डेढ वर्षपछि कास्की नेविसंघमा नयाँ नेतृत्व

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७५

पोखरा, ८ वैशाख । नेपाल विद्यार्थी संघ, कास्कीमा लामो समयदेखि नेतृत्व विवाद र नेतृत्व रिक्तता अन्त्य भएको छ ।

करिब ९ वर्षको विवाद र डेढ वर्षको नेतृत्व रिक्तता अन्त्य गर्दै शुक्रबार नेविसंघ केन्द्रले नयाँ सभापति नियुक्त गरेको छ । नेविसंघ अध्यक्ष नैनसिंह महरले विकास थापालाई कास्की नेविसंघको सभापति चयन गरेका हुन् ।

संगठन विस्तार गरी ३ महिनाभित्रै जिल्ला अधिवेशन गर्नुपर्ने जिम्मेवारी सहितको नियुक्ति पत्र शुक्रबार पठाइएको हो । ‘वर्षौदेखिको विवाद र रिक्तताले कास्कीको सांगठानिक गतिविधि कमजोर भैरहेको थियो,’ अध्यक्ष महरले भने, ‘रिक्त पदपूर्ति गरेर संगठनलाई चुस्त बनाउन सभापति चयन गरिएको हो ।’ जिल्ला र केन्द्रिय नेताहरुको सुझावका आधारमा थापालाई सभापति बनाएको महरले बताएका छन् ।

नवनियुक्त सभापति थापा यसअघि नै कास्की नेविसंघको कार्यवाहक सभापति भएर काम गरिसकेका छन् । २०६० देखि विद्यार्थी राजनीतिमा सक्रिय थापा २०६७ सालमा नेविसंघ कास्कीको सदस्य बनेका थिए ।

२०६९ मा कास्की नेविसंघ कोषाध्यक्ष, २०७० क्याम्पस समन्वय समितिको सभापति, २०७१ मा कास्की नेविसंघको उपसभापति हुँदै २०७२ कार्यबाहक सभापति भएर काम गरेका छन् । उनी हाल पोखरा विश्वविद्यालयमा एमविए अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width