भानुभक्तको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५
Bhanubhakta-Acharya-Tapaikokhabar

दमौली, २१ चैत । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाँचाँै क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते भानु नगरपालिका–५ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्न लागेको हो ।

मञ्चका अध्यक्ष आकाश अधिकारीका अनुसार कवि सम्मेलनमा देश तथा विदेशबाट गरी ६० भन्दा बढी साहित्यकार सहभागी हुनेछन् । सम्मेलनमा नेपालका साथै भारत, बङ्गलादेश, भूटानबाट साहित्यकार आउने निश्चित भइसकेको छ भने चीन, जापान लगायतका देशहरुका साहित्यकारसँग समन्वय भइरहेका अधिकारीले जानकारी दिए ।

भानुभक्त आचार्यको व्यक्तित्व विश्वसामु परिचित गराउने, चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र भाषिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले कवि सम्मेलन आयोजना गरिएको उनले बताए । सोही अवसरमा रात्रिकालीन साहित्यिक कार्यक्रम, भानु जन्मघरका बारेमा साहित्यकारहरुको अभिव्यक्ति र हस्ताक्षर सङ्कलन गरिनेछ भने क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार, गीतल प्रभात युवा राष्ट्रिय पुरस्कार र गीतल प्रभात प्रतिभा पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । यस वर्षको क्षेत्रप्रताप स्मृति पुरस्कार काभ्रेका स्रष्टा मोहन दुलाल, गीतल प्रभात युवा पुरस्कार पुरु लम्साल र गीतल प्रभात प्रतिभा पुरस्कार दुर्गाकिरण तिवारीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

कार्यक्रमकै अवसरमा तनहुँका साहित्यकारका लेखरचना प्रकाशित गीतल गुञ्जन नामक पुस्तक विमोचनसमेत गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । यही चैत २९ गते ग्रामीण पर्यटन तथा घरवास प्रवद्र्धनका लागि अतिथिहरुलाई रानागाउँ सामुदायिक घरवासमा राखिनेछ भने चैत ३० गते भानुभक्तको जन्मघर शिखर कटेरीसम्म साहित्यिक पदयात्राको कार्यक्रम हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै