डा. पुष्पालाई इन्द्र–हुमा वाङ्मय सम्मान

आदर्श समाज सम्वाददाता
माघ २०, २०७९
puspa kc bhandari prize

पोखरा । साहित्यकार डा. पुष्पा केसी भण्डारीलाई इन्द्र–हुमा वाङ्मय सम्मान प्रदान गरिने भएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसमा ३ जनाबाट भण्डारीलाई छनोट गरिएको हो । छनोट समितिमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपाने, वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइराला सदस्य थिए । पदेनसदस्यमा कोषका संस्थापक सविन जिसी र संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारी थिए ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित सो सम्मानको राशि १० हजार १ सय रुपैयाँ रहेको संस्थाका प्रवक्ता ताराबहादुर गुरुङले बताए । बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी र नाति/ बुहारीद्वय सविन/सुमित्रा र अश्विन/कल्पना जिसीको परिवारबाट स्थापना गरिएको अक्षयकोषको व्याज रकमबाट संस्थाले उक्त सम्मान अर्पण गरिंदै आएको छ । अक्षयकोशको राशि १ लाख ६१ हजार छ ।

लायन्स क्लब अफ पोखरा अर्पण, ओम शिवशक्ति कल्याणी केन्द्र पोखरा र क्षत्री महिला समाज नेपालकी संस्थापक अध्यक्ष डा. भण्डारी साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील प्रतिभा हुन् ।

यसअघि गडकी प्रदेश सभा सदस्य भण्डारीका ‘केही सुसेली : केही सुस्केरा’ कवितासङ्ग्रह, ‘संगम’ र ‘जिन्दगीको दोसाँधमा’ २ मुक्तकसंग्रह प्रकाशित छन् ।
‘ग्रामीण विकासमा सामुदायिक वनको भूमिका : लैंगिक दृष्टिकोणबाट विश्लेषण’ विषयमा विद्यावारिधि गरेकी भण्डारी सिर्जना साहित्य सदन घाचोक र हेमजा साहित्य प्रतिष्ठानकी संरक्षकसमेत रहेकी छन् ।

नाट्यसम्राट बालकृष्ण समको १२१ औं समजयन्ती समारोहका सन्दर्भमा २४ माघमा सो सम्मान अर्पण गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width