बाघचाल प्रतियोगितामा राजु न्यौपाने पहिलो

आदर्श समाज सम्वाददाता
माघ २८, २०८०
Bagchal 80

लमजुङ । लमजुङमा सञ्चालन गरिएको बाघचालको खुला प्रतियोगिताको चौथो शृंखलामा राजु न्यौपाने पहिलो भएका छन् । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले आठौं स्थापना दिवसका अवसरमा सो प्रतियागिता सञ्चालन गरेको हो ।

जम्मा १६ जनाले भाग लिएको उक्त प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ६ खत्रीठाँटीका राजु न्यौपाने पहिलो भएको निर्णायक समितिका संयोजक एवं आयोजक प्रतिष्ठानका आजीवन सदस्य विराट न्यौपानेले बताए । उनका अनुसार बेसीशहर नगरपालिका– ८ भीमसेन स्थान टोल निवासी रेशमलाल श्रेष्ठ दोस्रो भएका छन् । अन्य खेल बेस्ट अफ थ्री र फाइनल खेल बेस्ट अफ फाइभमा खेलाइएको थियो ।

प्रतियोगितामा दोर्दी गाउँपालिका– ६ छोटेखोलाका मीनबहादुर गुरुङले तेस्रो स्थान हासिल गरेका छन् । सो प्रतियोगितामा राइनास नगरपालिका– २ का सुनिल घिमिरे र बेसीशहर नगरपालिका– ७ को बैंकचोकका दिवाकर बरालले क्रमशः चौथो र पाँचौ स्थानको सान्त्वना स्थान हासिल गरेका थिए ।

विजेतालाई क्रमशः १०, ७, ४ र २५ सयका दरले २ जनालाई सान्त्वना पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।’ एक जनाको एक टिम हुने उक्त प्रतियोगितामा दुई जना महिला समेत १६ जनाले भाग लिएको आयोजक संस्थाका कार्यकारी सदस्य रमाराज खनियाले जानकारी दिए ।

प्रतियोगिताको विजेता खेलाडीहरूलाई संविधानसभाका सदस्य जमिन्द्रमान घले, क्ब्होलासोंथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारी, संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

पुरस्कार वितरणपछि संविधान सभा सदस्य घलेले मौलिक चिनारी दिने कार्य र माफ्नोपनमा गर्व गर्ने बानी बसाल्न आवश्यक रहेको बताए ।उनले भने, ‘पश्चिमा संस्कृतिमा रमाउनुभन्दा नेपालीपनमा गर्व गरौंं जुन काम बाघचालले गरेको छ बताए ।

आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको उक्त प्रतियोतिगाको समापन कार्यक्रमको सञ्चालन महासचिव अकल विरही गुरुङले गरेको प्रतिष्ठानका उपमहासचिव आश विकले बताए ।

नेपाल र नेपालीको मौलिक पहिचान दिने बाघचाल खेल पछिल्ला वर्षमा संकटमा परिरहेको हुँदा यसलाई बचाउने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width