पर्यटक बढ्दा डुंगाचालकलाई राहत

धनबहादुर गुरुङ
कार्तिक १७, २०७९
Boat Story Photo

पोखरा ।  डुंगाचालक चिजमान गुरुङलाई कोरोनाकालमा परिवार पाल्नै हम्मेहम्मे थियो । सामान्य दैनिकी चलाउन उस्तै धौधौ । त्यसमाथि चाडपर्व त कहिल्यै नआइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । २०७६ चैत ११ मा लकडाउन भएपछि उनको दैनिकी कष्टकर बित्यो । चाडपर्व निरश बने । तर अहिले भने दसैंतिहार खुसीले मनाउन पाएकोमा उनी मख्ख छन् ।

बर्खा सकिएपछि चाडपर्व सुरु हुन लाग्दा पोखरामा पर्यटकको चहलपहल बढ्न थाल्यो । पोखरा घुम्न आएका पर्यटक फेवातालमा डुंगा सयर गर्न पुगेसँगै चिजमान पनि व्यस्त बने । बिस्तारै दैनिक आम्दानी बढ्यो ।

फेवामा डुंगा चलाउन थालेको उनले २३ वर्ष पुग्यो । यतिका अवधिमा कोरोनाकालमा जस्तो दुख कहिल्यै नपाएको उनले बताए । ६२ वर्षीय गुरुङले यसपालिको दसैंतिहार कोरोना बिर्सेर मनाएको बताउँन् ।

‘जिन्दगीको आधा उमेर डुंगा चलाएर बिताइयो,’ उनले भने, ‘कोरोनाको बेलामा जस्तो दुख त कहिल्यै पाएको थिएनँ तर यो पटक अलि सहज भयो ।’ कोरोनाले डुंगा चलाउन नपाउँदा न आम्दानी भयो, न त चाडपर्व नै राम्रोसँग मनाउन पाए ।

गएको २ वर्ष निकै कष्टमा बितेको उनी सम्झन्छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै चाडपर्वका लागि पैसा जोहो गर्ने कस्सिएको उनले बताए । हुन त उनले कोरोनाभन्दा अघि भूकम्पको समयमा पनि डुंगामा चढ्ने यात्री भेटेका थिएनन् । तर, त्यो बेला केही दिनपछि चहलपहल बढिहाल्यो । पानी पर्न छाडेपछि फेवातालमा डुंगा सयर गर्ने र तालबाराही दर्शन गर्नेको संख्या बढेको फेवा डुंगा व्यावसायी संगठन अध्यक्ष बलराम गिरिले जानकारी दिए । जसले गर्दा डुंगा व्यवसायी र चालक खुसी भएको उनको भनाइ छ ।

फेवातालका ८ घाटबाट डुंगा चल्ने गर्दछन् । वाराही, फिस्टेल, अम्बोट, गैरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी ८ घाटमै यात्रु पुग्ने गरेको अध्यक्ष गिरिले सुनाए । सबै घाटमा चल्ने डुंगाको संख्या ७ सय २६ छ । ती डुंगा चलाउने २५ जना महिला छन् । बाँकी सबै पुरुष हुन् । महिलाले चलाउन सक्दैन भनेर चढ्न नमान्ने गरेकाले उनीहरूले पनि सुरक्षित रुपमा डुंगा खियाउन सक्ने उनको भनाइ थियो । ‘हामी कहाँ ७ सय २६ डुंगा छन्, त्यसमा धेरै पुरुष चालक छन् । महिलाको संख्या कम छ,’ उनले भने, ‘महिलाले चलाउन सक्दैनन् भनेर पनि चढ्न खोज्दैनन् तर त्यसो होइन, डुंगा चलाउन महिला पुरुष बराबर छन् ।’

वाराहीघाटदेखि वाराही मन्दिरसम्म पुगेर फर्केको ६० रुपैयाँ भाडा लाग्छ । तर यहाँ डुंगाचालकले मनोमानी पैसा लियो भन्ने यात्रुबाट कहिलेकाही गुनासो आउँछ । जसका फेवा डुंगा व्यावसायी संगठनले अनुगमन समिति पनि बनाएको छ । समितिले निरीक्षण गर्न थालेपछि यात्रुको गुनासोमा कमी आएको अनुगमन टोली संयोजक प्रितम कुँवरले बताए ।

पर्यटक संख्या बढेसँगै चालक तथा व्यवसायीले यो पटकको चाडपर्व केही भए पनि सहज रुपमा मनाएको अध्यक्ष गिरिको भनाइ छ । ‘लगभग सबै घाटमा चालक व्यस्त भए,’ उनले भने, ‘यो पटक उनीहरूले ऋण खोज्न परेन कि ।’ यो पटक सहज भए पनि अघिल्लो वर्षहरुमा खोजेको ऋण तिरेर जीवन सहज बनाउन डुंगाचालकलाई अझै समय लाग्ने उनले बताए । अब कुनै भवितव्य नआए उनीहरुको दैनिकी बिस्तारै सुधारिने उनको अनुमान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै