.८० देखि ३.२० (बी प्लस), ९४ हजार १ सय १० विद्यार्थीले जिपिए २.४० देखि २.८० (बी), ९७ हजार २ सय ९९ विद्यार्थीले जिपिए २.०० देखि २.४० (सी प्लस) र ९५ हजार २ सय ९ विद्यार्थीले १.६० देखि २.०० (सी) ल्याउन सफल भएका छन्।

यसैगरी, ४३ हजार ८ सय ४० विद्यार्थीले १.२० देखि १.६० (डी प्लस), चार हजार ४२९ विद्यार्थीले ०.८० देखि १.२० (डी) प्राप्त गरेका छन्। आठ हजार २ सय ७ विद्यार्थीको भने विभिन्न कारणले नतिजा सार्वजनिक भएको छैन।

यस्तै, प्राविधिक धारतर्फ ६ सय ९८ विद्यार्थीले ‘ए प्लस’, दुई हजार १७७ विद्यार्थीले ‘ए’, ३ हजार ३५ विद्यार्थीले ‘बी प्लस’, २ हजार ४ सय ५४ विद्यार्थीले ‘बी’, ९ सय ८ विद्यार्थीले ‘सी प्लस’ तथा ९८ विद्यार्थीले ‘सी’ तथा १ विद्यार्थीले ‘डी प्लस’ ल्याएका छन्। प्राविधिक धारतर्फ २६२ परीक्षार्थीको नतिजा सार्वजनिक भएको छैन।

साधारण र प्राविधिकतर्फ ४ लाख ७५ हजार ३ परीक्षार्थीले परीक्षामा आवेदन दिएका थिए। नियमित र प्राविधिकतर्फ गरी ८ हजार ४ सय ६९ परीक्षार्थीको नतिजा सार्वजनिक नगरिएको हो।

गत वर्षदेखि संघीय संरचनाअनुसार गत चैत १० गतेदेखि २१ गतेसम्म साधारण तथा प्राविधिक धारतर्फ सञ्चालन गरेको सो परीक्षामा नियमित समूहको साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिक धारतर्फको ९ हजार ६ सय ३३ जना गरी कुल ४ लाख ५९ हजार २ सय ७५ परीक्षार्थी परीक्षामा सम्मिलित रहेका थिए।

उता, पूरक अर्थात् ग्रेडवृद्धि परीक्षाको हकमा भने सैद्धान्तिक विषयतर्फ बढीमा २ विषयसम्म ‘सि’ वा ‘सि’भन्दा तल्लो ग्रेड प्राप्त गरेको वा परीक्षामा २ विषयसम्म अनुपस्थिति भएको वा २ विषयसम्म ग्रेड नखुलेको विषयमा परीक्षार्थीले पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ।

गत वर्ष नतिजा प्रकाशित भएकै दिन पूरक परीक्षाको तालिका सार्वजनिक गर्ने गरिएको भए पनि यस वर्ष भने केही समयपछि तालिका सार्वजनिक गरिने जानकारी दिइयो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै