आर्मी र पुलिस फाइनल भिड्ने

प्रधानमन्त्री कप क्रिकेट

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७६
Police vs Apf_Fotor

विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ।

बिहिबार भएको दोस्रो सेमिफाइनलमा विभागीय डर्बी क्लब एपीएफलाई ५ विकेटले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो। अब पुलिसले शनिवार हुने फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। आर्मी प्रदेश ३ लाई हराएर यसअघि नै फाइनल पुगिसकेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको ४२ रनको सामान्य लक्ष्य पुलिसले ९ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो। खराब शुरुवात गरेको पुलिसका लागि पवन सराफले अविजित २१ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए। एपीएफका कप्तान बसन्त रेग्मीले ३ विकेट लिए। यस्तै, शरद भेषवाकरले २ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २२ ओभर १ बलमा अलआउट हुँदै ४१ रन बनाएको थियो। बलर चम्किएको खेलमा एपीएफका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। शरद भेषवाकर र पृथु बास्कोटाले सर्वाधिक ७/७ रन जोडे।

यस्तै, अमरसिंह रौटेलाले अविजित ६ रन जोड्दा सन्दीप जोराले ५ रन बनाए। आसिफ शेख, प्रदिप ऐरी, दिपेन्द्र राउत र सुमित महर्जन २/२ रनमा आउट हुँदा कप्तान वसन्त रेग्मी सुन्य रनमा आउट भए।

एपीएफलाई सस्तैमा समेट्न पुलिसका लागि ललितनारायण राजवंशीले किफायती बलिङ गरे। ललितले ६ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए। कुशल भूतेर्लले ५ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिए। यस्तै, सागर ढकालले ८ ओभर १ बलमा ३ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए।

विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width