उत्कृष्ट विद्यालय छनोटका आधारभूत मापकहरू

कमल कोइराला
वैशाख १, २०८०

अधिकांश विद्यालयमा यस शैक्षिक सत्रको वार्षिक परीक्षाफल पनि प्रकाशित भइसकेको छ । नयाँ विद्यार्थी भर्नासम्बन्धी आवेदन फाराम भर्न सूचित गर्दै प्रकाशित गरिएका विज्ञापनले छापा माध्यमहरू रंगिएका छन् यतिखेर ।

आजभोलि अभिभावकहरू गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षणसंस्थाको खोजीमा भौतारिरहेका दृश्यहरू यत्रतत्र देखिन्छन् । नाम चलेका विद्यालयमा आफ्ना छोराछोरीलाई कसरी भर्ना गराउने होला भन्ने छटपटीले अधिकांश अभिभावकलाई सताएको छ । देशका नाम चलेका विद्यालयहरूमा यतिबेला आवेदन फाराम भर्ने र प्रवेश परीक्षा दिने विद्यार्थीहरूको लर्काे लागेको छ । पोखरा पनि त्यसबाट अछुतो छैन ।

सरकारी विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भइसकेपछि मात्र भर्ना प्रक्रिया अगाडि बढाइन्छ । तर, निजी विद्यालयहरू त्यसको एक महिनाअगावै कोभन्दा को कम भन्दै सकभर धेरै विद्यार्थी बटुल्ने ध्याउन्नमा लागेका देखिन्छन् । अर्काको लहैलहै वा देखासिकीमा नयाँ विद्यालयमा भर्ना गर्ने गलत संस्कार पनि देखिन्छ । उपयुक्त शैक्षिक वातावरण, गुणस्तर, शिक्षणविधि आदिको विचार नै नगरी आकर्षक विज्ञापनकै भरमा नयाँ विद्यालयमा भर्ना गर्ने संस्कारले विद्यार्थीको शैक्षिक भविष्य अन्धकार हुनुका साथै अभिभावकको आर्थिक नोक्सानी हुन्छ । अतः यहाँ विद्यार्थी र अभिभावक दुवैका लागि उपयोगी हुने नयाँ विद्यालय छनोटसम्बन्धी केही महत्वपूर्ण कुराहरूलाई बुँदागत रूपमा चर्चा गरिएको छ :

१. भौतिक पूर्वाधार–यो विद्यालयको बाह्य स्वरूप झल्काउने महत्वपूर्ण पक्ष हो । समग्र विद्यालयलाई सिंगो शरीर मान्ने हो भने यो त्यसैको अस्थिपञ्जर वा मेरुदण्ड हो । मेरुदण्ड नै कमजोर भयो भने मानिस सुस्ताउँछ मात्रै, दौडिन सक्दैन । कतिपय विद्यालयमा भौतिक पूर्वाधार हात्तीको देखाउने दाँतजस्तै हुन्छन् । अभिभावकका आँखामा छारो हाल्न मात्र अल्पावधिका लागि त्यस्ता स्रोत र साधन प्रदर्शन गरिन्छन् । भर्ना शुल्कमा सुरुमै पूर्वाधार निर्माणका लागि शुल्क लिइएको हुन्छ । तर, विडम्बना विद्यार्थीले त्यसको उपयोग नै गर्न नपाई सिंगो शैक्षिक सत्र व्यतीत हुन्छ । विद्यार्थीमैत्री कक्षाकोठा, पर्याप्त खेलसुविधासहितको खेलमैदान, विद्यालय परिसर, शौचालय, बहुविषयक प्रयोगशाला, पुस्तकालय, प्रेक्षालय, बहुप्रयोजन कक्ष, व्यवस्थित चमेनागृह आदि सबै विद्यालयका भौतिक पूर्वाधारभित्र पर्छन् । यसर्थ विद्यार्थी भर्ना गर्नुपूर्व यी सम्पूर्ण पूर्वाधारको सूक्ष्म अवलोकन र निरीक्षण गरेर मात्र विद्यालय छनोट गर्नु बुद्धिमानी हुन्छ ।

२. पाठ्यक्रम र पाठ्यपुस्तक– भौतिक पूर्वाधारपछि पाठ्यक्रम र पाठ्यपुस्तक पनि विद्यालय छनोट गर्ने अर्काे महत्वपूर्ण आधार हो । कतिपय अभिभावकमा पाठ्यक्रम र पाठ्यपुस्तक दुवै एउटै कुरा हुन् भन्ने भ्रम पनि रहेको पाइन्छ । यी दुई कुरा अन्तरसम्बन्धित हुन् तर उही होइनन् । तहअनुसार पाठ्यक्रम निर्दिष्ट गर्ने काम सरकारले गरेको हुन्छ, जुन देशभरिका शिक्षण संस्थाहरूमा एउटै हुन्छ । पाठ्यक्रमको परिसीमामा रही सयौँ पाठ्यपुस्तकहरू तयार पार्न सकिन्छ । प्रतिस्पर्धाको बजारमा प्रकाशित सबै पाठ्यपुस्तकहरू राष्ट्रिय शिक्षानीतिको मूल मर्म र भावनालाई सम्बोधन गर्ने प्रकृतिका नहुन पनि सक्छन् ।
राम्रो विद्यालयको खोजीमा भौतारिने अभिभावकले सम्बन्धित विद्यालयले अंगीकार गरेको पाठ्यक्रम र उपयोगमा ल्याएका पाठ्यपुस्तकबारे राम्रो जानकारी राख्नु आवश्यक छ । प्रकाशकसँगको मिलेमतोमा महँगा पुस्तकहरू राखी कुनैकुनै विद्यालयहरू कमिसनको खेलमा पल्केका हुन सक्छन् । भाषा, गणित, विज्ञान र सामाजिक शिक्षालाई सरकारले विद्यालय तहको अनिवार्य विषय मानेको छ । यसबाहेक युगको आवश्यकताअनुसार नैतिक एवं प्राविधिक शिक्षा पनि शिक्षार्थीका लागि अत्यावश्यक भइसकेको छ । विद्यालयमा अध्यापन हुने मूल विषयका रूपमा यी विषय समाविष्ट छन् कि छैनन् भन्ने कुराप्रति अभिभावक पहिल्यै सचेत बन्नु आवश्यक छ ।

टन्न पैसा बुझाएपछि स्कुलले ज्ञानको सञ्जीवनी बुटी घोटेर पिलाइदिहाल्छन् भन्ने सोचबाट निर्देशत अभिभावकको चिन्तन नै वास्तवमा गलत छ

३. शिक्षण विधि र सामग्री प्रयोग– हाल पठनपाठनमा दुई किसिमका शिक्षणविधि उपयोगमा छन् । परम्परित पद्धति र आधुनिक पद्धति । वर्षाैंदेखि अभ्यासमा आइरहेको परम्परित पद्धति हो । जसमा कक्षाकोठामा प्रवेश गरी विद्यार्थीलाई मूकदर्शक बनाएर शिक्षकले एकोहोरो वक्तृता प्रस्तुत गर्दछ । त्यस्तै शिक्षकले सामान्य निर्देशनमात्रै गरेर विद्यार्थीलाई बढी सक्रिय बनाई आफू कम सक्रिय हुने पद्धतिलाई आधुनिक पद्धति मानिन्छ । यसलाई शिक्षाको भाषामा आगमन र निगमन विधिका रूपमा चिनिन्छ । निगमन परम्परित विधि हो भने आगमन आधुनिक । समयको परिवर्तनसँगै अहिले शिक्षणविधिमा धेरै नवीनताहरू थपिएका छन् । पाठ्यांशको उद्देश्य परिपूर्ति गर्न अपनाइएको शिक्षण विधि र तदनुकूलको सामग्री प्रयोगमा जोड दिने विद्यालयहरूलाई अभिभावकले आफ्नो प्राथमिक रोजाइमा पार्नुपर्दछ ।

४. मूल्यांकन पद्धति– सिकाइको प्रभावकारिता परीक्षण गर्ने उपकरण हो, मूल्यांकन । यसबाट शिक्षार्थीको बोधक्षमता र सिकाइस्तर मात्र नभई शिक्षकको शिक्षणविधिको औचित्य र प्रभावकारिता पनि परीक्षण गर्न सकिन्छ । विद्यालयपिच्छे मूल्यांकन पद्धति फरक हुन सक्छ । मूल्यांकन निरन्तर चल्ने प्रक्रिया भएकाले यसको आवधिक अभिलेख राख्नु अत्यावश्यक हुन्छ । मूल्यांकन गर्दा अपनाइने उपकरण छनोट सबैभन्दा महत्वपूर्ण पक्ष हो जससँग विद्यार्थीको सिकाइको उपलब्धिस्तर गाँसिएको हुन्छ । कतिपय विद्यालयहरूमा लिखितलाई मात्र विद्यार्थी मूल्यांकनको सर्वप्रमुख आधार मानिएको हुन्छ । यसलाई युगसापेक्ष मूल्यांकन मान्न सकिँदैन । त्यसैले मूल्यांकनका विभिन्न विधि प्रयोग गरी विद्यार्थीले वर्षभरि विभिन्न विषय–शीर्षकमा गरेका प्रगतिको आवधिक अभिलेख राख्ने प्रगति–विवरण बुझाउने व्यवस्था भएको विद्यालयमात्र छनोट गर्नुपर्दछ ।

५. परियोजना कार्य– शिक्षाको आधुनिक दर्शनले विद्यार्थीको गृहकार्य घटाएर परियोजना कार्य बढाउने नयाँ अवधारणा अघि सारेको छ । शिक्षाको प्रमुख उद्देश्य सिर्जना हो, जुन विषयवस्तुको गहन अध्ययन, अन्वेषण एवं निरीक्षणबाट हासिल गर्न सकिन्छ । परियोजना कार्यले यही कुरामा जोड दिन्छ । विद्यार्थीलाई अत्यधिक गृहकार्य दिएर उनीहरूभित्रको सिर्जनात्मक क्षमता कदापि प्रस्फुटन हुन सक्दैन । विद्यार्थीलाई घरमा व्यस्त बनाउने नाउँमा उनीहरूलाई अतिरिक्त बोझ थुपार्ने नियतले टन्न गृहकार्य दिने विद्यालयहरू पनि प्रशस्त छन् । यसबाट उनीहरूको क्षमता झनै कुण्ठित हुन्छ । विद्यार्थीलाई पाठ्यपुस्तकका जड कुराहरूमा घोटाउनुभन्दा उनीहरूलाई विभिन्न सिर्जना, खोज र अनुसन्धानात्मक प्रकृतिका परियोजना कार्यमा उत्प्रेरित गर्ने विद्यालय छनोट गर्नु श्रेयस्कर मानिन्छ ।

६. अतिरिक्त क्रियाकलाप– आजभोलि सहक्रियाकलापका नामले बढी चिनिने यो कुनै पनि विद्यालयको उत्कृष्टता एवं विशिष्टता मापन गर्ने महत्वपूर्ण पक्ष हो । अतिरिक्त क्रियाकलापकै माध्यमबाट कुनै पनि विद्यालयको छवि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय जगत्सम्म चम्किएका दृष्टान्तहरू सायदै कसैका लागि नौलो होला । पहिले–पहिले प्रत्येक हप्ताको शुक्रबार गरिने केही सीमित क्रियाकलापलाई अतिरिक्त क्रियाकलाप मान्ने सोच अहिले पुरानो भइसकेको छ । वास्तवमा यस्ता क्रियाकलापहरूको दायरा निकै फराकिलो हुन्छ । विद्यार्थीका प्रतिभा प्रस्फुटन गराउने सामान्य क्रियाकलापदेखि अन्तर्राष्ट्रिय जगत्का विभिन्न अभ्यासहरू यसभित्र पर्दछन् । त्यसैले छोराछोरी भर्ना गर्दा यस्ता क्रियाकलापमा बढीभन्दा बढी विद्यार्थी सहभागिता गराउने विद्यालयहरू छनोट गर्नुपर्छ, जसबाट आफ्ना छोराछोरीको ज्ञानक्षितिज उघ्रिएर विस्तृत र व्यापक बन्न सकोस् ।

७. शिक्षक–अभिभावक सम्बन्ध– वास्तवमा शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्धलाई सन्निकट र सुमधुर बनाई प्रदान गरिने शिक्षा प्रभावकारी हुन्छ । तर यीमध्ये अधिकांश विद्यालयमा जहिले पनि तेस्रो पक्ष उपेक्षित हुने गरेको छ । विद्यार्थीले प्रगति गर्न नसकेको आरोप लगाउँदै शिक्षकले विद्यार्थीलाई धेरैपटक नराम्ररी झपार्छन् तर उसको पढाइको घरायसी स्थितिबारे एकपटक पनि अभिभावक बोलाएर बुझ्ने प्रयास गरिँदैन । वर्षभरि उपेक्षा गरेर अन्तिममा ‘तपाईंका छोराछोरीले राम्रो गर्न सकेनन्’ भन्दा अभिभावक विद्यालयप्रति रुष्ट हुनु अस्वाभाविक होइन । त्यसैले अभिभावकसँग निरन्तर सम्पर्क कायम गरी विद्यार्थीलाई पृष्ठपोषण र अभिभावकलाई प्रगति–विवरण दिइरहने विद्यालय छनोट गर्दा त्यो दुवैका लागि फाइदाकारी हुन्छ ।

८. राष्ट्रियता र उच्च सांस्कारिक सभ्यता–पछिल्ला वर्ष अधिक अभिभावकको मन महँगा र त्यसमाथि अन्तर्राष्ट्रिय ब्रान्डबाट स्थापित विद्यालयतिर आकर्षित भइरहेको छ । जुन विद्यालयले आफ्नो नामसँगै ‘इन्टरनेसनल’ झुन्ड्याएको छ, त्यही विद्यालयमा छोराछोरी भर्ना गर्न उनीहरू तछाडमछाड गरिरहेका हुन्छन् । छोराछोरीले प्रवेश परीक्षामा नाम निकाल्न नसके पनि ‘सोर्सफोर्स’ लगाएर भए पनि भर्ना गराइछाड्ने आमप्रवृत्ति नै बनिसकेको छ । शिक्षाको राष्ट्रिय उद्देश्यमा विद्यार्थीमा राष्ट्रवादी मूल्य, मान्यता विकसित गर्ने कुरा उल्लेख गरिएको छ । तर हामीकहाँ कतिपय विद्यालय यस्ता छन् जसका भवन नेपाली माटामा ठिङ्ङ ठडिएका छन् तर तिनले अर्कै गोलाद्र्धको पाठ्यक्रमले निर्देशित गरेअनुरूप शिक्षा दिइरहेका हुन्छन् । वास्तवमा यस्ता विद्यालयहरूले गुणस्तरीय शिक्षा दिने स्वाङ पारेर राष्ट्रियता र मौलिक संस्कृतिमा भ्वाङ पारिरहेका हुन्छन् । अनि त्यस्ता स्कुलमा पढाइएका विद्यार्थीले कसरी देश चिनून् ? कसरी मौलिक संस्कृति र नेपाली माटो चिनून् ? त्यसैले भर्नाका लागि विद्यालय छनोट गर्दा अभिभावकले राष्ट्रियता र उच्च सांस्कारिक सभ्यता सिकाउने विद्यालयलाई उच्च प्राथमिकता दिनुपर्दछ ।

नाम चलेको स्कुल भन्दै लाखौं खर्च गर्न तयार हुने अभिभावकले आफूले खर्च गरेको अनुपातमा छोराछोरीको सिकाइ उपलब्धिस्तर निर्धारण हुन सकेको छ कि छैन भन्ने कुरा गम्भीरतापूर्वक सोच्नु आवश्यक छ । महँगा स्कुलमा पढाएर त्यत्तिकै कोही पनि ठूला हुँदैनन् । टन्न पैसा बुझाएपछि स्कुलले ज्ञानको सञ्जीवनी बुटी घोटेर पिलाइदिहाल्छन् भन्ने सोचबाट निर्देशत अभिभावकको चिन्तन नै वास्तवमा गलत छ । पुराना र महँगा स्कुलमा पढाउन मरिहत्ते गर्नेले ती विद्यालय शिक्षणविधिमा कति ‘अपडेट’ छन् भन्ने पनि राम्ररी बुझ्नुपर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै