चाडपर्वमा मात्र अनुगमन

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७९
anugaman

पोखरा । दसैंतिहार लगायत ठूला चाडपर्व भित्रिएपछि पोखरा बजारमा अनुगमन तीव्र बन्यो । अरु बेला सुतेर बस्ने अनुगमनकर्ताहरु चाडपर्व भित्रिएपछि विभिन्न निकायका प्रतिनिधि सम्मिलित टोलीसहित बरोबर अनुगमनमा गयो । तर, यो कार्यशैलीको पोखरेली उद्योग व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले रुचाएन । गत असोज ६ मा विज्ञप्ति नै जारी गरेर बजार अनुगमनको नाममा विभिन्न निकायबाट बजार अनुगमन भन्दै आफूहरुलाई आतंकित पारेको भन्दै विरोध जनायो । संघ महासचिव बलराम आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘अनुगमनको नाममा उद्योगी व्यवसायीलाई आतंकित नबनाई सहीरुपमा व्यापार व्यवसाय संचालन गर्ने वातावरण प्रदान गरियोस् ।’

संघले यति भने पनि अनुगमन रोकिएन । मासु पसल, दैनिक उपभोगका खाद्य पसल लगायतमा अनुगमन गरेको पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिले बिहीबार भेडाच्याङ्ग्रा अनुगमन गर्न याम्दी पुग्यो । र, भेडाच्याङ्ग्रा पृष्ठभूमिमा पारेर सामूहिक फोटोसमेत खिच्यो ।

त्यहाँ बिक्रीका लागि राखिएका मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट ल्याइएका भेडा र च्याङ्ग्रा खानका लागि स्वस्थ र योग्य भए नभएको जाँच गरिएको समितिका सदस्यसचिव भरतराज पौडेलले बताए ।

महानगर पशु शाखा प्रमुख नवराज अधिकारीले अस्वस्थ देखिएका भेडा, च्याङ्गा बिक्री नगर्न व्यवसायीलाई सचेत पार्दै फर्कियो । तर, भेडाच्याङ्ग्राको चर्को मूल्यले ग्राहकको ढाड सेकिएको छ । एउटै च्याङ्ग्राको मूल्य आधा लाख रुपैयाँसम्म पर्ने अवस्था छ । मूल्य निर्धारण वैज्ञानिक छैन ।

यसबारेमा उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले मूल्य निर्धारण गर्नसके उपभोक्ता महँगो नपर्ने बताउँछन् । मूल्य निर्धारण वैज्ञानिक नभएको बताउँदै आगामी वर्षदेखि यसबारेमा ध्यान दिन आग्रह गरे ।

महानगर उपप्रमुख एवं अनुगमन संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा गत सातादेखि थालिएको विभिन्न पसलको अनुगमनका क्रममा मूल्यसूची नराखेको, व्यवसाय दर्ता नगरेको, नवीकरण नभएको, किलाकाँटा दर्ता नभएको तथा सरसफाइमा उचित ध्यान नदिएको पाइएको कास्कीका सहायक प्रजिअ गुरुदत्त ढकालले बताए । उनका अनुसार यस अवधिमा २० जना व्यवसायीलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना असुल गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width