दुर्घटनाले निजी क्षेत्र स्तब्ध

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७५
rabindra-adhikari

पोखरा, १६ फागुन। ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधनप्रति निजी क्षेत्रले पनि दुःख व्यक्त गरेको छ।

पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ, नाट्टा पोखरा लगायत विभिन्न संघसंस्थाले विहीवार शोक विज्ञप्ति जारी गर्दै कास्कीबाट निर्वाचित मन्त्री अधिकारी सहित यति एयर लाइन्सका प्रबन्ध निदेर्शक तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिदेर्शक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्ययन प्राधिकरणका निदेर्शक धु्रवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

पोखरा उद्योग वाणिज्य संघतर्फबाट महासचिव अर्जुन पोखरेलले मन्त्री अधिकारीको निधनले संघ, कास्कीवासी र समग्र राष्ट्रले भरोसायोग्य राजनेता, एक सहयात्री, शुभेच्छुक र अभिभावक गुमाएको उल्लेख गरेका छन्।

पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि संघको अगुवाइ भएका हरेक दबाबमूलक कार्यक्रम र देशकै लामो रिले अनशनमा जनप्रतिनिधिको रूपमा उनले देखाउनुभएको ऐक्यबद्धता, सहयोग र सुझावलाई स्मरण गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, लेखनाथ उद्योग वाणिज्य संघले अनन्य मित्र यस क्षेत्रको भरोसाका केन्द्रविन्दु, उदियमान, जुझारु र प्रतिभाशाली युवा नेता मन्त्री अधिकारीले पोखराको पर्यटन प्रवद्र्धन तथा विकासका लागि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा खेलेको अग्रणी भूमिका हाम्रो मष्तिष्कमा ताजै रहेको छ भन्दै निधनप्रति दुःख व्यक्त गरेको छ ।

संघ अध्यक्ष कृष्णहरि भण्डारीले जारी गरेको विज्ञप्तिमा संविधानसभा सदस्य हुँदा वा मन्त्री भएर अधिकारीले नेपालको निजी क्षेत्रसँगको सहकार्य, छोटो समयमा देश विकासमा गरेको योगदान र कार्यबाट यतिबेला सिंगो देशलेे भरोसायोग्य राजनेता, सहयात्री, शुभेच्छुक र मार्गनिदेर्शक गुमाएको हामीले महशुस गरेका छौं, उल्लेख छ ।

पश्चिमाञ्चल होटल संघ पोखराले सो घटनाप्रति दुःख व्यक्त गरेको छ। संघ अध्यक्ष विकल तुलाचनले शोक विज्ञप्ति जारी गर्दै दुःखको यस घडीमा संघ पोखरा गहिरो दुःख व्यक्त गर्दछ भनेका छन्। उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकशन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेका छन् ।

नाट्टा गण्डकी प्रदेशतर्फबाट अध्यक्ष सन्तोष पोखरेलले शोक विज्ञप्ति जारी गर्दै मन्त्री अधिकारीसहित ७ जनाको निधनको खबरले अत्यन्तै स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width