गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण ‘कमिङ सून’

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७९
Cabinet sampattis

पोखरा । गण्डकीका मन्त्रीहरुले नियुक्ति पाएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम छ । मुख्यमन्त्री र मन्त्रीहरु नियुक्त भएको ६९ दिन कटिसक्यो । मन्त्रीहरुको आचारसंहिताले २ महिनाभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्न भनेको छ । तोकिएको म्याद नाघिसक्दा समेत मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मन्त्रीहरुको आचारसंहिताले मात्रै होइन, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० ले पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण अनिवार्य बुझाउनुपर्ने शर्त छ ।

गण्डकी सरकारको वेबसाइटमा पुरानो सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सजिलै हेर्न पाइन्छ । नयाँ सरकारका मन्त्रीहरुको सम्पत्ति विवरणको कोलममा चाहिँ ‘कमिङ सुन’ लेखिएको छ ।

२५ पुसमा गण्डकीमा खगराज अधिकारी नेतृत्वको नयाँ सरकार बनेको हो । माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ सोही दिन मन्त्रीमा नियुक्त भए । उनीहरु मन्त्री बनेको ६८ दिन भैसक्यो ।

मुख्यमन्त्री र मन्त्रीहरु नियुक्त भएको ६८ दिन कटिसक्दा समेत सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन

१० माघमा मन्त्रिपरिषद् पुनर्गठन गरी ७ सदस्यीय मन्त्रिमण्डल बनाइएकोमा थप मन्त्रीले सपथ लिएको पनि ६० दिन पुग्नै लागिसकेको छ । सरकारका प्रवक्ता रोशन गाहा थापा सबै मन्त्रीले सम्पत्ति विवरण मुख्यमन्त्री कार्यालयमा बुझाइसकेको बताएका छन् । ‘हामी सबैले बुझाइसकेका छौं । पहिले नै दिएको हो,’ उनले भने, ‘सार्वजनिक के कारणले भएन थाहा छैन । सम्पत्ति विवरण बुझाउन कोही पनि बाँकी हुनुहुन्न ।’

मुख्यमन्त्री कार्यालयले मन्त्रीहरुको सम्पत्ति विवरण वेवसाइटबाट सार्वजनिक गरेको छैन । यसअघि गण्डकीको संस्थापक सरकारका मन्त्रीहरुले २ वर्षपछि मात्रै विवरण बुझाएका थिए । पछिल्लो सरकारले ६० दिनभित्रै सार्वजनिक गरे पनि केही मन्त्रीहरुले सम्पत्ति विवरण नबुझाई बाहिरिए । तेस्रो पटकसम्म मन्त्री बनेका राजीव गुरुङले विवरण दिएनन् । चन्द्रबहादुर बुढा र डोबाटे विश्वकर्माले पनि विवरण बुझाएनन् । अहिलेको सरकारले पनि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न चासो दिएको छैन । यसअघि १२ मन्त्रालय रहेको गण्डकीमा नयाँ सरकार आएपछि मन्त्रिमण्डल घटाएर ७ कायम गरेको छ ।

सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट २ र राप्रपाबाट १ जना मन्त्री छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै