फेवा पब्लिकमा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
फागुन २९, २०८०
fewa school

पोखरा । पोखरा–४, गणेशटोल स्थित फेवा पब्लिक स्कुलले आइतबार पुरस्कार वितरण तथा सामूहिक नृत्य प्रतियोगिताको आयोजना गर्‍यो । कार्यक्रममा गत शैक्षिक सत्रमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार गरिएको थियो । यसैगरी चालु शैक्षिक सत्रमा विद्यालयले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिता, अनुशासन, सरसफाइलगायत विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालयले आयोजना गरेको सामूहिक नृत्य प्रतियोगितामा कक्षा नर्सरीदेखि युकेजीसम्मको समूहमा युकेजी कक्षाका बाबुनानीले प्रथम स्थान हासिल गरे । १ कक्षादेखि ३ सम्मको प्रतियोगितामा कक्षा ३, कक्षा ४ देखि ६ सम्मको प्रतिस्पर्धामा ६ कक्षाका विद्यार्थीको समूहले प्रथम स्थान हासिल गरे । यसैगरी कक्षा ७ देखि ११ सम्मका विद्यार्थीबीच भएको प्रतिस्पर्धामा कक्षा ८ का विद्यार्थीहरुको समूह प्रथम भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्तोष रानाभाटले जानकारी दिए । उत्कृष्ट भएका विद्यार्थीलाई पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी, विद्यालयका प्राचार्य अचुत पाण्डे, सहप्राचार्य प्रमोद पाण्डे, शैक्षिक विभाग प्रमुख सुमन आचार्य, विद्यालय सञ्चालक समितिका अध्यक्ष सुशीला शर्मा र विद्यालयका शिक्षकहरूले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा अधिकृत रेग्मीले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको उल्लेख गर्दै विद्यालयको शैक्षिक गतिविधिमा शिक्षा महाशाखाले सहयोग गर्ने बताए । यसैगरी प्राचार्य पाण्डेले विद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्न लागिपरेको बताए । सहप्राचार्य प्रमोद पाण्डेले विद्यार्थीहरू लगनशील र अनुशासित भएर अध्ययन गर्न सुझाव दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width